दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, ६ माघ। पश्चिमाञ्चलकै प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा रंगशालामा यही माघ ९ देखि २० गतेसम्म संचालन हुने ११ औं संस्करणको अन्तर्राष्ट्रिय अन्तर क्लब फुटवल प्रतियोगिता आहा १ रारा गोल्ड कप २०६९ को तयारी अन्तिम चरणमा पुगेकोे शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो।
तस्विरः सुदर्शन रञ्जित/एचकेनेपाल डट कम
“खेलकुदको विकाशमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौंं” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त प्रतियोगितामा मित्र राष्ट्र भारतका दुईसहित १२ टिमको सहभागिता रहने भएको छ।
प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब, सामसुङ्ग जावलाखेल युथ क्लब, थ्रि स्टार क्लब, एनएमबि मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, म्याक्डोल्स् आरसीटी, त्रिभुवन आर्मी क्लब, एनआईबिएल फ्रेण्डस् क्लब, धरान फूटबल क्लब, गोर्खा ब्रिगेट फुटबल टिम, भारत, साउथन समिति एफ. सी., कोलकत्ता र आयोजक सहारा क्लब पोखरा सहभागि हुने भएको क्लबले जनाएको छ।
क्लबले यस बर्षदेखि पुरस्कारको धनराशिमा समेत बृद्धि गरेको छ। प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउले प्रयोजनमा अघिल्ला बर्ष भन्दा बढी रकम दिएकोले तथा समय अनुसार उक्त पुरस्कारमा बृद्धि गरिएको क्लबका अध्यक्ष विक्रम थकालीले बताउनु भयो। उक्त प्रतियोगिताको विजेता टोलीले ३ लाख ५१ हजार, उपविजेताले २ लाख १ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र पाउने भएको छ। गत बर्ष विजेताले २ लाख र उपविजेताले १ लाख पाएका थिए। यस बर्ष क्लबले गत बर्ष भन्दा करीब ५ लाख पुरस्कार राशिमा बृद्धि गराएको जनाएको छ।
सहारा युकेका सल्लाहकार महेश गुरुङले यस बर्ष सहारा युकेको टोली उक्त प्रतियोगितामा सहभागि नहुने जनाउनु भयो। ए डीभिजन सन डे लिग युकेमा जारी रहेका कारण आफूहरु आहा रारा गोल्ड कपमा सहभागि नहुने बताउनु भएको हो।
हिमश्री फुड्स प्रालिका अध्यक्ष एवम समाजसेवी सुर्यबहादुर केसीले सार्वजनिक जग्गा अतिक्रमण जारी रहेको समयमा क्लवले सहारा एकेडेमि फुटवल मैदान लगायतका भौतिक संरचना गरेकोमा प्रशंसा गर्दै उक्त प्रतियोगितालाई सफल पार्न प्रालिले निरन्तर सहयोग गर्ने वचन दिनु भयो। पत्रकार डेकेन्द्र थापाको परिवारको लागि समाजसेवी केसीले ५१ हजार रुपैया सहयोग गर्ने घोषणा गर्दै पत्रकारहरुले स्वतन्त्र रुपमा काम गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनु भयो।
एनआरएन वेलायतका सदस्य एवम क्लबका सल्लाहकार रमेश शर्मा बाँस्तोलाले उक्त अवसरमा सहारा एकेडेमि निमार्णको लागि एक लाख नगद हस्तान्तरण गरे। उनले यस अघि एकेडेमिको लागि दुई लाख सहयोग गरेका थिए। त्यसै गरी डाक्टर चन्द्रबहादुर गुरुङले २५ हजार, बुद्धिमान गुरुङ धम्पुले १० हजार र भुमाया थापाले १० हजार रुपैया सहयोग गर्नु भएको हो।
क्लबका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारी, कास्कीका स्थानीय विकास अधिकारी ईश्वरराज पौडेल, प्रतियोगिता संयोजक विरभद्र आचार्य, महासचिव केशवबहादुर थापा लगायतले उक्त प्रतियोगिताले पोखराको खेलकुद पर्यटनमा टेवा पुराउने विश्वास व्यक्त गरेको छ ।
उक्त प्रतियोगिताको मुख्य प्रायोजक रारा तयारी चाउचाउ, रेडबुलको सह प्रायोजक, कोकाकोलाकाको उप प्रायोजक, टि.भि. एस मोटरसाईकलको सह उप प्रयोजक, वेष्ट अफ फाईभ प्रायोजक कर्लस् मोबाईल, अफिसियल एयरलाईन्स बुद्ध एयर, अफिसियल ड्रिकिङ्ग वाटर ईको पानी, नोभा शुद्ध ताजा दुध, एल. जी. टि. भि., कृषि विकास बैंक, फेयर प्लेय प्रायोजक इमोन क्याफे रहेका छन्।
नेपाल पयटर्न बोर्डको प्रर्वद्वक , राष्टिय खेलकुद परिषद् एवं अखिल नेपाल फुटबल संघ, क्षेत्रिय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, एन्फा कास्कीको विशेष सहयोग, पोखरा उप महानगरपालिकको संयोजन उक्त प्रतियागिता संचालन हुन लागेको हो।
१२ दिनसम्म चल्ने उक्त प्रतियोगिता सम्पन्न गर्न ६१ लाख ९२ हजार खर्च लाग्ने क्लवले जनाएको छ। आयोजकले उक्त प्रतियोगिताबाट ७० लाख आम्दानी गर्ने लक्ष्य राखेको छ। उक्त प्रतियोगितबाट बचत रकमले क्लबले सहारा एकेडेमिमा खर्चदै आएको छ। पोखरा १७ दोविल्लामा करीब दुई करोडमा निमार्ण भएको सहारा एकेडेमीको यही महिनामा उद्घाटन समेत गरीने भएको छ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई टि. भि. एस. मोटरसाईकल प्रदान गरिने भएको छ। उक्त पुरस्कारको प्रायोजक टि. भि. एस. र सहारा यू.के. रहेका छन्।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताले १५ हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट स्ट्राईकर, मिडफिल्डर, डिफेण्डर, उत्कृष्ट गोलरक्षकलाई जनहि १० हजार पुरस्कार दिने प्रतियोगिताका संयोजक विरभद्र आचार्यले बताउनु भयो।
म्याच मनि
क्लबले खेलाडीहरुको हौसला स्वरुप म्याच मनि यस बर्ष पनि दिने भएको छ। प्रत्येक क्लबलाई एक खेल खेले वापत अतिरिक्त रकम प्रिक्वाटर विजेता टीमलाई १० हजार र पराजित टीमलाई ५ हजार दिने भएको छ। क्वाटर फाईनल विजेता टिमलाई १५ हजार, पराजित टिमलाई १० हजार, र सेमिफाईनल विजेता, उपविजेता टिमहरुलाई २०÷२० हजार दिने भएको क्लबले जनाएको छ।
उक्त सुविधा फाईनल खेलमा भने लागु हुने छैन। यस वर्ष पनि एक लाख रुपैयाँ बराबरको रारा चाउचाउ निःशुल्क गेट टिकटमा वितरण गरिने भएको छ भने गेट टिकटमा पुरस्कारहरुको व्यवस्था गरिएको छ। उक्त पुरस्कार प्रतियोगिता अवधिभरमा काटिएका टिकटहरुलाई गोलाप्रथाबाट छनौट गरी एक जना दर्शकलाई २१” को एल. जी. कलर टि. भी. प्रदान गरिने छ। दैनिकरुपमा काटिएका टिकटहरुबाट गोलाप्रथाद्धारा छनौट गरि एक जना दर्शकलाई कलर्स् मोबाईल पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगिताको प्रबेश शुल्क सिजनल टिकट एक हजार, पहिलो चरणका ४ खेलहरु ५० रुपैया, दोश्रो चरणको ४ खेलहरु ७० रुपैयाँ र सेमिफाइनलका २ खेल तथा फाईनल खेल प्रबेश शुल्क १ सय रुपैया रहेको छ।