एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २४ पुस । पृथ्वी नारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणाको माग गर्दै शाही नेपाली राष्ट्रबादी शक्ति नामक पार्टीले उपत्यका बन्दको घोषणा गरेको छ।

पार्टीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस घोषणा गरेर सार्वजनिक विदाको माग गर्दै बन्दको घोषणा गरेको हो।

पृथ्वी नारायण शाहकै कारण अहिले नेपाल र नेपाली भनेर गर्व गर्ने ठाँउ सम्पूर्ण नेपाली जनताले पाएको दावी गर्दै यसलाई कमजोर बनाएर नेपाललाई विदेशीको दलाल बनाउन एकता दिवसलाई खारेज गरेको दावी पत्रकार सम्मेलनमा गरियो।

सो पार्टीले बेलायतमा पक्राउ परेका महासेनानी कुमार लामाको गिरफ्तारीको विरोध गर्दै उनको निसर्त रिहाईको लागि आन्दोलनको घोषणा समेत गरेको छ।

घोषित आन्दोलनको कार्यक्रममा पुस २८ गते बेलायती दूतावासको सवारी साधन गुड्न नदिने र माघ २ गते बेलायती दूतावास घेराउनु गर्ने रहेको छ।

पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका अध्यक्ष पशुपति खड्काले नेपाल र नेपालीको पहिचान स्थापित गराउने पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा नेपालीलाई एकताको सुत्रमा बाध्न मनाईदै आएको राष्ट्रिय एकता दिवसलाई कुनै पनि हालतमा राष्ट्रिय दिवसको मान्यता दिनु पर्ने भन्दै त्यसो नगरिए आफूहरु जस्तो सुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए। उनले अब मुलुकमा राजसंस्था विना राष्ट्रिय एकता र अखण्डता कायम हुन नसक्ने दावी गर्दै पार्टीले त्यसको लागि पनि अभियान चलाउने बताए।

द्धन्द्धकालको घटनालाई लिएर नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायतमा पक्राउ गरेको घटना नेपालको आन्तरिक मामिलामा बेलायतको प्रत्यक्ष हस्तक्षेप भएको भन्दै उनलाई तत्काल विनासर्त रिहा गर्न माग गरे। अन्यथा कडा आन्दोलन गर्ने उनको भनाई थियो।

उनले लामा पक्राउ पर्ने भए नेपालका प्रधानमन्त्री देखि बरिष्ठ राजनेताहरु पनि सो आरोपबाट मुक्त रहन नसक्दे दावी गरे। पत्रकार सम्मेलनमा उपाध्यक्ष रामकुमार घिमिरे, केन्द्रीय सदस्य किरण विक्रम शाहलगायतकाले पनि आफ्नो धारणा राखेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस