एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३ पौष । विभिन्न जातीय पार्टीहरुले ६ सुत्रिय माग अघि सार्दै आफूहरुको माग पुरा नभए भूमिगत आन्दोलन थाल्ने चेतावनी दिएका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त जातिय मुक्ति मोर्चा नेपाल, किरात जनवादी वर्कर्स पार्टी, तासालिङ नेपाल राष्ट्रिय दल, मंगोल डेमोक्रेटिक पार्टी, मंगोल मुलवासी पार्टी, नेपाल राष्ट्रि मुलवासी महासंघ, संयुक्त राष्ट्रवादी जातीय मुक्ति मोर्चा नेपाल वल्लो किराँत कोईचवान, नेपाल मुक्ति मोर्चा, लिम्बुवान स्टेट फोर्स र ताम्सालिङ स्वायत्त राज्य परिषद्ले आफूहरुले अघि सारेको माग तत्काल सम्बोधन नगरे भूमिगत गत आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
एघार जातीय दलले दलीय निरंकुशता लादी प्रेस, नागरिक तथा लोकतान्त्रिक स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप तत्काल बन्द गर्नुपर्ने, कृतिम अभाव र महंगी सृजना गरी जनताको ढाड सेक्ने काम तत्काल बन्छ गर्नुपर्ने लगायतका ६ सूत्रीय माग अघि सारेका छन्।
उनीहरुको अन्य मागहरुमा दोस्रो संविधानसभा निर्वाचनको वहानामा कृतिम संक्रमणकाल लम्ब्याई सत्ता कब्जा गरी मुलुकलाई संघीयतामा नलाने, संविधान नलेख्न, दलितहरुलाई अधिकार नदिई राष्ट्रपति शासन मार्फत एकल बाहुनवाद धार्मिक शासन लाद्न षड्यन्त्र भईरहेको लगायतका रहेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै ताम्सालिङ नेपाल राष्ट्रिय दलका जातीय विभाग प्रमुख पेशल तामाङले ६ सुत्रिय माग संबोधन गराउन राज्यलाई नैतिक दवाव दिने जानकारी दिदै माग सम्बोधन नभए बार्ताको बाटो छाडेर युद्धबाट माग पूरा गर्न बाध्य पार्ने स्पष्ट पारे।
मंगोल मुलवासी पार्टीका अध्यक्ष भीम गुरुङले शासनमा रहेका बाहुन र क्षेत्रीहरुले आफूहरुको सभ्य भाषा नबुझेको दावी गर्दै यस्तै अवस्था कायम रहे भविष्यमा असभ्य कदम चाल्न रत्तिभर पनि पछि नपर्ने चेतावनी दिए।
नेपाल राष्ट्रिय मुलवासी महासंघका अध्यक्ष श्यामलाल शाहले नेपाली भूमि, राष्ट्रिय स्वाधिनतालाई ठूला दलहरुले विदेशीहरुलाई बेचेर सिक्किम बनाउन लागेको आरोप लगाए।
पत्रकार सम्मेलनमा संयुक्त जातिय मुक्ति मोर्चाका महासचिव मुक्ति दाता, किरात जनवादी वर्कर्स पार्टीका अध्यक्ष यलम्बर किराती, संयुक्त राष्ट्रवादी जातिय मुक्ति मोर्चा नेपालका अध्यक्ष जितेन्द्र शाहले सम्बोधन गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b