एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० पुस । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले निकासको लागि सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई विकल्पको रुपमा अघि सार्न तयार रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निषेध गरेर नेपाली काग्रेसका सभापति सुशिल कोइरालालाई स्विकार्न नसकिने भन्दै पार्टीको पहिलाको निर्णय अनुसार नै बाबुराम भट्टराईको विकल्पमा सत्तारुढ गठबन्धन उमेदवार दिन तयार रहेको स्पष्ट पारे।

debendra paudelसाक्षात्कारमा पौडेलले भने–बाबुरामजीलाई दलित जस्तो ब्यवहार गरेर निकास निस्कन सक्दैन। हामिसँग बाबुरामजीको विकल्प छैन भन्ने कुरा होईन। काग्रेसले निषेधको राजनीति गर्ने हो भने सत्तारुढ गठबन्धनबाटै विकल्प आउँछ। यदि निकास चाहेकै हो भने गठबन्धनले प्रचण्डजीको नाम अघि सार्छ।

दुई चरणमा सहमति गरेर नेपाली काग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न प्रधानमन्त्री तयार रहेको उल्लेख गर्दै पहिलो चरणमा संविधानसभाको निर्वाचनको मिति घोषणा, रिक्त संबैधानिक आयोगमा पदपुर्ति र संविधान संसोधन लगायतका विषयलाई प्याकेजमै सहमति गर्ने र त्यसपछि निश्चित समयसम्म अहिलेकै सरकारलाई सहमतिमा रुपान्तरण गरेर काग्रेसलाई नेतृत्व हस्तान्तरण गरिने उनले स्पष्ट परे।

उनले भने–यदि काग्रेस र एमालेले निकास खोजेका हुन भने सरकारको सहभागितामा निकास तत्काल निकास खोज्नु पर्छ नभए बैशाखमा निर्वाचन हुन सक्दैन।

प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई अहिले पनि विघटित संविधानसभाको बहुमत समर्थन भएको भन्दै उनले नभए सम्भावित प्रधानमन्त्रीको उमेदवारको रुपमा जनमतसंग्रहमा जान समेत उनले चुनौति दिए। उनले भने–बाबुरामजीलाई कसैले प्रधानमन्त्री पद किस्तिमा राखेर दिएको होईन, मन लाग्दा हटाउने र राख्ने।

सबै दलले जित्ने गरी विन विन अवस्थामा निकास खोज्न आग्रह गर्दै उनले प्याकेजमा सहमति भए नेपाली काग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्व स्विकार गर्न समेत तयार रहेको पौडेलले स्पष्ट पारे।

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री वीच बाहिर आएको भन्दा फरक सुमधुर सम्बन्ध राखेको दावी गर्दै विदेशी र सेनालाई विवादमा तानेर अनावश्यक बखेडा नझिक्न उनले आग्रह गरे।

पौडेलले पछिल्लो समयमा प्रधानमन्त्रीसँग भारत र नेपाली सेनाको नाम जोडेर प्रक्रियालाई भाँड्ने षडयन्त्र भईरहेको दावी समेत गरे।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस