चन्द्र के.सी. / एचकेनेपाल डट कम
नेदरल्याण्डस – गरिव, दलित र विपन्न समुदायका छोराछोरीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गराउने उद्देश्यले पर्बत जिल्लाको रानीपानी गाविस–१ वीरुवारीमा स्थापना भएको लोकतन्त्र प्राथमिक विधालयको भौतिक पूर्वाधार विकासका लागि नेदरल्याण्ड निवासी पर्वतेहरुले आर्थिक सहयोग गरेका छन्।

२०६२र२०६३ को दोश्रो जनआन्दोलन पश्चात स्थापित उक्त विधालयमा नीजि विधालयहरु सरह अंग्रेजी माध्यमबाट पठनपाठन गराउने भएपनि आर्थिक अभावमा विधालय भवन निर्माण हुन सकिरहेको थिएन। खुल्ला आकासमुनि बसेर पढ्न बाध्य भएको समाचार पढेपछि विद्यालयको भौतिक विकासकालागि नेदरल्याण्डवासी पर्वतेहरुले उक्त सहयोग रकम संकलन गरेका हुन्।

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका सभापति एवं गैरआवासीय नेपाली संघ (एनआरएन) नेदरल्याण्डका सल्लाहकार श्री ठाकुर प्रसाद शर्मा (मनोहरि) को सक्रियतामा उक्त सहयोग रकम संकलन गरिएको थियो। तत्काल विद्यालयको छाना छाउने र अन्य मर्मतका लागि भनेर विद्यालयमा आयोजित एक कार्यक्रमका वीच गत महिना पौष २६ गते विधालय संचालक समितिका अध्यक्ष जयलाल पौडेल र प्रधानाध्यापक देवी न्यौपानेलाई श्री शर्माले रु. ७० हजार नगद सहयोग रकम हस्तान्तरण गर्नु भयो।

संचारमाध्यममा विद्यालयको दूरावस्थाको खवर पढेपछि नेदरल्याण्ड निवासी पर्वतेली मिलेर उक्त सहयोग संकलन गरिएको शर्माले जानाकारी दिनुभयो। ‘आर्थिक अभावमा छाना विहिन जीर्ण भवनमा बसेर विद्यार्थीहरु पढ्न बाध्य छन् भन्ने सुनेपछि हामी साथीहरु आफू आफू मिलेर सहयोग जुटाएका हौं।’ शर्माले भन्नुभयो। रकम हस्तान्तरण गर्दै शर्माले – यो रकम हामी नेदरल्याण्ड निवासि पर्वतेलीहरुले आफ्नो खाजा खर्च कटाएर उठाएको सहयोग हो र यो सानो सहयोगले विद्यालयको भौतिक दुरावस्था सुधार गर्न पाउंदा आफूहरुलाई खुसि लागेको बताउनु भयो। उहाँले विद्यालयको भवन सुन्दर भएर मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिने भन्दै भौतिक पूर्वाधारका साथै शैक्षिक गुणस्तरमा पनि ध्यान दिन विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुलाई सुझाव दिनुभयो।

दाताले दिएको सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक देवी शर्माले नेदरल्याण्ड निवासी पर्वतेहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो। प्रअ शर्माले उहाँहरुको सहयोगको विद्यालय सँधै ऋणि रहिरहने कुरा बताउनु भयो। कार्यक्रममा एनआरएन नेदरल्याण्डका साधारण सदस्यहरु सुशीला वानिया, भीमबहादुर रोका र विष्णु पोखरेल पनि सहभागी हुनुहुन्थ्यो।

टोलीले रानीपानीमा शुरु भएको वृहत खेलकुद महोत्सवको उद्घाटन सत्रका अवसरमा उक्त रकम हस्तान्तरण गरेको थियो।
दूरदराजको गाउँमा पुगेर विपन्न र दलितका छोराछोरीहरुले अध्ययन गर्ने विद्यालयमा नेदरल्याण्डबासी पर्वतेलीहरुले गरेको उक्त सहयोगप्रति रानीपानीबासीहरु निकै खुशी देखिन्थे। उनीहरुले यस्ता सहयोग गाउँका अन्य शैक्षिक संस्थाहरुमा पनि हुने अपेक्षा समेत गरेका थिए।

‘विदेशमा बस्ने नेपालीहरुको यस्तो सहयोगबाट अन्य गैरआवासीय नेपालीहरुलाई पनि आफ्नो मातृभूमिमा सहयोग गर्ने प्रेरणा मिल्ने छ ।’–नेपाल तारा उच्च मावि श्रोत केन्द्रका श्रोतव्यक्ति रामप्रसाद पौडेलले भन्नुभयो। त्यसै गरि कार्यक्रममा विद्यालयका संस्थापक संरक्षक हरि न्यौपानेले नेदरल्याण्ड निवासी पर्वतेहरुबाट भएको आर्थिक सहयोग विद्यालयका लागि अविस्मरणीय रहने वताउँदै एक महिनाभित्र जुन प्रयोजनका लागि सहयोग भएको हो सोही प्रयोजनमा खर्च गरि काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस