Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आशफोर्डमा चासोक तङनाम सम्पन्न

सोदिप थोप्रा लिम्बू /एचकेनेपाल डट कम-
आशफोर्ड, बेलायत। नेपालमा शाहबंशको उदय संगसंगै अन्य जातजातिहरुले जस्तै लिम्बू जातिले पनि शासक जातिले जबर्जस्ति लादि दिएका उनीहरुका धर्म, लिपि, संस्कृति, चाडपर्ब आदि इत्यादि अंगाल्नु परेको थियो।

त्यसबेला आफ्नो भाषा, लिपि, धर्म , संस्कृति आदिको कुरा गर्न बन्देज नै लगाइएको थियो। सन् १७८८ मा लिम्बू साहित्य प्रचार(प्रसार गरेको अभियोगमा सिक्किममा शासकहरुले सिरिजङ्गा सिङथेबेको हत्या गरेका थिए। तर प्रजातन्त्रको उदयसंगै सम्पूर्ण जनजातिहरुलाई आ-आफ्नो धर्म, भाषा, लिपि, चाडपर्ब अंगाल्न पाउने अधिकार प्राप्त भएको छ। अन्य जातिहरु सो सरह लिम्बू जातिहरुले पनि आफ्नो पहिचानको जगेर्ना तथा बिकासको लागि कम्मर कसेरै लाग्नु पर्ने भएको छ। किन भने हाम्रो पहिचान लोप हुनु भनेको हामी लोप हुनु हो र हामी जहाँ बसोबास गरेता पनि पहिचानको जरुरत पर्दछ ्र जुन कुरो सम्पूर्ण लिम्बूहरूले बुझ्न आबश्यक छ।


यहि हाम्रो पहिचानलाई जगेर्ना गर्दै आउने नयाँ पिढीलाई पनि यसको बारेमा बुझाउंदै लैजाने उद्देश्य अनुरुप किरात याक्थुङ् चुम्लुङ् युके आशफोर्ड शाखाले गत १५ डिसेम्बर २०१२ शनिबारका दिन स्थानीय साइमन चर्च हलमा किरात लिम्बूहरूको मौलिक चाड चासोक तङ्नाम २०१२ भब्यताका साथ सम्पन्न गरेको छ।

लिम्बूहरुले अन्नबाली पाकेपछि युमा साम्माङ्लाई आभार ब्यक्त गर्दै नयाँ पाकेको बाली खानलाई अनुमति लिन गरिने पूजालाई चासोक तङ्नाम वा न्वागी पुजा भनिन्छ।

कार्यक्रमको पहिलो चरण अन्तर्गत पुजा फेदाङ्मा बिर धोज आङबुहाङ्ले गरेका थिए। पूजामा थुप्रै लिम्बू दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो। उपस्थित सबैले पूजा हेर्न पाओस्भन्ने उदेश्यले पुजा स्थल हलकै बाहिरपट्टि राखिएको थियो भने भित्रि पूजा सबैले देख्न र सुन्न सकोस्भन्ने योजना अनुरुप नै स्टेजमै पूजा स्थल बनाई पुजारीलाई माइक्रो फोनको व्यवस्था पनि गरिएको थियो।

पूजाआजाको कार्यक्रम लगत्तै औपचारिक कार्यक्रम शुरु गरिएको थियो। शाखाका अध्यक्ष रै प्रसाद चोङबाङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब काजी साम्युले गरेका थिए। कार्यक्रममा फेदाङ्मा बिर धोज आङबुहाङ्लाई प्रमुख अतिथिका रुपमा आसनग्रहण गराइएको थियो। आशफोर्डबासी याक्थुङ्बाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको प्रारम्भमा शाखाका उपाध्यक्ष पूर्ण मादेनले स्वागत मन्तब्य दिएका थिए भने प्रमुख अतिथि आङबुहाङ्ले लिम्बू साथै नेपाली भाषामा चासोक तङ्नामको बारेमा उपस्थित सबैलाई प्रष्ट पारेका थिए। समाजका तर्फबाट अध्यक्ष रै प्रसाद चोङबाङ्ले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरुलाई चासोक तङ्नामको शुभकामना ब्यक्त गर्दै कार्यक्रमको उद्देश्य प्रष्ट पारेका थिए।

सांस्कृतिक सचिब सकुन्तला नेम्बाङ् द्वारा संचालित सांस्कृतिक कार्यक्रममा निरुता, सिकुम, निशुमा, स्मृति, तुलसा, प्रमिला, अन्जु लिम्बू लगायतले लिम्बू तथा नेपाली नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने मधुकेशर लिम्बुको अगुवाइमा हेम चोङ्बाङ्, जमिन थाङ्गदेन, बिबेक सम्बाहाम्फे, सागर चोङ्बाङ्, आशिष लिम्बू, निरुता, सिकुम, निशुमा, स्मृतिलगायतले लिम्बू जातिको लोकप्रिय च्याब्रुंग नाच प्रस्तुत गरेका थिए। थुप्रै दाजुभाई तथा दिदीबहिनीहरुले स्टेजमा आएर हाक्पारे साम्लो, पालामहरु प्रस्तुत गर्दा लिम्बुवानको पुषे मेला, माईबेनी मेला आदिको याद दिलाएको थियो भने स्थानीय गाउँले पसल द्वारा ब्यबस्था गरिएको लिम्बू जातिको लोकप्रिय खाद्य परिकारहरु साथै तोङ्गबाले कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो। कार्यक्रममा धाननाच कार्यक्रम अन्त्यसम्मै खुबै जमेको थियो। डिजे सोनाम थोप्राले उपस्थित सम्पूर्णलाई धिख मर्ने गरि बेलुकाको ७:३० बजेसम्म नचाएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by