एचकेनेपाल डट कम संवाददाता-
नेपालगन्ज, १२ माघ। एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले ज्यान लिने धम्की दिएपछि २२ जना पत्रकारहरु दैलेख छोडेर सुरक्षाका लागि सुर्खेततर्फ लागेका छन् भने बाँकी ५ जना दैलेख छोड्ने तयारीमा छन्।
पत्रकारहरु विस्थापित भएपछि दैलेखबाट प्रकाशित हुने पत्रपत्रिका र एफएमहरु विहीवार रातिदेखि बन्द भएका छन्।
ज्यूँदै गाडेर हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान प्रक्रिया रोक्न प्रधानमन्त्री बाबुराम भट्टराइले निर्देशन दिएपछि पत्रकारहरुले उनको विरोधमा आन्दोलन गरिरहेका थिए।
एकीकृत नेकपा माओवादीको दैलेख अधिवेशनमा सहभागी हुन बुधवार प्रधानमन्त्री आउंदा पत्रकारहरुले खुलेर विरोध गरेका थिए भने प्रधानमन्त्रीसहित पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत माओवादी नेताहरुलाई समारोह स्थलमा जान रोक्न पत्रकारहरुले बाटोमा अवरोध पुर्याउन प्रयाश गरेका थिए। विपक्षीहरुको आन्दोलनलाई साथ दिएको भन्दै माओवादी कार्यकर्ताहरुले पत्रकारहरुलाई घेराबन्दीमा पारेर जिल्लाका १० जना पत्रकारहरुलाई डेकेन्द्रको हालत बनाई दिने भन्दै धम्की दिएका थिए।
पछिल्लोपटक पत्रकार महासंघ, दैलेखका अध्यक्ष पुष्कर थापालाई समेत धम्की आएपछि बिहीबार साँझ बसेको आकस्मिक बैठकले जिल्ला छाड्ने निर्णय गरेको हो।
यसैबीच, सञ्चारकर्मीहरुको ज्यान लिने धम्की र पत्रिका कार्यालयमा भएको तोडफोडको चौतर्फी आलोचना र भत्सर्ना भएको छ। सञ्चारकर्मीहरुको सुरक्षाको प्रत्याभूति गर्न, तोडफोडबाट भएको क्षतिपूर्ति उपलब्ध गराउन र आक्रमणकारीहरुलाई कडाभन्दा कडा कारवाही गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेख, प्रेस चौतारी नेपाल, प्रेस यूनियन, दलित पत्रकार महासंघले प्रेस विज्ञप्तिमार्फत माग गरेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b