एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ पुस । नेपाली काग्रेसका नेता अर्जुन नरसिह केसीले काग्रेसले सत्ताको लागि संविधान साट्न नसक्ने स्पष्ट पार्दै संविधानका अन्र्तबस्तुमा सहमति गरेर सत्ता पाउने सर्तको पक्षमा काग्रेस नरहेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने–संविधानसभाले औपचारिक रुपमा पारित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्धता सबैको छदैछ। अहिले आएर चार वर्षमा हुन नसकेको संविधानका अन्र्तबस्तुमाथिको सहमति चार दिनमा खोजेर हुँदैन। त्यस्तो गर्नु भनेको निर्वाचनबाट भागने षडयन्त्र मात्र हो। अहिले नै अन्र्तबस्तुमा सहमति गर्नु आउने जनप्रतिनिधिहरुको अपमान हुन्छ।
यद्यपि उनले संविधान निर्माणमा अहिलेसम्म भएका सहमतिलाई सन्दर्भ सामग्रीको रुपमा भने स्विकार्न सकिने स्पष्ट पारे।
केसीले पुस पहिलो साताभित्र सहमति नभए जेठको पहिलो सातासम्ममा पनि निर्वाचन हुन नसक्ने भन्दै माओवादी अहिले आफै धामी आफै बोक्सी जस्तो बनेर निर्वाचन नगर्ने षडयन्त्रमा लागेको बताए। प्रचण्ड नरम जस्तो देखिएर प्रधानमन्त्रीलाई अवरोधको रुपमा तेर्साउनु निर्वाचनमा नजाने माओवादीको रणनीति भएको आशंका समेत उनले ब्यक्त गरे।
उनले भने–पार्टी फुटेको र सरकारको अलोकप्रियताका कारण पनि माओवादी चुनावमा जान डराएको छ।
प्रधानमन्त्रीले पछिल्लो समयमा प्रस्ताव राखे जस्तो संविधानका अन्र्तबस्तु सहित यहि सरकारमा काग्रेस र एमाले सहभागि हुनु पर्ने विषयलाई खारेज गर्दै केसीले दुबै कुरा असम्भव रहेको बताए। उनले संबैधानिक नियूक्तीहरुमा पुरानैलाई निरन्तरता दिएर अघि बढ्नु पर्ने धारणा राख्दै नयाँ सहमति खोज्ने प्रयत्न असम्भव रहेको बताए।
अहिलेसम्मको विवाद जातीय वा साझा पहिचान यूक्त संविधान के भन्ने मात्रै भएको भन्दै उनले विवादलाई अहिलेनै जनमत संग्रहमार्फ समाधान गरे मात्रै निर्वाचन भएको एक वर्षमा संविधान बन्न सक्ने बताए । अन्यथा फेरि पनि संविधान बन्न सक्नेमा आशंका ब्यक्त गरे।
नेकपा एमालेका नेता रघुजी पन्तले संविधानसभामा विगतमा भएका सहमति मान्न सकिए पनि त्यसलाई स्विकार्न कोही पनि बाध्य नहुने भन्दै अहिले नै अन्र्तबस्तुमा सहमति खोज्नु निर्वाचन नगर्ने षडयन्त्र मात्र भएको दावी गरे। उनले भने–विगतमा भएका सहमति मान्न सकिन्छ तर नयाँ संविधानसभा त्यसलाई स्विकार्न बाध्य हुँदैन। त्यो संविधानसभाको हात खुट्टा बाध्ने षडयन्त्र मात्र हो।
प्रधानमन्त्रीमा दावी गर्ने हैसियत एमाओवादी, काग्रेस एमाले र माओवादीलाई मात्रै भएको उल्लेख गर्दै पन्तले मधेसी वा साना दलको नेतृत्व भन्नु सहमतिको हलो अड्काउने प्रचण्ड र प्रधानमन्त्रीको दाउ मात्रै भएको दावी गरे।
उनले एमाले सुशिल कोइरालाको नेतृत्वमा सहमतिको सरकार निर्माणको पक्ष रहेको भन्दै यसमा पार्टी दृढ रहेको स्पष्ट पारे।
बर्तमान प्रधानमन्त्रीलाई विश्वासघातीको संज्ञा दिदै विश्वासघाती सरकारको नेतृत्वमा एमाले सरकारमा कुनै पनि हालतमा नजाने पन्तले बताए।
उनले सरकारको गिर्दो लोकप्रियता र पार्टी विभाजनको पीडाको कारण माओवादी निर्वाचनमा जान नचाहेर अनेक किसिमको बहाना बनाउने गरेको आरोप समेत साक्षात्कारमा लगाए।
पन्तले सरकारलाई ईतिहासमै अहिलेसम्मकै सबैभन्दा भ्रष्ट सरकारको संज्ञा दिदै लुट गर्न पाएकोले मधेसी मोर्चाले सरकारलाई थामेर राखेको दावी गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b