एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १ जनवरी। तुवाचुङ जायजुम डाँडालाई किरात सभ्यताको केन्द्रको रुपमा विकास गरिने किरात अद्गम आदिमभूमि तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष सह–प्राध्यापक चतुरभक्त राईले बताएका छन्।
किरात राई यायोक्खा हङकङद्वारा आयोजित जानकारीसभालाई सम्बोधन गर्दै सह–प्राध्यापक राईले उक्त कुरा बताएका हुन्। खोटाङ जिल्लाका अर्खौले, सल्ले, धितुङ, दुर्छिम र हलेसीकोबीचमा पर्ने डाँडोलाई इस्लामको मक्का मदिना, इशाईको जेरुसेलम, बौद्धको लुम्बिनी र हिन्दूको बनारसकै रुपमा किरातका लागि प्रमुख तिर्थ स्थलको रुपमा विकास गरिने जानकारी गराएका थिए।
अहिलेसम्म तीनसय रोपनी जग्गा खरिद गरिसकिएको र जम्मा एक हजार रोपनी किन्ने योजना रहेको जानकारी गराउँदै उनले यहाँ रहने किरात तथा अन्यलाई आर्थिक सहयोगको लागि आह्वान गरेका थिए। उनका अनुसार अहिले उक्त जग्गाको मूल्य प्रति रोपनी २५ हजार रुपैयाँ रहेको छ।
सोही कार्यक्रममा समितिका महासचिव दिनेश राईले किरात राईको महान पुर्खा पातेसुङ र दिलिदुम तुवाचुङ र जायजुममा बस्ने गरेको र त्यहीँबाट किरात सभ्यताको विकास भएको किम्बदन्ती रहेको स्मरण गराएका थिए। त्यहीँबाट खेतीपाती र कपडा उत्पादन शुरु भएको विश्वास किरात राईहरुमा रहेको बताउँदै उनले उक्त स्थानमा तान ढुङ्गालगायतका प्रमाण रहेको जानकारी गराएका थिए।
त्यही क्रममा उनले नेपालको राज्यसत्ता एक पक्षीय भएकोले राई जातिबाटै उक्त स्थलको संरक्षणमा पहल हुन आवश्यक देखिएकोले वि.सं. २०६४ सालदेखि काम शुरु भइ २०६५ मा संस्था दर्ता भएको बताएका थिए। उनका अनुसार उक्त स्थलमा विभिन्न संरचनाको निर्माण गर्ने लक्ष्य रहेको छ।
सयपत्री हल जोर्डनमा सम्पन्न कार्यक्रमको अन्तमा यायोक्खाका अध्यक्ष शशि मदन राईको संयोजकत्वमा ११ सदस्यीय सहयोग समिति गठन गरिएको जानकारी गराइएको थियो। जानकारी गराइए अनुसार उक्त समितिका सदस्यहरुमा नरहाङ राई, बसन्तकुमारी राई, किन्दर राई, नारद राई, कमल दुमी राई, सुवास राई, कालसिंह राई, हरि राई, कमल राई र अधिराज राई रहेका छन्।
यायोक्खा सहसचिव कमल दुमी राईद्वारा सञ्चालित कार्यक्रममा नेपालबाट आएका दुवै अतिथिलाई किराती संस्कार अनुसार सम्मान गरिएको थियो। सोही समारोहमा अतिथिहरुबाट भर्खरै सम्पन्न नेपालको आठौं अधिवेशनको झोला टोपी हङकङलाई उपहार स्वरुप प्रदान गरिएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b