एचकेनेपाल डट कम संवाददाता-
दैलेख, ११ माघ। दैलेखमा बुधवार भएको एकीकृत नेपकपा माओवादीको कार्यक्रममा उचित सुरक्षा व्यवस्था कायम गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी, डिएसपी र दुई इन्सपेक्टरलाई हटाइएको छ।

प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा गृहसचिव नविन घिमिरेले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरी र प्रहरी निरीक्षकद्वय इन्द्र सुवेदी र किरण न्यौपानेलाई दैलेखबाट फिर्ता बोलाएका हुन्।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पार्टीका उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईलगायतका नेताहरु उपस्थित दैलेख अधिवेशनको उद्घाटन समरोहलाई प्रतिपक्षी कार्यकर्ताहरुले नाराबाजी र ढुंगामुढा गरेर बिथोलेका थिए। सोही कार्यक्रममा माओवादी र प्रतिपक्षी कार्यकर्ताहरु साथै प्रहरीको झडपमा ६० भन्दा बढी घाइते भएका थिए। प्रतिपक्षी कार्यकर्ताहरुले दुबै माओवादी दलका कार्यालयमा तोडफोड र आगजनीसमेत गरेका थिए।

प्रधानमन्त्री भट्टराईको निर्देशनमा डेकेन्द्र हत्या प्रकरण ढाकछोप गर्ने प्रयत्न भएपछि असन्तुष्ट प्रतिपक्षीहरुले प्रधानमन्त्रीलगायत माओवादी नेताहरुलाई दैलेख प्रवेश रोक लगाउने उदघोष गरेका थिए। जिल्ला प्रवेश रोक्ने प्रयाश बिफल भएपनि कार्यक्रम स्थलमा प्रधानमन्त्रीको विरोध गर्दै नाराबाजी र ढुंगामुढा गरेका थिए।

पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान रोक्न निर्देशन दिएपनि सर्वोच्च अदालतको आदेशमा अनुसन्धान प्रक्रिया बढाएपछि असन्तुष्ट बनेका प्रधानमन्त्री भट्टराईले उचित शान्ति सुरक्षा कायम गर्न नसकेको बहानामा उनीहरुलाई हटाएका हुन्।

डेकेन्द्रको हत्या अनुसन्धान पुरा नभएसम्म मुद्दा हेरिरहेका अधिकारीलाई हटाउन नमिल्ने प्रावधान रहेकोले हत्या अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विनोद शर्मालाई भने हटाइएको छैन।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस