एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, २१ फागुन । कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा शनिवार राति सवा १० बजे भीषण आगलागी हुंदा एकै परिवारको चारसहित ६ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा तरकारी बजारका सुरक्षागार्ड हिराबहादुर पुन, उनका दुई छोरीहरु शान्ति र निरा र छोरा निराजन रहेका छन्। मृत्यु हुने अन्य दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। घटनामा हिराका श्रीमती हिक्कासमेत घाइते भएकी छन्। उनको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ।
बजार बिकास समितिको ३ सय ३४ वटा स्टल रहेको २ तले बहुउद्धेश्यीय भवनमा आगलागी भएको हो। भीषण आगलागीबाट तरकारी तथा फलफूल बजार रहेको उक्त भवनमा ठूलो क्षति भएको छ। आगलागीबाट भवन पुरै नष्ट भएको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले विजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।
यसैबीच, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार र आफ्ना प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेललाई घटनाको सत्यतथ्य अध्ययन गर्न निर्देशन दिएका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस