एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ पुस । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले पार्टीभन्दा माथि कोही कुनै पनि नेता नहुने भएकोले पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले समेत मान्नु पर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने–पार्टी प्रधानमन्त्री भन्दा ठूलो हो। पार्टीभन्दा माथि ब्यक्ति हुँदैन। पार्टीले जे निर्णय गर्छ प्रधानमन्त्रीले पनि मान्नु पर्छ। पार्टीले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने निर्णय गरिसकेकोले त्यसको विरुद्धमा कोही पनि जान हुँदैन।
साक्षात्कारमा प्रवक्ता सापकोटाले एक साताभित्रमै दलहरुवीच सहमति हुन नसके फेरि पनि निर्वाचन हुन नसक्ने दावी गर्दै त्यसपछि मुलुक कहिल्यै निस्कन नसक्ने चक्रब्यूहमा फस्ने चेतावनी दिए।
बैशाखमा हुन नसके जेठमा भए पनि निर्वाचन गर्नै पर्ने भन्दै निर्वाचन हुन नसके लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने तत्वलाई बल पुग्ने उनको तर्क थियो। दलहरुवीच अब नयाँ नयाँ विषयहमा छलफल गरेर सहमति कायम गर्न नसकिने स्पष्ट पार्दै निर्वाचनमा जानुको विकल्प नभएको प्रवक्ता सापकोटाले बताए।
उनले विघटित संविधानसभाको उपलब्धिको स्वामित्व ग्रहण गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने र निर्वाचनको लागि संविधान संसोधन गर्ने विषयमा प्याकेजमै सहमति बनाउने विषयमा दलहरु सहमतिको नजिक पुगेको जानकारी दिदै राष्ट्रपति भारत भ्रमणमा जानु अघिनै सहमति कायम हुनु पर्ने बताए।
उनले दलहरुवीचको सहमतिकै आधारमा औपचारिक वार्ताबाट सहमति निष्कन नसकेपछि अनौपचारिक वार्ता गर्ने सहमति भएको भन्दै अनौपचारिक वार्तालाई लिएर कसैले बाईपास गरेको सोच्न नहुने तर्क गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b