सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, २२ पौष। महिलामाथि हुने गरेका यौनदुव्र्यवहार, बलात्कार, हत्याजस्ता जघन्य अपराधविरुद्ध धरानका महिलाहरु तातेका छन्।
आइतबार महिला सञ्जालको अगुवाईमा र्याली निस्किएको छ। २३ संघसंस्थाका महिलाहरु सहभागी र्याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा ७ सय बढी महिला सहभागी थिए।
कोणसभामा बोल्दै मारवाडी महिला मञ्चकी पिङ्की अग्रवालले नेपालमा बढ्दो महिला हिंसाविरुद्ध सबै महिला एक हुनुपर्ने बताइन्। ‘महिलाको आवाज पोख्न ठाउँ खोजिरहेका थियौं’, उनले भनिन्, ‘अहिले बल्ल मौका पाएका छौं।’
‘मुलुक एक्काइसौं शताब्दीमा प्रवेश गर्दा आधा आकाश ओगटेका महिलामाथि बर्बर हिंसा हुनु शर्मनाक भएको भन्दै राज्यले यस्तो हिंसा अन्त्यको लागि उचित कदम नचालेकोमा अखिल नेपाल महिला संघकी गीता पाख्रिनले आक्रोस ब्यक्त गरिन्।
सरला कायस्थले सर्वसताबादको चीर निन्द्रामा सुतेको सरकारलाई ब्यूझाउन सम्पूर्ण महिलालाई गोलबन्द हुन आह्वान गरिन्। यस्तै गीता पाख्रिनले राज्यले नागरिकको न्यूनतम बाँच्न पाउने अधिकारको समेत संरक्षण गर्न नसकेको आरोप लगाउंदै विद्यमान कानुन कार्यान्वयन नभएको र मुलुकमा दण्डहिनताको अवस्था बढेको कारण यस्ता घटना न्यूनीकरण हुन नसकेको दावी गरिन्।
कार्यक्रममा देवलक्ष्मी शाक्यले न्यायको ठेक्का लिएकाले नै हिंसा गरेकोले मुलुकमा हिंसाको घटना अझै दर्दनाक र बेसर्मपूर्ण बनेको आरोप लगाइन्। कमला खड्काले सरकारको सत्ता लिप्साको कारण विधि मिच्ने क्रम बढेकोले यस्ता घटना भएको भन्दै सरकारले नसुनेसम्म यस्ता घटना न्यूनीकरण नहुने दावी गरिन्।
मञ्जु भण्डारीले महिलामाथि बर्बर हिंसा हुनु शर्मनाक भएको भन्दै राज्यले यस्तो हिंसा अन्त्यको लागि उचित कदम नचालेको आरोप लगाउँदै अन्याय सहने होइन आवाज उठाउन आह्वान गरिन्। सोमा गिरीले सरकारलाई ब्यूझाउंन सम्पूर्ण महिलाहरुलाई गोलबन्द हुन आब्हान गरिन्। श्यामा रेग्मीले सरकारले महिलाको आवाजलाई नसुनेको बताउँदै घटना बढ्नुमा प्रहरी प्रशासनको पनि कमजोरी रहेको बताइन्। उनले प्रहरी प्रशासनले कुनै राजनीतिक दबावमा नपरी हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन आग्रह गरिन्।
चेतना श्रेयङले हिंसाको घटना बढ्दै जानु दुःखद् भन्दै न्युनीकरणका लागि महिला एकताको खाँचो औंल्याइन्। ‘महिला हिंसा बढिरहँदा पनि सरकार टुलुटुले हेरिरहनु दुःखद् हो’, कार्यक्रमलाई सम्बोधन गर्दै नरमाया परियारले भनिन्, ‘अब हामी जुर्मुरायौं, छोड्नेछैनौं।’ कार्यक्रममा कल्पना शेर्पाले महिलाहरु विभिन्न क्षेत्रबाट पीडित बन्न थालेकाले त्यसको विरोधमा महिलाहरु एकजुट भएर अघि बढ्नुपर्ने बताइन्। उनले गृह प्रशासनको कमजोरीकै कारण महिलामाथि हुने गरेका दुब्र्यवहारका दोषीहरु अझ हौसिएको बताइन्।
यसअघि पनि १९ गते बिहीबार अपराधीलाई कडा सजायको माग गर्दै धराने महिलाहरुले एकघण्टा चक्काजाम गरेका थिए। सोमबार इलाका प्रशासन कार्यालयमा धर्ना दिइने पनि कार्यक्रममा जानकारी दिइयो। अखिल नेपाल महिला संघ सुनसरीले भानुचोक बसपार्क प्रवेश गर्ने चारैतिरका सडकमा धर्ना दिँदै चक्काजाम गरेका हुन्।
महिलामाथि भइरहेका हिंसाको विरोधमा गरेको उक्त सांकेतिक धर्नामा कोणसभा गर्दै महिला नेतृहरुले प्रहरी–प्रशासनले महिलामाथि हुने हिंसामा संलग्न अपराधीहरुलाई भएका कानुन समेत लागू नगर्दा नेपालमा महिलामाथिको हिंसा बढेको आरोप लगाए। कार्यक्रमको सञ्चालन गंगा बरालले गरेकी थिइन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b