ईन्द्र भुसाल /एचकेनेपाल डट कम-
कुवेत, १४ जनवरी। ‘शास्त्र हराए परम्परा हराउछ, परम्परा हराए साँस्कृतिक हराउछ र सँस्कृति पनि हराए अस्तित्व नै हराउछ’ भन्ने नारा लेखिएको तमु समाज कुवेतको ब्यानरले सजिएको स्टेजको अगाडि टनाटन भरिएको फिन्तास हलमा आइतवार गुरुङ जातिको महान पर्व तमु ल्होछार अतिथी कलाकार शान्ती गुरुङको दर्जन भन्दा धेरै प्रस्तुतीको साथ भब्य रुपमा सम्पनन भएको छ।

तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदूत मधुवन प्रशाद पौडेल द्वारा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने तमु समाज कुवेतका उपाध्यक्ष नबिन तमुले सम्पूर्ण अतिथी र उपस्थित कुवेतबासी नेपालीहरुलाई स्वागत मन्तब्यबाट स्वागत गर्नु भएको थियो।

कार्यक्रमका सम्योजक एवंम संस्थापक अध्यक्ष अमर तमुले शुभकामना मन्तब्य दिदै गुरुङहरुको पर्व भएपनि सम्पूर्ण नेपालीको पर्वको रुपमा मनाउन पाउदा अतिनै खुशी लागेको बताउदै नयाँ सालको शुभकामना दिनु भएको थियो भने तमु समाज कुवेतले अझै प्रगती गर्दै जानेमा विश्वाश ब्यक्त गर्नु भयो।

तमु समाज कुवेतका महासचिव धीरज गुरुङ र कार्यसमिती सदस्य रन्जना तमुस्योले संयुक्क्त रुपमा सन्चालन गरेको कार्यक्रममा तमु समाज कुवेतका दुई दर्जन कलाकारहरुले सामुहिक र युगल नृत्य प्रस्तुत गरेका थिए।

लालि गुराँस परिवारका कलाकार मनिता रसाईली र हरी राईले पनि आफ्नो बेजोड प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा तमु समाज कुवेतलाई बिभिन्न ब्यक्तित्वबाट सहयोग प्राप्त भएको जानकारी उद्घघोषकबाट गराईएको थियो भने कलाकार शान्ती गुरुङलाई तमु समाज कुवेतले मायाको चिनो प्रदान गरेको थियो।

समाजलाई सहयोग गर्ने सल्लाहकारहरु बिरमाया तमुस्यो, तौमाया तमुस्यो, पिन्की गुरुङ, मन बहादुर गुरुङ, तारा मान गुरुङ, लाल घलेलगायत बिभिन्न ब्यक्तित्वहरुले कार्यक्रम सफल पार्नको लागि ठूलो सहयोग गरेकोले उहाँहरुलाई बिशेष धन्यवाद दिईएको थियो।

तमु समाज कुवेतका कार्यसमिती सदस्यहरुदेखि तमुहरुले अतिनै चुस्त किसिमले कार्यक्रम सफल पार्न आफ्नो जिम्मेबारी निभाएको देखिन्थ्यो। अध्यक्ष देखी पूर्व अध्यक्ष सम्पूर्ण पाहुनाहरुलाई स्वागत गर्न ब्यस्त रहनु भएको थियो। गुरुङ जातिको पोशाक लगाई कार्यक्रममा उपस्थित हुने उत्कृष्ठ ३ जना महिला र ३ जना पुरुषलाई सम्मान स्वरुप पुस्कार प्रदान गरिएको थियो। साथै मुप्री ल्हो (गरुड बर्ग) तथा सप्री ल्हो (सर्प बर्ग) का महानुभावहरुलाई स्टेज मै बोलाएर तमु समाज कुवेतका बरिष्ष्ठ सल्लाहकार श्री मान बहादुर गुरुङद्वारा बिदाइ तथा स्वागत गरी रिती पूर्वक स्याँई स्याँई गरेर “रिपा” लगाए दिएका थिए।

बिभिन्न गीत र नृत्यको बेजोड प्रस्तुती दिएकी अतिथी कलाकार शान्ती गुरुङले करीब १५ वटा गीत गाएकी थिइन् भने उहाँलाई तमु समाज कुवेतका साँस्कृतिक बिभाग प्रमुख दोर्ण गुरुङले साथ दिएका थिए। “यती धेरै मान्छेको भिडमा”, ‘तिर्खा लाग्यो पानी खाए, मैले के बिराए’ देखि शान्ती गुरुङको चर्चित गीत “सिक्लेसैको मेलैमा” हुँदै गुरुङ गीत “आयोदो ठागु” समेत गाएर सम्पूर्ण दर्शक र अतिथिहरुलाई नचाएकी थिइन्।

गायनमा मात्र होईन कलाकार शान्ती गुरुङले आफ्नो बेजोड नृत्य पस्केर आफूमा भएको प्रतिभा प्रस्तुत गरिन्। गाउंदा गाउंदै नाच्न सक्ने खुबी भएकी कलाकार गुरुङले आफूलाई यहाँसम्म आउन सहयोग गर्ने तमु समाज कुवेत र कार्यसमितीका सम्पूर्ण सद्स्यहरुलाई बिशेष धन्यवाद समेत व्यक्त गरिन्।

सूचनाको संसारमा यो कार्यक्रम सफल पार्न र आफ्नो बारेमा चर्चा गर्ने कुवेतमा कृयाशिल नेपाली अनलाइन पत्रिकाहरुको समेत तारिफ गर्न पछाडि परिनन्। गुरुङ पहिरनमा सजिएर स्टेजमा आएकी कलाकार गुरुङको स्वर र बोल्ने मिठास पनले कुवेतबासी नेपालीहरुलाई उनीप्रति माया निकै थपेको देखिन्थ्यो।

“वारी जमुना पारी जमुना” गाएर कलाकार दोर्ण गुरुङले गायक खेमराज गुरुङको सम्झना गराए भने तमु समाजका कलाकार किसान गुरुङले “बादलभित्र जून छ” लोक गीत गाएका थिए।

मायाको चिनो ढाका टोपी बोकेर आएकी शान्ती गुरुङले तमु समाज कुवेतका अध्यक्ष, सहयोगी तथा सल्लाहाकारहरुलाई नेपाली ढाका टोपी स्टेजमा बोलाएर लगाई दिईन् भने उनले गाएको अन्तिम प्रस्तुतिमा अतिथी, पत्रकार र मन लागे जतिका जनसमुदाय स्टेजमा पुगी सँगै नाच्ने मौका पाएका थिए।

मन्त्ब्य दिदै अध्यक्ष खोप गुरुङले गुरुङ जातिको महान पर्बलाई यसरी भब्यरुपमा मनाउन पाउदा खुशी मात्र नभएर गौरब लागेको बताउदै हामी नेपालीहरु जहाँ भएपनि आफ्नो धर्म अनी संस्कार र नेपालीपनलाई गौरबका साथ साथमा लिनु पर्न बताउनु भएको थियो। उहाँको समाबेसी मन्त्ब्यसंगै तालिको गड्गडावट दर्शक दिर्गाबाट आएको थियो। उहाँले तमु समाज कुवेत तमुहरुको हकहितको लागि मात्र नभएर सम्पूर्ण नेपालीहरुको लागि कार्य गर्न अग्रसर रहने बताउदै कुनै पनि संस्थाको कार्यक्रमलाई आफूहरुले खुलेर सहयोग गर्ने र त्यसको लागि खुला मनले आउन आग्रह समेत गर्नु भएको थियो।

कुवेतमा कृयाशिल करीब सम्पूर्ण नेपाली सँघ संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रममा सेलरोटी, अचार तथा अन्य नेपाली परिकारलगायत चिया कफीको ब्यवस्था तमु समाजले गरेको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस