एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १९ पुस । नेपाल प्रहरीका महानिरीक्षक कुबेर सिंह रानाले अपराधमा हुने राजनीतिकरणले पनि समाजमा अपराध नियन्त्रण हुन अप्ठ्यारो परेको गुनासो गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले अपराधको राजनीतिकरणसँगै समाजमै अपराध मिलाउने परम्पराका कारण पनि अपराध न्यूनीकरणमा समस्या उत्पन्न गरेको बताए।

पुरुष प्रधानसमाजको प्रभाव राज्य संयन्त्रमा समेत रहेकोले महिला हिंसाका घटनाको अनुसन्धानमा केही समस्या देखिएको स्वीकार्दै प्रहरी त्यसविरुद्ध रणनीति तय गर्न लागेको जानकारी दिए।

पुरातन समाज आधुनिकता तर्फ गईरहेको सामाजिक संक्रमणको अवस्थामा अपराधीहरुले टाउको उठाउने प्रयास गरेकोले पछिल्लो समयमा यस्ता घटना बढी देखिएको उल्लेख गर्दै महानिरीक्षक रानाले भने–समाजमा हिजो पनि यस्ता घट्ना हुन्थे, आज पनि भएका छन् र भोलि पनि हुन्छन्। घटना अहिलेमात्रै भएको होईन केवल उजागर मात्रै भएको हो।

पछिल्लो समयमा देखिएको जागरणले अपराध नियन्त्रण र उन्मुलनमा समाज, राज्यको संयन्त्रमा प्रभाव पारेको भन्दै उनले यसले सकारात्मक परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे।

उनले अपराध न्यूनिकरणको लागि प्रहरीप्रतिको विश्वास अभिबृद्धि गर्न प्रहरी प्रधानकार्यालयले काम गरिरहेको जानकारी दिदै पहिलो चरणमा अहिले प्रहरी कार्यालयहरुलाई महिला मैत्रि बनाएको दावी गरे।

महिला हिंसाको घटनामा निवेदन दर्ता नगरेको भनि लागिरहेको आरोपको खण्डन गर्दै जाहेरी दिदैमा पक्राउ गर्दा निर्दोषले समेत दुख पाउने अवस्था रहेकोले केही समय दोषी पहिचान गर्न केही समय निवेदनलाई मौन राख्ने गरेको महानिरिक्षक रानाले स्पष्ट पारे।

उनले भने–निवेदन दर्ता नगरेको होईन अनुसन्धान प्रभावित नहोस् भनेर केही समय निवेदन विचाराधिन राख्ने गरिएको हो। प्रमाण नजुट्दासम्म कसैलाई पक्राउ गरेर थुन्ने विषयमा प्रहरीले सजगता अपनाएको हो। अपराधलाई ढाकछोप गर्न खोजेको होईन।

महानिरीक्षक रानाले बर्दिया काण्डको मुद्दा अदालतमा दायर भईसकेको, बारा काण्डमा अनुसन्धान सकिएको, अनामनगर काण्डको पुनः पोष्ट मार्टमा गएर अनुसन्धान जारी रहेको र अध्यागमन काण्डमा एक हवल्दारलाई निलम्बन गरी हिरासतमा लिएर अन्यलाई कारवाही गराउने प्रक्रिया सुरु गरिसकेको साक्षात्कारमा जानकारी दिए।

साक्षात्कारमा पूर्वसभासद सपना प्रधान मल्लले महिला हिंसाका घटना नियन्त्रणमा प्रहरीको सेवाले महत्व राख्ने भन्दै प्रहरीले न्याय दिलाउने विश्वास पीडितलाई दिलाउनु पर्ने बताईन्। उनले कानूनमा रहेको कमजोरी र छिटो न्याय नपाउने अवस्थाले गर्दा समस्या आएको भन्दै कानूनमा कडा सजायको ब्यवस्थासहित कानूनी प्रक्रियालाई सहज बनाउनु पर्ने सुझाव दिईन्।

उनले महिलाहरु घर घरमै असुरक्षित रहेको बेला सुरक्षा र न्याय दिलाउने निकायबाट असुरक्षित हुने अवस्था झनै जटिल भएको भन्दै न्याय दिलाउनको लागि प्रहरीमा महिला सुरक्षाकर्मीको बढोत्तरी र तत्काल निवेदन लिने परम्पराको सुरुवात गर्नु पर्ने बताईन्। मल्लले आधुनिकता र परम्पराको द्धन्द्ध चलेको कारण पनि घट्नाहरु बढेको तर्क गरिन्।

बन्दना राणाले मुलुकमा बढेको दण्डहिनताको सस्कार र पुरुष प्रधान सोचका कारण महिला हिंसाको घटना घटेको उल्लेख गर्दै समाजमा यस्ता हिंसाका विरुद्ध चेतनाको अभाव रहेको बताईन्। पछिल्लो समयमा जागेको जागरणलाई अझै अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउँदै कसैलाई पनि चुप लागेर नबस्न आब्हान गरिन्।

उनले महिला हिंसाको घटनामा पुरुष नै कारक तत्व रहेकोले पुरुषले नै यसविरुद्ध आवाज उठाउनु पर्ने भन्दै पुरुषमा पनि जागरणको आवश्यकता औल्याईन्। उनले अन्य अपराधीमा डर पैदा गराउन पनि दोषीमाथि कडा भन्दा कडा कारवाही गराउनु पर्ने भन्दै उजुरी दर्ता नगर्ने प्रहरी अधिकारीमाथि कारवाहीको परम्परा विकास गर्न माग गरिन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस