एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २९ डिसेम्बर। ‘मलाई मिडियाका साथीहरुले आरोप लाउने गर्नुहुन्छ– तपाईँ खालि जातिवादका मात्रै कुरा गर्नु हुन्छ नि ?, मैले पनि रेडिमेड उत्तर दिने गरेको छु– मैले मेरो समुदायको विषयमा लेख्दा र बोल्दा जातिवाद हुन्छ भने म जातिवादका मात्रै कुरा गर्न तयार छु।’ राजन मुकारुङसंग साक्षात्कारका प्रमुखअतिथिले यसरी कार्यक्रमको शुरुवात गरे।

नेपाली समकालिन साहित्य, सृजनशील अराजकता, कविता र आख्यान अंश वाचन तथा चर्चाका लागि तय गरिएको पौने घण्टाको समयमा उनले आफ्नै पाराका कुरा गरे। नेपाली साहित्यका नाममा खस भाषाको रजाइँको उनले दोहोले काढे र नेपालमा बोलिने सबै भाषाका साहित्यले नेपाली साहित्यको मान्यता पाउनु पर्ने हुँकार गरे।

‘एकलकाँटे मूल्य र मान्यतालाई ध्वस्त बनाउँनु पर्छ र सबैका लागि समान हुने नयाँको सृजना गर्नु पर्छ’, सृजनशील अराजकताका एक अभियन्तासमेत रहेका उनले दावी गरे, ‘यसैको लागि हामीले डेढ दशकअघि शुरुवात गरेको अभियानमा नेपालको मूलधार अहिले हिँडिरहेको छ।’

उनले वाचन गरेका आफ्ना कविता ‘काठमाण्डूको डायरी’, ‘हुन नसकेको गीत’, ‘दश वर्षअघि’, ‘जीवनको द्रोह’ र ‘हाट जाने अघिल्लो रात’लगायतमा उनले नश्लीय चेतना, समावेशीलगायतका विषयलाई जोड दिएका थिए। पहिलो आख्यान ‘हेत्छाकुप्पा’ र यहीँ हङकङमा विमोचित ‘दमिनी भीर’का अंशहरुमा पनि उनले तिनै विषय प्रखर रुपमा उठाएका छन्।

अन्तमा, उनीसंग साक्षात्कार गर्न आएकाहरुसंग उठाइएको शुल्कवापतको ६ हजार ८ सय डलर कार्यक्रम तथा सृजनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञातले उनलाई हस्तान्तरण गरेका थिए। साक्षात्कार मूल्य प्रति व्यक्ति एक सय डलर रहेको थियो।

समाजका सचिव नरेश सुनुवार सञ्चालक रहेको कार्यक्रममा नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे र भ्रमणमा आएका पाटन संयुक्त क्याम्पसका सह–प्राध्यापक चतुरभक्त राईलाई आतिथ्य प्रदान गरिएको थियो। समुच्च विचारकी दीपा एवाई राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुखअतिथि मुकारुङलाई आयोजक, अतिथि तथा अन्यले खादा ओढाएर सम्मान गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस