एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १५ पौष। बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होछार/ ल्होसार आज काठमाडौंलगायत गुरुङ बस्ती भएका विभिन्न भागमा मनाइँदै छ।

नयाँ वर्षका रूपमा ल्होछार/ ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन्।

गुरुङले आज पुस १५ गते त ल्हो (घोडा वर्ग) ल्होछारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन्।

ल्हो भन्नाले वर्ष तथा छार भन्नाले नयाँ भन्ने बुझाउँछ। प्रत्येक वर्ष ल्होछार/ ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ।

प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मिर्गको प्रतीकका रूपमा लिइन्छ।

यो पर्वमा गुरुङ जातिले भने सर्प वर्गको बिदाइ र घोडा बर्गको स्वागत वर्षका रूपमा स्वागत गरेका छन्। यो पर्व चीनमा विकास भएर तिब्बत हुँदै नेपाल आइपुगेको बताइन्छ।

राम्रो लगाउने र मीठो खाने यो साँस्कृतिक पर्व नेपाललगायत चीन, हङकङ, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायतका देशमा मनाइन्छ।

नेपाल सरकारले यो पर्वलाई वि.स.२०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक विदा दिन थालेको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस