Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

के नमिल्ने नै हुन् त हङकङका गुरुङहरु ?

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १७ डिसेम्बर । तमू ल्होछार/ल्होसार एकै ठाउँ र एकै पटक मनाउने वातावरण तयार गर्नको लागि हेमप्रताप गुरुङको संयोजकत्वमा पाँच सदस्यीय तमू ल्होछार/ल्होसार समन्वय समिति हङकङ गठन भएको छ।

जंगबहादुर गुरुङ, गणेश गुरुङ, रोशन गुरुङ र कुमार गुरुङ सदस्य रहेका समितिले सैद्धान्तिक मान्यता, उद्देश्य, गठन, संरचना तथा संचालन सम्बन्धी कार्यविधि र आचार—संहितासमेत सार्वजनिक गरेको छ।

संयोजक गुरुङले भने, ‘हङकङमा तमू ल्होछार/ल्होसार एकै ठाउँ र एकै पटक मनाउँनु पर्छ भन्ने आवाज पटक–पटक उठे पनि त्यसमा सुनुवाइ नभएपछि तिनै आवाजलाई संगठित र व्यवस्थित गर्न समिति बनाएका हौं।’

केही समय अघिदेखि ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष रहेका उनी र भारतीय गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष जंगबहादुर गुरुङले यसको लागि पहल गर्दा हैसियतको बारेमा प्रश्न उठेपछि उनीहरुले छुट्टै संयन्त्र बनाएका हुन्।

तमू ट्हो ह्युल र तमू प्ये ल्हु संघलाई एकै ठाउँ र एकै पटक ल्होछार/ल्होसार मनाउँन छलफलको लागि ती दुईले आ–आफ्नो संस्थाको अध्यक्षको हैसियतमा संयुक्त हस्ताक्षरसहित पत्राचार गरेका थिए। उनीहरुको छलफलमा दुवै संस्था अनुपस्थित भएपश्चात ती दुवै संस्था भन्दा अघि २३ डिसेम्बरका दिन छुट्टै कार्यक्रम गर्ने तयारी उनीहरुको रहेको थियो।

दुई कार्यक्रमलाई एक बनाउँन पहल गर्नेहरु नै तेस्रो कार्यक्रमको आयोजनामा लागेपछि आलोचना भएको थियो। तमू ट्हो ह्युलले त ३ डिसेम्बरका दिन छलफलका नाममा दुवैलाई बोलाएर झाँको झारेको थियो। छलफलको एक सहभागीका अनुसार भूपू सैनिक संघ गुरुङहरुकोमात्रै संस्था हो ? सैनिक संघका अध्यक्षहरुले कुन हैसियतमा ल्होछार कार्यक्रम गर्ने ? भन्नेजस्ता प्रश्न उठेपछि दुवैजना नाजवाफ बनेका थिए।

‘हामीले त चोखो मनले पहल गरेका थियौं, साथीहरुले अनेक आरोप लगाए,’ जंगबहादुर गुरुङले भने, ‘फरक भए पनि सबै गुरुङले एकै ठाउँ र एकै पटक आ–आफ्नै तरिकाले ल्होसार मनाऔं भनेर हामी लागेका हौं। समिति बनाएका छौं, उद्देश्य पूरा नभएसम्म पहल गरिराख्छौं।’

ट्हो ह्युलको कार्यक्रममा लामा र प्ये ल्हुको कार्यक्रममा ध्याब्री–पच्र्युले धार्मिक अनुष्ठान गर्ने गरेका छन्। एउटै चाडलाई ल्होछार र ल्होसार भन्ने गरिएको छ। यो भन्दाअघि तमू सांस्कृतिक परिवारले यस किसिमको पहल गरेको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by