दिननाथ बराल /एचकेनेपाल डट कम-
पोखरा, ९ माघ। आहा रारा गोल्ड कपको इतिहासमा ९ औं पटकसम्म सहभागि हुदै पहिलो चरणबाटै बाहिरिएको धरान फुटवल क्लब यसपाली पनि पुरानै इतिहास दोहोराएको छ। पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता सामसुङ जाउलाखेल फुटवल क्लबसंग धरान टाईब्रेकरको शिकार बन्दा यस पाली पनि आहा गोल्ड कपको पहिलो चरणबाट विदा लिएको हो।

पाएका पेनाल्टीको अवसरलाई सदुपयोग गर्न चुकेको धरान जाउलाखेलसंग टाईब्रेकरमा ४–२ को गोल अन्तरले पराजित भएको हो। जाउलाखेलको जितमा टाईब्रेकरमा कृष्ण शाक्य, रविन वेन्जनकार, संन्जोक चाम्लीङ र सुसिल शाहले गोल गरेका थिए। यता धरानका सुवर्ण लिम्वु र किरण राईले टाईब्रेकरमा गोल गरे भने दिपेस गुरुङ र दिलेन लिम्वुले गोल गर्न चुके । दिपेसले प्रहार गरेको पेनाल्टी सुटलाई विपक्षि गोलरक्षक सोनामले उत्कृष्ट बचाउ गरे भने दिलेनले प्रहार गरेको पेनाल्टी सुट पोष्ट नजिकैबाट बाहिरिएको थियो।

दोश्रो रोजाईका खेलाडीहरु लिएर मैदानमा उत्रिएको जाउलाखेलले जितसंगै क्वाटरफाईनलमा यात्रा बनाएको छ। माघ १३ गते भारतको गोर्खा व्रिगेड फुटवल क्लब विच खेल हुने भएको आयोजक सहारा क्लबले जनाएको छ। ९० मिनेटको निर्धारित र ३० मिनेटको अतिरिक्त समयमा दुबै तर्फ गोल हुन नसकेपछि खेल निर्णायकको लागि टाईब्रेकरमा धकेलिएको हो।

खेलको सुरुवातमा दुबै तर्फ आक्रमक शैैलिमा उत्रिएका भए पछि दुबै टोलीका खेलाडीहरुले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरमा पुगेको हो। खेलको २७ औं मिनेटमा पाएका पेनाल्टीको अवसर क्रसवारमा लागेर फर्किनु धरानलाई दुर्भाग्यको सुरुवात भएको थियो।

जाउलाखेलका सुशील शाहको डीएरियामा ह्याण्ड हुदा रेफ्रि सचिन अमात्यले धरानलाई पेनाल्टीको अवसर दिएका थिए। धरानका विवेक गुरुङले प्रहार गरेको पेनाल्टी क्रस वारमा लागर फर्किएको थियो। खेलमा जाउला खेलका गोल रक्षक सोनाम प्लेयर अफ दी म्याच घोषित भए।

दुई बर्ष अघि तिलोत्तमा गोल्ड कपमा भएको पहिलो भेटमा जाउलाखेलसंग धरान पराजित भएको थियो । धरानका म्यानेजर विक्रम खड्गीले पेनाल्टी मिस हुनाले पराजित हुनु परेको बताए । उनले भने आफुहरुसंग केहि युवा तथा जोसिला जुनियर खेलाडीहरु भए पनि उनीहरु राम्रोसंग चल्न नसक्नु हारको कारण देखाए।

यता जाउलाखेलका प्रशिक्षक राजाराम कार्कीले काठमाडौमा जारी लिगका कारण दोश्रो रोजाईका खेलाडीहरुको वचस्र्व भएका कारण जित कठिन भएको बताए। उनले भने अर्काे खेलमा लिगमा सहभागि सेट नै आउछ।

११ औं संकरणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव युवराज लामाले गरे। उद्घाटन समारोहमा उनले खेलकूदलाई विद्यालयस्तरबाट अघि बढाउन छिट्टै खेलकूद विकास बोर्ड गठन गरिने जानकारी दिए। उनले पोखरा रंगशालामा एक महिनापछि नै सेमी कभर्ड हल निर्माणको काम थालिने बताए।

कार्यक्रममा क्लबका मानार्थ सदस्य महेश गुरुङ सम्मानित भएका छन्। सहारा युकेका सल्लाहकार समेत रहेका गुरुङलाई राखेपका सदस्य सचिव लामा, क्लबका अध्यक्ष विक्रम थकालीले सम्मानपत्र दोसल्ला र अबिर लगाएर सम्मान गरेका हुन्। क्लबले पूर्व फुटवल खेलाडी समेत रहेका गुरुङलाई खेलकुद क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै सम्मान गरेको हो।

मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका अध्यक्ष एम समाजसेवी सुर्यबहादुर केसीले खेलकुदबाट पोखराको समग्र विकास गर्न आफुहरुले यस्ता क्लबहरुले आयोजना गरेको प्रतियागिताहरुलाई निरन्तर सहयोग गर्दै जाने बताए। क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक वीरभद्र आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको संचालन महासचिव केशव बहादुर थापाले गरेका थिए । बुधबार त्रिभुवन आर्मी विरुद्ध फ्रेण्डस क्लब विच खेल हुने भएको छ।

यसै विच भारतको गोर्खा व्रिगेड फुटवल क्लबलाई मंगलबार पोखरामा स्वागत गरिएको छ। भारतीय पेन्सनक्याम्पका कर्णेल हिमान्सु बोहरा सहितको टोलीले गोर्खा व्रिगेडका प्रशिक्षक सुब्दार विनोद राई सहितको २२ सदस्य टोलीलाई स्वागत गरेको हो।

प्रतियोगितामा नेपालका ए डिभिजनका ८ टोली, भारतका दुई टोली, आयोजक सहारा र धरान गरि १२ टिमको सहभागिता रहने भएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस