एचकेनेपाल डट कम संवाददाता-
सुनसरी, ३ माघ । हत्या गरिएका दैखलका पत्रकार डेकेन्द्रराज थापाप्रति श्रद्धा सुमन ब्यक्तसहित पत्रकार हत्यारालाई कारवाहीको माग गर्दै सुनसरीका एक दर्जन पत्रकारहरुले सामूहिक रुपमा कपाल मुण्डन गरेका छन्।

रिपोटर्स क्बल सुनसरी शाखाको आयोजनामा इटहरीमा भेला भएका पत्रकारहरुले पत्रकार थापाका हत्यारालाई कारवाही गर्न सरकारलाई दवाव स्वरुपमा सामुहिक कपाल मुण्डन गरेका हुन्।

रिपोटर्स क्लब सुनसरी शाखाका अध्यक्ष धनबहादुर पुरी सहित एभिन्युज टेलिभिजनका पूर्वाञ्चल प्रमुख सचिन पोखरेल, मकालु टेलिभिजन तथा म्यासेज दैनिकका सुरेश घिमिरे, हिमशिखर टेलिभिजनका विवेक भट्टराई, सगरमाथा टेलिभिजनका उमेश सुन्चेउरी, नमस्ते एफएमका गणेश निरौला, ध्रुव ढकाल, एभिन्युज टेलिभिजनका दिपक कार्की, विकास दाहाल, विएसी दैनिकका नविन पाण्डे लगायतका पत्रकारहरुले कपाल मुण्डन गरेका हुन्। कपाल मुण्डन कार्यक्रममा स्वतस्फुर्त रुपमा केही सर्वसाधारणहरुले समेत सहभागीता जनाएका थिए।

कपाल मुण्डनपछि आयोजित कोणसभामा पत्रकारहरुले अहिले पत्रकारहरुलाई दलगत रुपमा विभाजन गरेर पत्रकारको आन्दोलन तुहाउने खेल भईरहेको भन्दै सजग हुन सबै पत्रकारहरुले आग्रह गरेका थिए । कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष केशव घिमिरेले केही डलरमा बिक्ने पत्रकारहरुले अहिलेको पत्रकारको आन्दोलनलाई दलगत रुपमा विभाजन गर्ने खेल गरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले पत्रकारहरुले कुनै दललाई फाईदा पुग्ने किसिमले आन्दोलन गरेको नभई पत्रकारको हकहितका लागि आन्दोलन गरेको बताउनुभयो।

त्यस्तै रिपोटर्स क्लब सुनसरी अध्यक्ष पुरीले विपक्षि दलहरुले पत्रकारहरुको आन्दोलनलाई सरकार ढाल्ने आन्दोलनका रुपमा समेत व्याख्या गर्दै आफूहरु आन्दोलित हुने बताएको भएपनि पत्रकारहरु भने पत्रकारको अधिकार रक्षा र प्रेस स्वतन्त्रताका लागि आन्दोलित भएको बताउनुभयो। पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कुनै पनि हालतमा कारवाही गरिनुपर्ने भन्दै उहाँले हत्यारालाई बचाउने पत्रकारहरुबिच नै विभाजन गराउने षड्यन्त्र भईरहेको भन्दै आपत्ति जनाउनुभयो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस