एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २६ मंसिर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सार्वजनिक स्थलमा झापड हान्ने पदम कुँवर २८ हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि जेल परेका छन्।
सार्वजनिक अपराध मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले तोकेको धरौटी तिर्न नसकेपछि कुवँरलाई सोमवार केन्द्रीय कारागार चलान गरिएको थियो।
धरौटी तिर्न नसकेर जेल परेका कुँवरलाई प्रचण्ड आफैंले २८ हजार रुपैयाँ धरौटी तिरेर रिहा गराउने भएका छन्। प्रचण्डले आजै उनलाई रिहा गरिदिन आग्रह गरेको उनका सहयोगी शिव खकुरेलले जनाएका छन्।
यसअघि, कुँवरका भिनाजु भीम भारतीले आर्थिक अवस्था कमजोर भएकाले धरौटी बुझाउन नसकेर उनलाई रिहा गर्न नसकेको सञ्चारमाध्यमहरुलाई बताएका थिए। धरौटी तिर्ननसकेपछि उनका शुभचिन्तकहरुले चन्दा संकलन तीब्र पारेका छन्। भारतीले उनलाई रिहा गर्न २८ हजार रुपैयाँ संकलन भइसकेको बताएका छन्। सोही संकलित रकमले धरौटी तिरेर उनलाई मंगलवार रिहा गर्न बताएका थिए।
धरौटी रकम प्रचण्डले तिरे पनि वा चन्दा संकलन बाट उठेको रकमबाट तिरेपनि अन्ततः कुवँर जेलबाट रिहा हुने भएका छन्। प्रचण्डलाई झापड हानेपछि एकाएक चर्चामा आएका कुवँरले आवेशमा आएर झापड हानेको प्रहरीसमक्ष बयान दिएका थिए।
एमाओवादीले भृकुटी मण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डको चश्मा भूईमा खस्ने गरी कुवँरले झापड हानेका थिए।
प्रचण्डलाई झापड, झापड हान्नेलाई यसरी बचाइयो
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b