एचकेनेपाल डट कम संवाददाता-
दाङ पुस १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा.रामशरण महतले राष्ट्रपतिलाई तत्काल नयाँ प्रधानमन्त्री चयन गर्न आग्रह गरेका छन्।
सहमतिका लागि लामो प्रयास हुँदा पनि देशले निकास नपाएको भन्दै उनले अब राष्ट्रपति सक्रिय भएर मुलुकलाई निकास दिनु पर्ने बताए।
उनले भने– घरीघरी म्याद थपेर रमिता हेरेर राष्ट्रपति बस्नु हुँदैन। अब समाधानका लागि कडा कदम चाल्नु पर्छ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा नेता महतले धेरैपटक म्याद थपेर पनि देशले निकास पाउन नसकेको र राजनीतिक दलहरु पनि सहमतिमा पुग्न नसकेको उल्लेख गर्दै अब राष्ट्रपतिले कडा कदम चालेर आफैले प्रधानमन्त्री चुन्नुपर्ने बताएका हुन्।
साक्षात्कारमा उनले राष्ट्रपतिले नै संविधानको मर्मअनुसार बहुमतको आधारमा प्रधानमन्त्री चुनेर त्यही सरकारले वैशाख जेठभित्रै चुनाव गराइसक्नुपर्ने धारणा व्यक्त गरे।उनले दलहरुवीच सहमति हुन नसकेको अवस्थामा यो भन्दा अर्काे विकल्प नभएको दावी समेत गरे।
एकीकृत नेकपा माओवादीले पैसा र पदको लागि राष्ट्रलाई दाउमा लगाएर बार्गेनिङ गरिरहेको आरोप लगाउँदै माओवादीले पैसा र आफ्ना कार्यकर्ताहरुलाई जागिर खुवाउनका लागि युद्धको नाटक गरेको बताए। महतले भने–युद्धकै कारण माओवादीले आफ्नो स्वार्थ पूर्ति गर्न थुप्रै नेपालीका छोराछोरीहरुलाई बलिदान गर्यो।
पछिल्लो अबस्थामा एकीकृत नेकपा माओवादी, एमालेका कैयौ कार्यकर्ताहरुसमेत कांग्रेसमा प्रवेशको लहर देखेर माओवादी अत्तालिएको भन्दै उनले विस्तारै सबै कांग्रेसले देखाएकै बाटोमा आउन थालेको दावी गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b