सुमन पुन /एचकेनेपाल डट कम-
जोमसोम, २७ पुष। नेपालमा बर्षेनी औषत ८० मेगावाटका दरले उर्जाको माग बढेको छ। उर्जाको मागलाई पूर्ति गर्न नसक्दा हिउँदको समयमा दिनको १२ देखि १८ घण्टा सम्म लोडसेडिङको मारमा जनता परिरहेको बेला मुस्ताङको कोबाङ गाविस अन्र्तगत वडा नं. ३ स्थित ताङछर हाइड्रो कम्पनि प्रा.लि.ले ताङछर खोला धौलागिरी हिमालबाट बगेको पानीबाट करिब २.४० मेगावाट विद्युत उत्पादन गर्ने भएको छ।

कोबाङ गाविस अन्र्तगत वडा नं. ३ स्थित ताङछर भन्ने ठाउँमा विद्युत गृह निर्माण गरिने ताङछर हाइड्रो कम्पनी प्रा.लि.का संस्थापक सदस्य कृष्ण कुमार शेरचनले बताउनुभयो। उहाँले भन्नुभयो, ‘भौगोलिक, वातावरणीय दृष्टिकोणले अति योग्य भएकोले सम्बन्धित विषयगत विज्ञद्धारा प्रमाणित गराई आयोजनाको निर्माण गर्न लागिएको हो।’

उक्त आयोजना निर्माण गर्न रु. ३५ करोड ७३ लाख लाग्ने कम्पनीले प्रतिवेदन मार्फत सार्वजनिक गरेको छ । उक्त रकम जुटाउन विभिन्न वित्तिय व्यवस्थापन मार्फत कुल लागतको ७०% ले हुने आउने २५ करोड ११ लाख लगानीको लागि विभिन्न बैङ्कहरु संग छलफलको प्रकृया अगाडी बढाएको र कुल लागतको ३०% ले हुन रु १० करोड ७१ लाख ९० हजार शेयर पुँजी आयोजना निर्माण स्थल कोबाङ गाविसका समुदायलाई प्राथामिकता दिएको कम्पनीको प्रतिवेदनमा देखिएको छ । आयोजनाले बार्षिक रुपमा १३.२४७ किलोवाट प्रति घण्टा प्रतिवर्ष विुद्युत उत्पादन गर्नेछ । हिउँदको समय पौष महिना देखि चैत्र मसान्त सम्म चार महिनामा १.९७ किलोवाट प्रति घण्टा उत्पादन गर्ने कम्पनीको प्रतिवदेनमा उल्लेख गरिएको छ।

नेपाल सरकार विद्युत विकास विभागबाट प्राप्त विद्युत उत्पादन सर्वेक्षण अनुमति पत्र अनुसार सम्भाव्यता अध्ययन कार्य सम्पन्न भइसकेको छ । २०७० बैशाख सम्म विद्युत उत्पादन लाइसेन्स प्राप्त हुने अपेक्षा लिएको र उत्पादन लाइसेन्स प्राप्त भएपछि निर्माण कार्य शुरु भएको२ बर्षभित्र निर्माण कार्य पुरा गरिने कम्पनीले जनाइएको छ।

बेनी जोमसोम सडक खण्ड देखि करिब ८०० मिटर भित्र पश्चिम तर्फ पर्ने आयोजनाको मुहान विद्युत गृह देखि करिब ४ कि.मि. र रिजर्भ टंकी ३.५ कि.मि माथी नर्माण गरिने वातावरण विज्ञ इन्जिनियर सूर्य खनालले बताउनुभयो। रिर्जभ टंकी देखि विद्युत गृहमा पेनिष्टक पाइपद्धारा पानी खसाली निर्माण कार्य गरिने छ। यसको प्रयोग बाट लागत खर्च समेत कम हुने उहाँको भनाई छ। “कम वातावरणीय क्षति गरि राम्रो विकास गर्ने उद्देश्यले काम छौं उहाँले भन्नुभयो।

विद्युत संकट भइरहेको बेलामा कोबाङमा हाइड्रोपावर बन्नु स्वागत योग्य भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्मा गौतमले बताउनुभयो। उहाँले भन्नुभयो “स्थानीयलाई शेयर दिएमा हाड्रोपावर प्रति अपनत्वको भावना हुन्छ।” त्यसैले स्थानीयलाई प्राथामिकता दिनुपर्छ। उहाँले योजना निर्माण अवधिभर शान्ती सुरक्षाको व्यवस्था जिल्ला प्रशासनले गरिदिने बताउनुभयो।

स्थानीयलाई निर्माण कार्य अवधिभर र निर्माण पश्चात संचालन हुने अवस्थामा पनि स्थानीय व्यक्तिलाई रोजगारीको अवसर प्रदान गनुपर्ने पूर्व जि.वि.स सभापति आनन्दलाल शेरचनले बताउनुभयो। नेकपा एमाले जिल्ला सतिका सदस्य रमेश भट्टटनले कम्पनीलाई स्थानीयलाई शेयरको व्यवस्था गर्न समेत सुझाव दिनुभयो। स्थानीय स्तरका प्राकृतिक श्रोत साधनलाई प्रयोग गरी विद्युत उरत्पादन गर्न निजी क्षेत्र को प्रतिनिधित्वमा निर्माण गरिनु अत्यन्तै राम्रो भएको कोबाङ गाविस सचिव लालप्रसाद लामिछानेले बताउनुभयो। उहाँले भन्नुभया,े ‘गाविसको पहिलो चाहना स्थानिय स्तरलाई फाइदा रोजगार र विकास नै हो’ भन्ने अपेक्षा गाविसले गरेको छ।

मुस्ताङ जिल्ला एक्यापको संरक्षण क्षेत्र भित्र पर्ने भएको हुनाले सो अनुसारको मापदण्ड पूरा गरेर निर्माण प्रकृया अगाडी बढाउनलाई कम्पनीलाई निर्देशन दिएको अन्नपुर्ण संरक्षण क्षेत्र व्यवस्थापन कार्यालय जोमसोमका कार्यालय प्रमुख शन्तोष शेरचनले जानकारी दिनुभयो। उक्त आयोजनाले गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण संरक्षण लगायत स्थानीय सामुदायिक विकास तथा जीवन स्तर सुधार हुने अपेक्षा राखिएको स्थानीयबासी बुद्धिसिह नेपालीले बताउनुभयो।

विश्वको उत्कृष्ठ पर्यटकीय क्षेत्रमा दशौं स्थानभित्र छनौट भएको मुस्ताङ जिल्लालाई पर्यटन विकाशको लागि थप सहयोग हुने र मुस्ताङ जिल्लाको विकासमा प्रमुख आधार बन्ने कम्पनीको बुझाई रहेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस