प्रधानमन्त्रीको राजीनामा माग्दै दैलेखमा प्रदर्शन, गाडीमा तोडफोड,
डेकेन्द्र हत्याका अभियुक्तलाई ७ दिन थुनामा राख्न आदेश

एचकेनेपाल डट कम संवाददाता-
दैलेख, २६ पुस। पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तहरुलाई कारवाही गर्न अवरोध पुर्याएको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका छन्।

प्रमले कारवाहीको प्रक्रियामा अवरोध गरेको भन्दै त्यसको विरोधमा नागरिक समाज, उद्योग वाणिज्य संघ र स्थानीयबासीले अनिश्चितकालीन दैलेख बन्दको घोषणा गरेका छन्। बन्दको अवज्ञा गरेर गाडी चलाएपछि प्रदर्शनकारीले परीक्षा नियन्त्रण कार्यालय सानोथिमीको बा९च ८३७ नम्बरको गाडी र दुईवटा पसलहरुमा समेत तोडफोड गरेका छन्।

हजारौं संख्यामा उत्रेका प्रदर्शनकारीहरुले प्रमको राजीनामा माग्दै पत्रकार थापाको हत्यामा संलग्न अभियुक्तहरुलाई कडाभन्दा कडा सजायको माग गरेका छन्।

पत्रकार थापाको हत्या अभियोगमा पक्राउ परेका अभियुक्तहरुको प्रमको निर्देशनमा बयान रोकिएको थियो। पक्राउ परेका मध्ये लक्षीराम घर्तीको बयानपछि अरुको बयान र कारवाही प्रक्रिया रोक्न प्रमको निर्देशनपछि चौतर्फी विरोध र आलोचना भएको छ।

यसैबीच, पत्रकार थापाको हत्याका अभियुक्तहरुलाई जिल्ला अदालतले विहीवार थप ७ दिन थुनामा राख्न आदेश दिएको छ। माथिको निर्देशन र जनताको चर्को दवाबका चेपुवाका बीच प्रहरीले अनुसन्धानको लागि अदालतसंग अभियुक्तहरुलाई थुनामा राख्ने अनुमति मागेको थियो।

तत्कालीन माओवादी कार्यकर्ताले पत्रकार थापाको अपहरण गरी ४५ दिनपछि २०६१ साउन २७ गते कुटपिट गरी जिउंदै गाडेर हत्या गरेका थिए। पत्रकार थापाका अभियुक्तहरुलाई ४ वर्षपछि पुस २० गते प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकाहरुमा लछीराम घर्ती, जयबहादुर शाही, वीरबहादुर केसी, निरक घर्तीमगर र हरिलाल पुन मगर छन् भने अरु तीनजना अझै फरार छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस