माधव बराल/ एचकेनेपाल डट कम-
कास्की, १६ पुस। आर्थिक अभावमा स्वास्थ्य उपचार गराउन नसक्दा कास्कीको देउराली गाविसस्थित विमिरेकी १७ बर्षीया किशोरी सुस्मिता गुरुङ ६ बर्षदेखि रोग पालेर बस्न बाध्य छिन्।

११ बर्षको उमेरदेखि शरीरको पछाडिको बाँया भाग उठ्ने समस्याबाट पीडित गुरुङको कमजोर आर्थिक अवस्थाले स्वास्थ्य उपचार हुन सकेको छैन भने एसएलसी उर्तीण भएर पनि उच्च शिक्षा लिनबाट समेत बञ्चित भएकी छन्।

शरीरको पछाडिको भाग उठ्ने समस्या बढ्दै जाँदा उनलाई अहिले हिड्डुल गर्न पनि समस्या परेको छ। शरीरको पिठ्ठयूदेखि कुमसम्मको बाँया भाग असामान्य रुपमा उठेको छ, जसले गर्दा उनलाई हिडडुल गर्न समस्या भएको हो।

पाँच बर्षअघि पोखराको नीजि अस्पतालमा उपचारको लागि लैजाँदा डाक्टरले नसा र हाडको समस्या भएको र यसको उपचार गर्न ५/६ लाख लाग्नुको साथै विदेशमा उपचार गर्नुपर्ने सुझाव दिएको आमा गौमाया गुरुङले बताईन्। पोखराको हरियो खर्क अस्पतालमा उपचारको लागि जाँदा अस्पतालले बाँध्ने बेल्ट दिएपनि त्यो लगाउँदा हिड्न झन समस्या भएपछि उनले लाउन् छाडेकी छन्। विदेशी डाक्टर तथा विभिन्न संघ संस्थाले उनको स्वास्थ्यको बारेमा जानकरी लिएपनि केही सहयोग नपाएको गुनासो गुरुङको छ।

कमजोर आर्थिक अवस्थाका कारण छोरीको उपचार गराउन नसकेको बाबु दिलबहादुर गुरुङको दुखेसो छ। ‘खाडी मुलुकमा पसिना बगाएर कमाएको पैसा छोरा÷छोरीकै पढाईमा खर्च गरे ’ उनले भने ‘ मेरै पाखुरीको भरमा परिवार छन्, उपचारको लागि पैसा जुटाउन सक्ने कुनै आधार नै छैन। ’ आर्थिक अभावमा उपचार गराउन नसक्दा छोरीको पीडालाई टुलुटुलु हेर्न बाध्य छन् दिलबहादुर। ‘छोरीको पीडा देख्दा मन सारै दुख्छ। ’ उनले भने ‘मन अमिलो पार्दै छोरीको पीडालाई हेर्नु बाँहेक केही रहेन।

उनले छोरीको उपचारका लागि सहयोगको याचना समेत गरेका छन्। आफूसँगैका साथीहरु उच्च शिक्षा हासिल गर्न विद्यालय गएको देख्दा मनभरी पीडा लिएर घरमै बस्न बाध्य छन् सुस्मिता। पाँच कक्षासम्म राम्रो अंक ल्याएर उर्तीण भएकी गुरुङको ६ कक्षापछि स्वास्थ्य समस्याकै कारण पढाइ खस्कियो भने उनी दोस्रो श्रेणीमा एसएलसी उर्तीण भईन्।

उनले २०६७ सालमा गाउँकै विश्वशान्ति उच्च माविबाट एसएलसी उर्तीण गरेकी हुन्। ‘अझै पनि राम्रोसँग पढने ईच्छा छ’ उनले रुदै भनिन् ‘ मेरो समस्या बुझेर कसैले सहयोग गरेमा नयाँ जीवन पाउने थिए।’ बाबु आमाले उपचारको लागि सक्दो सहयोग गरेपनि आर्थिक अवस्था निकै कमजोर भएकै कारण आफूले उपचार गरीदिन अभिभावकलाई भन्न नसकेको पनि उनले बताईन्। उनले पढ्न नपाएको पीडा सम्झेर बेला/बेलामा भक्कानिएर रुने गरेको आमा गौमायाले बताईन्। तीन छोरी मध्येकी सुस्मिता कान्छी हुन् भने उनका एक दाजु छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस