एचकेनेपाल डट कम संवाददाता-
लण्डन, १२ माघ। बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई थप ५ महिना जेल राखिने भएको छ।
बेलायतको वल्ड व्यालीस्थित अदालतले विहीवार थप ५ महिना जेलमा राख्न आदेश दिएको हो। लामाको अन्तरिम सुनुवाई जुन ५ तारिख र त्यसअघि बादी र प्रतिबादीको तर्फबाट प्रमाण पेश गर्नको लागि सुनुवाईको मिति मे १० तारिख तोकिएको छ। उनको सुनुवाई बेल्मार्सस्थित कारागारबाट भिडियोमार्फत् करीव ४० मिनेट जति भएको थियो।
द्वन्द्धकालमा गैरकानूनी हिरासतमा लिएर यातना दिएको आरोप लागेका ४६ वर्षीय लामा जनवरी ४ तारिख बेलायतको सेक्सस शहरबाट प्रक्राउ परेका थिए। सन् २००५ मा गोरुसिंगे व्यारेकमा रहँदा जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको आरोप लामामाथि लागेको छ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिशनअन्तर्गत सुडानमा कार्यरत लामा बेलायतमा रहंदै आएकी श्रीमतिलाई भेट्न सेक्सस आएको बेला पक्राउ परेका थिए। युद्ध अपराध सम्बन्धी बेलायती कानुन (क्रिमिनल जस्टिक ऐक्ट) अनुसार उनी पक्राउ परेका हुन्। यो कानुन अनुसार संसारका जुनसुकै देशमा अपराध गरेको भएपनि बेलायती भूमिमा पक्राउ गर्ने अधिकार बेलायती सरकारलाई छ।
नेपाल सरकारले लामाको रिहाई वा सुपुर्दगीको पहल गरेपनि बेलायती सरकारबाट सन्तोषजनक जवाफ नआएपछि लामालाई छुटाउन वकिल क्युसी माइकल क्याप्लानलाई नियुक्त गरेको छ। उनी चिलीका पूर्वतानाशाह अगस्टो पिनोसेको मुद्दा हेर्ने अनुभवी वकिल समेत हुन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b