तमू समाज युएसए न्युयोर्क /एचकेनेपाल डट कम-
आईभन सादा, न्यूर्योक । बिगतका बर्षहरु झै यस बर्ष पनि तमू समाज युएसए न्युयोर्कको आयोजनामा सप्री ल्हो ल्होछार २०१३ भब्यताका साथ सम्पन्न भएको छ।

यहि डिसेम्बर २९ तारिखको साँझ न्यूर्योकको लंग आइल्याण्ड सिटीस्थित फाइभ स्टार बनकेट हलमा सम्पन्न भएको ल्होछार साँझ २०१३ मा न्यूर्योक, न्यूजर्सी बाहेक कनेकटीक्ट, बोस्टन, न्यू हम्पश्याएर, पेनसेलभेनिया, बाल्टीमोर, वासिङ्गटन डी सी बाट गुरुङ्गहरु भेला भएका थिए।

प्रतिकूल मौसमको बाबजुत पनि ७०० जनाको क्षमता भएको हल गुरुङ्गहरुलगायत अन्य नेपाली एंव विदेशी पाहुनाहरुले खचाखच भरिएको थियो। उक्त अवसरमा विशेष रात्रिभोजको साथमा न्यूर्योकका दिदी बहिनीहरुद्वारा तयार पारिएको सेलरोटी नेपालीहरुका साथै बिदेशी पाहुनाहरुले पनि मिठो मानी मानी खाएका थिए।

संयुक्त राष्ट्र संंघको लागि नेपालको कार्याबाहक स्थायी प्रतिनिधी श्रीमती सेवा लम्साल अधिकारीको प्रमुख अतिथीमा सम्पन्न भएको पहिलो चरणको कार्यक्रम सोसाइटीको उप सचिब शर्मिला धलेले संचालन गर्नु भएको थियो। नेपाली राष्ट्रगानबाट शुभारम्भ भएको ल्होछार कार्यक्रमलाई क्वीन बोराग प्रसिडेन्ट हेलेन र्माशलले कार्यक्रम सफलता र शुभकामना पत्र पठाउनु भएको थियो। प्रमुख अतिथी र समाजका बरिष्ठ सदस्य श्रीमती हर्क माया गुरुङ्गलाई सोसाइटीको अध्यक्ष मेख गुरुङ्गद्वारा र अन्य नेपाली एंव विदेशी पाहुनाहरुको साथै पत्रकारहरुलाई सोसाइटीका सचिब शेरजंग गुरुङ्गद्वारा परंम्परागत खदाले स्वागत गरिएपश्चात समाजको बरिष्ठ सदस्य श्रीमती हर्क माया गुरुङ्गद्वारा भगवान बुद्घको प्रतिमूर्तिमा दिप प्रज्जवलन गरि कार्यक्रमको औपचारिक रुपमा समुद्घाटन गर्नु भएको थियो।

प्रथम चरणको कार्यक्रम सोसाइटीका अध्यक्ष मेख गुरुङ्गको समापतित्वमा सम्पन्न भएको थियो। सोसाइटीका प्रथम उपाध्यक्षका साथै ल्होछार २०१३ का संयोजक मिरा गुरुङ्गले स्वागत मन्तब्य दिनु भएको थियो भने प्रमुख अतिथि श्रीमती सेवा लम्साल अधिकारीले शुभकामना मन्तब्य दिनुु भएको थियो।

उक्त सांंझ गुरुङ्ग सोसाइटीलाई बिगतका बर्षहरुदेखि बिशेष सहयोग गर्दै आउनु भएका डा. टोबी भोल्कम्यानलगायत कोरियोग्राफर धरमबिर लामा र गायक राजेश थापालाई प्रमुख अतिथिबाट बिशेष कदर पत्रका साथ सम्मान गरिएको थियो। ल्होछार सांंझको महत्वपूर्ण एवं बिशेष पूरस्कार समाजको हरेक क्षेत्रमा बिशेष सहयोग गर्दै आउनु भएका बोर्ड डाइरेक्टर बर्तमान तथा ल्होछार कार्यक्रमका संयोजक श्री टेक गुरुङ्गलाई प्रसिडेन्ट एवार्डद्वारा सम्मान गरिएको थियो।

दोस्रो चरणको साँस्कृतिक कार्यक्रम खगेन्द्र गुरुङ्ग र स्रुति गुरुङ्गले संचालन गर्नु भएको थियो। गायिका ज्योती गुरुङ्ग र नबोदित गायक अमिर गुरुङ्गले ल्होछार स्वागत गानबाट सो संस्कृतिक कार्यक्रम प्रारम्भ गर्नु भएको थियो। कोरियोग्राफर द्वय धरमबिर लामा र बिजय नकर्मी द्वारा प्रशिक्षित कलाकारहरुले एक भन्दा अर्को गुरुङ्ग गीत एवं नेपाली गीतहरुमा नृत्य गर्दा दर्शकहरु मन्त्रमुग्ध बनाएका थिए।

सो सांंझमा नृत्य गर्ने कलाकारहरुमा गुरुङ्ग चलचित्रका नायिका मिरा गुरुङ्गका साथै अमिर गुरुङ्ग, सूरज गुरुङ्ग, कोपिला गुरुङ्ग, सुनिता गुरुङ्ग, सरिता श्रेष्ठ, शोनेस गुरुङ्ग, संदीप थापा, सुप्रिम गुरुङ्ग, छिरिङ्ग लामा, प्रसन गुरुङ्ग, सोनु गुरुङ्ग, सुखराम गोले, हिसी घले, हिसी सेर्पा, निरु गुरुङ्ग, प्रियंका गुरुङ्ग, छोतेन शेर्पा, यशोदा खालिङ्ग राई, समिता थापा, अन्जु थापा, सलिना थापा हुनुहुन्थ्यो। यसै गरि बोसटन बाट आउनु भएका कलाकारहरुमा उत्सब गुरुङ्ग, निशा गुरुङ्ग, सरस्वती गुरुङ्ग, पुस्पा गुरुङ्ग, धन कुमार गुरुङ्ग र बसन्त गुरुङ्गले गुरुङ्ग गीतमा नृत्य प्रस्तुत गर्नु भएको थियो।

ल्होछार सांंझ २०१३ मा सियाटलदेखि आउनु भएका बरिष्ठ लोगगीत गायिका सिता गुरुङ्गका साथै मन्जु पुन र राजेश थापाको प्रस्तुतिमा दर्शकहरुले नाचेर साथ दिएका थिए। चर्चित गायक रोशन गुरुङ्गको प्रस्तुतिलाई पनि सबै आगनतूकहरुले नाचेर साथ दिएका थिए। सो सांंझ ज्योती गुरुङ्ग र अमिर गुरुङ्गले गुङ्ग यूगल गीत गाउनु भएको थियो। बाल्टीमोरदेखि आउनु भएका किरण शाहीले गुरुङ्ग गीत प्रस्तुत गर्नु भएको थियो भने न्यूर्योकका गायक प्रकाश गुरुङ्गले नेपाली गीत गाउनु भएको थियो।

कार्यक्रमको मध्यतिर यस बर्षको नयाँ आजीबन सदस्यहरुलाई सोसाइटीका अध्यक्ष मेख गुरुङ्गले सम्मान पत्र तथा लाइभ मेम्बर ब्याज प्रदान गर्नु भएको थियो। सोही समय सोसाइटीका सचिव शेर जंग गुरुङ्गले आजीबन सदस्य बन्ने प्रकृयाको बिषयमा प्रकाश पार्नु भएको थियो। यस बर्ष थपिएका आजीबन सदस्यहरुमा प्रविन गुरुङ्ग र पुनम गुरुङ्ग, देव गुरुङ्ग र केशु गुरुङ्ग, यम गुरुङ्ग र सिद्घार्थ गुरुङ्ग, बलबहादूर गुरुङ्ग र मिना कुमारी गुरुङ्ग र बिद्या गुरुङ्ग हुनुुहुन्थ्यो। यससंगै समाजको को आजीबन सदस्य संख्या ७१ जना पुगेको छ।

कार्यक्रमको अत्यतिर सोसाइटीका बोर्ड डाइरेक्टर डा. सुख गुरुङ्गद्घारा कलाकारहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो भने सोसाइटीका अध्यक्ष मेख गुरुङ्गले धन्यबाद ज्ञापन गर्नु भएको थियो। ल्होछार सांझको अन्त्य लाइभ डिजेबाट शुरु भै बिहान २ बजे समाप्त भएको थियो।

यो ल्होछार सांझ २०१३ अहिले सम्मकै उत्कृष्ट ल्होछार कार्यक्रम र न्यूर्योकमा भएको बर्षभरिकै उत्किृष्ट, सफल र ब्यवस्थित कार्यक्रम भएको टिप्पणी धेरै भन्दा धेरै दर्शकहरु एंव पत्रकारहरुले गरेका थिए।
tamusociety@gmail.com / Photo: Photohera.com

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस