एचकेनेपाल डट कम संवाददाता-
चितवन, ८ पुस। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीले फेरि चितवनको माडीबस्तीमा पसेर आक्रमण सुरु गरेको छ। गएराति मात्रै माडी कल्याणपुर गाविस- ६ हरिनगरमा हात्तीले पाँच घर भत्काएको माडी प्रहरीले जानकारी दिएको छ।
हात्तीले स्थानीय बलराम राउत, चन्द्र राउत, सोना राउत, धर्मेन्द्र महतो र रूप्लाल चौधरीको घर भत्काएको स्थानीयवासी सन्तोष पनेरुले जानकारी दिए।
माडीको द्रौपदीनगरमा एक दम्पतीको ज्यान लिएको हप्ता दिन बित्न नपाउँदै पुनः हात्ती आक्रमण दोहोरिएपछि यहाँको जनजीवन त्रसित भएको छ।
ध्रुबे, फाइल फोटो
पनेरुका अनुसार सुतिरहेका बेला निकुञ्जबाट आएको हात्तीले एक्कासि घर भत्काउन थालेपछि स्थानीयवासीले भागेर ज्यान जोगाएका थिए। हात्ती आक्रमणबाट कति क्षति भयो भन्नेबारे अहिले तथ्याङ्क लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
चितवनमा विगतदेखि आतङ्क मच्चाउँदै आएको हिंस्रक जङ्गली हात्ती ध्रुवेले नै घरमा आक्रमण गरेको पीडितहरूले बताएका छन् ।
यता चितवन निकुञ्जले शुक्रबार रातिदेखि उक्त हात्ती सम्पर्कविहीन भएको र खोजी जारी रहेको बताएको छ। अहिले पनि टोली हात्तीको खोजीमै लागेको निकुञ्जका प्रमुख झमकबहादुर कार्कीले जानकारी दिए।
दुई दिनदेखि सो हात्ती चितवनको सुकेभार छाडेर माडी क्षेत्रतर्फ लागेको निकुञ्जले बताएकै बेला आक्रमण हुनुले सोही हात्ती गएको हुनसक्ने निकुञ्जले पनि आशङ्का गरेको छ।
हात्ती नियन्त्रणमा नआउँदा यहाँका स्थानीयवासी त्रासमा रात बिताउन बाध्य भएका छन्। (रासस)
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b