एचकेनेपाल डट कम संवाददाता-
सिंगापुर, २९ डिसेम्बर। सामुहिक बलात्कार र कुटपिटपछि गम्भीर घाइते भएकी भारतीय युवतीको शनिवार विहान सिंगापुरमा निधन भएको छ।

उपचारको क्रममा उनको स्थानीय समय अनुसार विहान पौने पाँच बजे निधन भएको अस्पतालले जनाएको छ। विभिन्न अंगहरुले काम गर्न छाडेपछि उनको निधन भएको हो। युवतीले आफू बाँच्न धेरै इच्छा गरेपनि उनको मस्तिष्क र शरीरमा गम्भीर चोट लागेको साथै पेट र फोक्सोमा संक्रमण बढ्दै गएपछि चिकित्सकहरुले हरसम्भव प्रयास गरेपनि बचाउन नसकेको अस्पतालले जनाएको छ।

मृत्युपछि साथ रहेका उनका परिवार शोकमा डुबेका छन्। उपचार राम्रो पाएपनि शरीरमा लागेका गम्भीर चोटहरुका कारण बचाउन नसकिएको जनाएको छ।

डिसेम्बर १६ तारिख राति सामुहिक बलात्कार र कुटपिट गरी बसबाट फालिएकी २३ वर्षीया युवतीको थप उपचारको लागि सिंगापुरको माउन्ट एलिजावेथ हस्पिटलमा लगिएको थियो।

प्रधानमन्त्री मनमोहन सिंह उनको मृत्यमा गहिरो दुःख व्यक्त गरेका छन्। सिंहले महिलाहरुको सुरक्षा बढाउनेतर्फ सरकारले कदम चाल्ने बताउंदै मौजुदा कानुनमाथि समिक्षा भइरहेको बताएका छन्।

बसमा आफ्नो पुरुष साथीसंगै सवार रहेका बेला युवकहरुको एक समूहले उनको पुरुष साथीलाई कुटपिट गरी युवतीमाथि सामुहिक बलात्कार गरेका थिए। बलात्कारपछि दुबैलाई गम्भीररुपमा घाइते बनाएर बसको झ्यालबाट बाहिर फालि दिएका थिए।

बलात्कारको घटनापछि आक्रोशित जनसमुदायले भारतमा व्यापक प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले बलात्कारीहरुलाई फाँसी दिनु पर्ने माग गर्दै उत्रेको भीड अनियन्त्रित हुंदा प्रहरीले बलसमेत प्रयोग गर्नु परेको थियो। प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा घाइते भएका एक प्रहरीको उपचारको क्रममा निधन भइसकेको छ।

बलात्कृत युवतीको निधन

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस