एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ पुस । नेपाल बार एसोसिएसनको आगामि पुस २८ गते हुने नयाँ नेतृत्व चयनलागि हुने निर्वाचनमा प्यानलसहित उमेदवारी दिएका तीन वटै समूहले आ आफ्नो जीतको दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा प्रजातान्त्रिक समूहको प्यानलको नेतृत्व गरेका शेरबहादुर केसीले कानून ब्यवसायी प्रजातन्त्रको मुल्य मान्यता स्वतन्त्र न्यायपालिका, सबैधानिक सर्वोच्चता र मानवअधिकारको पक्षपाती हुने भएकोले आफूले नेतृत्व गरेको प्रजातान्त्रिक समूहको जित सुनिश्चित हुने दावी गरे।

साक्षात्कारमा केसीले आफूहरुको प्यानलमा महिला, मधेसी, दलित, जनजाती सबैको समानुपातिक प्रतिनिधित्व भएकोले पनि आफ्नो जीत हुने तर्क गरे।

उनले आफ्नो कार्यकालमा पेशागत हक हित, राज्यका हरेक निकायमा कानून ब्यवसायीहरुको पहुँच सुनिश्चित गर्ने, बरिष्ठतालाई जिल्ला तहसम्म पुर्याउने, रिटक्षेत्रको विस्तार गर्ने, नवआगन्तुक कानून ब्यवसायीहरुलाई सम्बन्धीत फर्मबाट तलबको ब्यवस्था गर्ने, लयर्स एकेडेमिलाई प्रभावकारी बनाउने जस्ता कामहरु गरेर बार एसोसिएसनलाई प्रभावकारी बनाउने योजना समेत साक्षात्कारमा प्रस्तुत गरे।

मुलुकमा जारी राजनीतिक र संबैधानिक संकट समाधानको एक मात्र उपाय सहमतिको सरकार भएको भन्दै त्यसको लागि दवाव दिन बार एसोसिएसनले दवाव मुलुक कार्यक्रम ल्याउने बताए।

मुलुक असफल राष्ट्र हुने दिशामा उन्मुख भएका भन्दै दलहरु फेल भए पछि बार एसोसिएसन अघि बढ्ने स्पष्ट पारे। मुलुक दलहरुले मिलेर चलाउनु पर्ने भन्दै कुनै एक दलले अकण्टक शासन चलाउन खोज्नु निरकुशता भएको उनको तर्क थियो।

साक्षात्कारमा प्रगतिशिल प्यानलको नेतृत्व लिदै उमेदवारी दिएका हरिकृष्ण कर्मचारीले आफूहरुले अगाडि सारेको एजेण्डाका कारण पनि आफ्नो प्यानलको जित सुनिश्चित भएको दावी गरे।

उनले बारको संस्थागत विकास, सुदृढीकरण, मानवअधिकार, कानूनी शासन, स्वतन्त्र न्यायपालिका, दण्डहिनताको अन्त्य जस्ता आफ्नो समूहले उठाएको विषय र विगतमा आफूले गरेको उपब्धिमुलक कामको मुल्याङकन नै आफ्नो जितको आधार भएको बताए।

कार्कीले सुरक्षित, मर्यादित अनुशासीत पेशा निर्माण, बारलाई केन्द्रमुखी परम्पराबाट मोफसल मुखि बनाउने, विद्यान संसोधन अधिवेशन आयोजना, बार बेञ्ज जवाफदेहिता, कानूनी सहायता ऐनको कार्यान्वयन, बार काउन्सिल ऐन ल्याउने, नोटरी पब्लिको क्षेत्राधिकार विस्तार, पेशागत तालिमलाई प्रभावकारी बनाउने, जस्ता आफ्नो निर्वाचनको एजेण्डा साक्षात्कारमा सार्वजनिक गरे।

अहिलेसम्मको उपलब्धि रक्षाको लागि दलहरु संविधान निर्माणमा असफल भएको दावी गर्दै बारले राजनीतिक दलहरुको घेराबाट माथि उठेर साझा धारणा बनाएर मुलुकको समस्या समाधानको लागि भूमिका खेल्नु पर्ने बताए। उनले दलहरुको सहमतिमै मुलुकले निकास पाउने उल्लेख गर्दै बारले बारले अब दलहरुका कमि कमजोरी स्वतन्त्र ढंगले औल्याएर सहमतिको लागि दाव दिनु पर्ने धारणा राखे।

कार्कीले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायपालिको विषयमा बारले साझा धारणा बनाएर सहमतिको लागि दलहरुलाई सुझाव दिने जानकारी समेत दिए।

दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई उन्मुक्ति दिलाउन प्रधानमन्त्रीले दिएको निर्देशनको आलोचना गर्दै कार्कीले कानूनी शासनको मान्यता विरोधी कुनै पनि कुरालाई समर्थन गर्न नसकिने स्पष्ट पारे। उनले दण्डहिनताको अन्त्य गर्नु पर्ने, सक्रमणकालिन न्यायलाई संबोधन गर्न आयोगहरु गठन गर्नु पर्ने बताए।

स्वतन्त्र प्यानलको नेतृत्व गरेका सुरेन्द्र थापा मगरले नेपाल बारको आसन्न निर्वाचन संघीयता विराधी र पक्षधरवीचको लडाई भएको भन्दै यो लडाईमा संघीयता पक्षधर आफ्नो समूहको नै जित हुने दावी गरे।

आफूहरुले कुनै पार्टीको छाता नओढी स्वतन्त्र रुपमा संघीयता र पहिचानको मुद्दा उठाएकोले पनि आफ्नो समूहको जित सुनिश्चित रहेको उनको भनाई थियो। मगरले राज्य पुनःसरचना अनुसार बारको संरचना बनाउन बनाउ विधान संसोधन गर्ने, ३३ प्रतिसत महिलाको पहुँच सुनिश्चित गर्ने, बारलाई सम्पूर्ण कानून ब्यवसायीहरुको छाता संगठनको रुपमा विकास गर्ने , बारलाई स्वतन्त्र बनाउने, न्यायपालिकालाई स्वतन्त्र बनाउने , पेशागत सुरक्षा र क्षमता अभिबृद्धि गर्ने जस्ता एजेण्डाहरु साक्षात्कारमा उनले सार्वजनिक गरे।

उनले प्रधानमन्त्रीले नै अहिलेको राजनीतिक गतिरोध अन्त्यको लागि सहमतिको पहल कदमी लिनु पर्ने धारणा राख्दै दलहरुमा सहमति नबने स्वतन्त्र ब्यक्तिको नेतृत्वमा पनि चुनावी सरकार गठन गरेर अघि बढ्न सक्ने बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस