एचकेनेपाल डट कम संवाददाता-
पाल्पा, ७ माघ। महिला हत्याको विषयमा प्रहरीले कारवाही नगरेको भन्दै आक्रोशित भीडले इलाका प्रहरी कार्यालय र रामपुर बजारलाई नियन्त्रण लिएर तोडफोड गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न गोली प्रहार गरेको छ।
गोली प्रहारबाट रामपुरकी तारा श्रेष्ठ घाइते भएकी छन्। उनको दायाँ घुँडामा गोली लागेको छ। त्यस्तै, प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा २० भन्दा बढी घाइते भएका छन्। महिलाहरुको उल्लेख्य सहभागिता रहेको भीडले प्रहरी कार्यालय तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेको प्रतिक्षालयमा आगजनी समेत गरेको छ।
रामपुर ५ की सोनु खनाल श्रेष्ठको हत्यारालाई कारवाही नगरेको भन्दै आक्रोशित भीडले आइतवार बिहानदेखि प्रहरी इलाका कार्यालय रामपुरलाई नियन्त्रण लिएको थियो। भीडले तोडफोड गरेपछि भीड नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हवाई फायर र १५ सेल भन्दा बढी राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।
प्रहरी र प्रदर्शनकारीबीच झडप र तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ।
गत पुस ४ गते बेपत्ता भएकी २७ वर्षीया श्रेष्ठको शव बोरामा बेरिएको अवस्थामा शनिवार विहान कालीगण्डकी नदीको किनारामा फेला परेको थियो।
मृतकका आफन्तले सोनुको हत्यामा उनकै श्रीमान ओमप्रसाद श्रेष्ठको हात रहेको भन्दै कारवाहीको माग गर्दै हिजो शनिवारदेखि इलाका प्रहरी कार्यालय रामपुरमा धर्ना दिन शुरु गरेका थिए। सोनुकी दिदी निर्मला कुँवरले तीन पटकसम्म प्रहरीमा जाहेरी दिंदा पनि प्रहरीले आनाकानी गरेको भन्दै प्रदर्शनकारी आक्रोशित बनेका हुन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b