सोनाम शेर्पा /एचकेनेपाल डट कम-
टोकियो, १ पुष। जापानमा तल्लो सदनको संसदका लागि ४६ औं पटक भएको निर्वाचनमा वर्तमान सरकार नराम्रोसँग पराजित भएको छ।
आईतावार सम्पन्न निर्वाचनमा जापानका वर्तमान प्रधानमन्त्री योशिहीको नोडाको डेमोक्रेटिक पार्टी (मिनस्युतो)लाई पूर्वप्रधानमन्त्री शिन्जो आबे नेतृत्वको लिवरल डेमोक्रेट पार्टी (जिमिनतो) ले भारी मतले पराजित गरेका हो।
फेरि जितियो-पूर्वप्रधानमन्त्री शिन्जो आबे
यद्यपि, यस पटक लिवरल डेमोक्रेट पार्टी आफ्नो ताकत र लोकप्रियताले नभै जापानी जनताहरु वर्तमान सरकार र डेमोक्रेटिक पार्टीसँग वाक्क भएर लिवरल डेमोक्रेट पार्टीलाई आफ्नो मत दिएको लिवरल डेमोक्रेट पार्टीका बरिष्ठ नेताहरुले बिभिन्न संचारमाध्यमहरुको अगाडी स्वीकार गरेका छन। र आगामी कार्यकाल लिवरल डेमोक्रेट पार्टीको लागि थप चुनौतिपूर्ण रहने ति नेताहरुको अनुमान छ।
निर्वाचनमा ३ बर्ष ३ महिने कार्यकाल मात्रै पूरा गरेको मिनस्युतोलाई ५७ सिटको बिरुद्ध जिमिनतोले २९४ सिट ल्याएर पराजित गरेको हो। निर्वाचनमा जिमिनतोको पूर्व गठबन्धन पार्टी न्यू कोमेईतोले ३१ सिट हात पारेका छन्। ४८० सिटको लागि भएको मतदानमा केहि दिन पहिला गठित टोकियोका निवर्तमान मेयर ईसिहारा सिनतारो र ओसाकाका बर्तमान मेयर हासिमोतो थोरुको पार्टी जापान रिस्ट्रोयसन पार्टी ९निहोन ईसिन नो काई० ले ५४ सिट ल्याएर जापानको तेस्रो र शक्तिशाली पार्टी बनेको छ।
यस पटकको निर्वाचनमा आर्थिक, आणविक उर्जा नीति, चीनसंगको टापु विवाद, गत वर्षको सुनामीपछिको पुनर्निर्माण, सामाजिक सुरक्षा जस्ता विषयले बढी प्राथमिकता पाएको थियो। लिवरल डेमोक्रेट पार्टीका अध्यक्ष सिन्जो आबे बिदेश नीतिको ममलामा कडा र ताकतवर नेताको रुपमा लिईन्छ र उनको पुनःआगमनको अर्थ अब जापानको बिदेश नीति कडा हुने र चीन तथा उत्तर कोरियासँग थप तनाव बढ्ने राजनैतिक बिश्लेषकहरुको अनुमान छ।
जापानका सानो र ठूलो गरेर जम्मा १४ दलले यस पटकको निर्वाचनमा भाग लिएका थिए। जसमध्य न्यू पार्टी निप्पोन र न्यू रिनाईसेन्स पार्टीले कुनै सिट प्रप्त गर्न सकेन। यस पटकका निर्वाचनमा डेमोक्रेटिक पार्टीका कयौं बरिष्ठ नेताहरु पराजित भएका छन्भने प्रधानमन्त्री योशिहिको नोडाले डेमोक्रेटिक पार्टीको अध्यक्षबाट राजिनामा दिएका छन्।
त्यस्तै, प्रभावशाली नेतृको रुपमा लिईने पूर्वप्रधानमन्त्री काकुइ ताकाकको छोरी तथा बर्तमान शिक्षामन्त्री तनाका माकिकोले राजनैतिक जीवनवाट सन्यास लिने भएकी छिन्।
जापानको तल्लो सदनमा एक्लो सिट निर्वाचन प्रणाली मार्फत ३०० जना र समानुपातिक निर्वाचन प्रणाली मार्फत १८० जना गरेर जम्मा ४८० जना सदस्य रहने गरेको छ। निर्वाचनमा लिवरल डेमोक्रेट पार्टीले एक्लो सिटतर्फ २३७ र समानुपातिकतर्फ ५७, डेमोक्रेटिक पार्टीले एक्लो सिटतर्फ २७ र समानुपातिकतर्फ ३० र जापान रिस्ट्रोयसन पार्टीले एक्लो सिटतर्फ १४ र समानुपातिकतर्फ ४० सिटमा जित हासिल गरेका छन्।
त्यस्तै, न्यू कोमेईतोले एक्लो सिटतर्फ ३१ र समानुपातिकतर्फ ९, योर पार्टीले एक्लो सिटतर्फ ४ र समानुपातिकतर्फ १४, टुमरो पार्टी अफ जापानले एक्लो सिटतर्फ २ र समानुपातिकतर्फ ७, जापान कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ ८, सोसियाल डेमोक्रेटिक पार्टीले एक्लो सिटतर्फ १ र समानुपातिकतर्फ १, न्यू पार्टी दाईईचिले समानुपातिकतर्फ १, पिपल्स न्यू पार्टीले एक्लो सिटतर्फ १ र स्वतन्त्र उम्मेदवारले एक्लो सिटतर्फ ५ सिटमा जित हासिल गरेका छन्।
सन २००९ मा लिवरल डेमोक्रेटिक पार्टीको ५० वर्षे शासनलाई पहिलो पटक सत्ता बाहिर पुर्याउँदै डेमोक्रेट पार्टी सरकार गठन गर्न सफल भएको थियो। तर, सत्तामा पुगेपछि डेमोक्रेटिक पार्टीभित्र उत्पन्न राजनीतिक खिचातानीका कारण तीन बर्षे कार्यकालमै तीन जना प्रधानमन्त्री फेरिईसकेका छन्।
३ बर्ष ३ महिनाअघि सत्तामा आएको डेमोक्रेटिक पार्टीले अपेक्षित सुधार गर्न नसकेको र चीनसंगको तनावमा कडा नीति अपनाउन नसकेको भन्दै जनता निराश भएको थियो। त्यसमाथि सन् २०११ को सुनामीले पनि वर्तमान सरकार हार्नुको अर्को एउटा कारण भएको अनुमान गरिएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b