एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १५ पुस। त्रिमूर्ति निकेतनले आइतवार राजधानीमा एक काव्यसभाको आयोजना गरी कविशिरोमणि लेखनाथ पौड्यालको १२८ औँ जयन्ती मनाएको छ।

काव्यसभाका संयोजक खनूपरुदे रामबाबूले कविशिरोमणि पौडयालको १२८ औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौडयालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो। सोही अवसरमा उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट् बालकृष्ण समका पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो।

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा लेखनाथ पौड्याल जयन्तीका कार्यक्रम सञ्चालक यादव भट्टराईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हो भन्नुभयो।

कार्यक्रममा ठाकुर शर्मा, बाबा वस्नेत, शान्ति रिसाल र यादव भट्टराईले कविता वाचन गर्नुभएको थियो।

लेखनाथ पौडयालको सङ्क्षिप्त परिचय
लेखनाथ पौडयालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो। २००८ साल असार २९ गते पौडयाललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो।

लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पद्वीले सम्मान गरिएको थियो।

२०११ सालमा पौडयालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो। गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र सम समेत भएर पौडयाललाई रथारोहण गराइएको थियो।

पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए। ती कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन्। साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो।

२०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस