Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पहलमानसिंह स्वार जीवनी

नरेन्द्रराज प्रसाई-
पहलमासिंह स्वारको जन्म १९३५ साल मडसिर ७ गते अछामको रिडीकोटमा भएको थियो । उनी कप्तान लक्ष्मीसिंह स्वार र माइली कजिनी डिकुरादेवी स्वारका सातौं छोरा थिए। त्यसबेला उनका बुबा लक्ष्मीसिंह त्यसै जिल्लाका बडाहाकिम थिए।

स्वारको प्रारम्भिक शिक्षा आफ्नै गाउँमा भएको थियो। अनि उनी १५ वर्षकै उमेरमा जागीर खाने मनसायमा बाँधिएका थिए। परिणामस्वरुप १६ वर्षको उमेरमा उनी नयाँ मुलुक अर्थात् बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको बनजड्गल हेर्ने लप्टन भएका थिए । त्यसै फेरोमा उनका बुबाले ठेक्कापट्टाको काममा केही ढिला गरेको बेहोराले त्यस परिवारमाथि बज्रपात भएको थियो। कुरा के भने छापा मारेर राणाका सेनाले उनका घरमा २२ वटा बन्दुक फेला पारेका थिए। त्यसै बिगोमा यिनका सबै दाजुभाइलाई समातियो। तर स्वारले चाहिं भाग्ने मौका पाए र उनी भागेर भारततिर लागे। लप्टन भएको दुई वर्षपछि उनले देश छोड्नु परेको थियो।

स्वारको घर राणा सरकारबाट पटकपटक घेराबन्दी भैरह्यो । जम्मा जम्मी ७ पटकसम्म नै उनको घरमा राणाले साँचो ठोकेका थिए । त्यति बेलै उनको घर सर्वस्व हरणमा पनि परेको थियो।

भारतमा स्वारले धेरै कष्ट खेपे । तर सिघाँई पुगेपछि त्यहाँकी रानीले यिनलाइै खुबै राम्रो गरिन् । किनभने ती रानी पनि अछामे थिइन् । तर यिनलाई रानीकै दरबारमा घ्याक पसारेर बसिरहन मन लागेन । अनि दुक्ख कष्ट खेप्तै यी कामको खोजीमा अन्यत्रै हान्निएका थिए।

त्यसैबीच स्वारले भोकतीर्खै बम्वैदेखि बनारससम्मको परिक्रमा गरिसकेका थिए । अनि उनी बडौदासम्म पनि पुगे । त्यहाँ चाहिं यिनले हस्तकला तथा सिलाई बुनाईको काम पनि पाए । त्यहाँ त्यही सीप सिकेर उनी बसे । त्यही ठाउँमा उनले हस्तकला तथा सिलाई बुनाई विषयक प्रमाणपत्र पनि पाएका थिए । भारत बसेकै बेला सिघाँई रानीको पहलमा डोटीकी सिंह बमकी छोरी मनोरममा कुमारीसँग यिनको बैबाहिक सम्बन्ध कायम भएको पनि थियो।

स्वारले भारतमै बसेका बेला विभिन्न भाषा सिके । उनले नेपाली र संस्कृत लेख्न चाहिं नेपाल मै जानेका थिए । त्यहाँ पुगेर उनले उर्दू, फारसी, गुजराती, मराठी, ब्रज आदि भाषाको ज्ञान आर्जन गरेका थिए । त्यसै कालखण्डमा उनले केही साहित्यिक रचना पनि गरे।

१९६५ सालको कुरा हो, त्यतिबेला श्री ३ चन्द्रशमशेर बेलायत जानेक्रममा नेपालबाट बम्बै पुगेका थिए । त्यसबेला ३० वर्षीय स्वारले आफ्नो सीपका अनेक प्रसङ्ग गाभेर राणालाई आफूप्रति अन्याय भएको बिन्ती बिसाएका थिए । अनि त्यसैबेला उनले राणाबाट नेपाल फर्कने हुकुम पाए । निर्वासित भएको १३ वर्षपछि उनी नेपाल आएका थिए।

श्री ३ बेलायतबाट नेपाल फर्के लगत्तै स्वारले जागीर पाए। त्यसबेला यिनलाई बार्षिक ५०० रुपियाँ तलब दिएर जेलको हाकिम अर्थात् नायब डिट्ठा बनाइएको थियो । उनी जेलको हाकिम भएपछि उनले केन्द्रीय कारागारको पुनः निर्माण गरे र कारगारलाई पूर्ण व्यवस्थित गर्न थाले । साथै त्यसैबेला उनले जेलका कैदीहरुबारे बृहत् अध्ययन गरे । सरकारले दिने सिधाका अतिरिक्त उनीहरुको थप आयआर्जनबारे उनले सोच्न पनि थाले । परिणमस्वरुप उनले बडौदामा सिकेको इलम नै जेलमा पनि प्रवेश गराएका थिए।

चन्द्रशमशेरका कार्यकालमा जेलभित्रै कैदीहरुलाई इलम सिकाउनु भनेको त्यति सजिलो थिएन । राणाले रैतीहरुलाई जति दुक्ख दियो त्यति टिक्न सक्छौं भन्ने बेलामा स्वारले जनताको जीवनस्तर उकास्ने क्रान्तिकारी अभियान नै चलाएका थिए । उनकै बलबुतामा जेलका कैदीले काम सिक्न थाले र आय आर्जन गर्न पनि थाले । अनि जेलबाहिर रहँदा पनि उनीहरुले त्यही इलम गर्न थाल्ने भए । जेलमा पहिलो कारखाना उनैले निर्माण गरेका थिए । यिनले ९ वर्षसम्म जेलरको जागिर खाए । त्यसैबेला उनले हरण भएको आफ्नोे घरजग्गा पनि उकासेका थिए।

त्यसैबखत एउटा कैदीले सवारका विरोधमा राणा समक्ष उजुर गरे । त्यो उजूरले उनी जेलका हाकिमबाट जड्गी अदालतका हाकिममा सरुवा भए । अदालत पुगेपछि त्यहाँका एकजना कैदी भागेका थिए । ती कैदीलाई उनले भगाएको बात लाग्यो । अनि उनको जागीर नै हरण भयोे र उनी जेलखाना पनि परे । त्यतिबेला उनलाई जेलर भएर रकम हिनामिना गरेको थप आरोप पनि लागेको थियो।

स्वार दुई पल्ट जेल परेका थिए । अर्को पल्ट जेल पर्नुको कारण चाहिं उनी कसैको जवानी बसे बापतको थियो । ऋणीले पैसा नतिरी भागेपछि जवानी बस्नेलाई थुन्नु भन्ने आदेशले उनी थुनिएका थिए । त्यो सुइँको भेटेर उनी भागेका थिए र भागेर नैनीताल पुगे । केही वर्षसम्म त्यतै बसेर कतिञ्जेल भाग्ने भनेर फेरी उनी नेपाल पसे र खोरमा थुनिए । दुई पल्टको जेल बसाइँमा यिनले धेरे लेखरचनाहरुको निर्माण पनि गरे।

स्वार साँस्कृतिक महत्वका काममा विशेष रुचि राख्थे। त्यसैले उनले चाहे गाउँबाट होस् र चाहे जेलबाट होस् एतिहासिक महत्वका जति कागजात फेला पार्थे बाबुराम आचार्यलाई दिने गर्थे । किनभने आचार्य उनका प्रिय साथी थिए।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि स्वारको महत्वपूर्ण भूमिका पाइन्छ । खास गरेर उनले नाटक विधालाई हरियाली पारे । त्यसैले उनले मौलिक नाटक लेख्ने प्रथम नाटककारका रुपमा आफ्नो नाउँ अड्कित गरे । उनले ४ वटा कविता कृति लेखे, ६ वटा नाटक कृति लेखे । उनको चर्चित कृतिको नाउँ ‘अटलबहादुर’ नाटक हो । ‘अटलबहादुर’ पहिलो मौलिक वियोगान्त नाटक पनि हो । यो नाटक उनले प्रवासमा नै लेखेका थिए । कविता, निबन्ध, नाटक, उपन्यास र अनुवाद गरेर उनले जम्मा २६ वटा कृति लेखे । उनका अरु अनेक पाण्डुलिपी पनि हुन सक्ने अन्वेषकहरुको राय छ । उनको कार्यको प्रसंशा गरेर इतिहास शिरोमणि बाबुराम आचार्र्यले यिनलाई त्यसैबेला उच्चस्तरीय र धैर्यशाली स्रष्टा भनेर लिखित घोषणा पनि गरेका थिए।

कैलालीमा आफैले बस्ती बसाएको ठाउँ पहलमानपुरमा बसेका बेला स्वारलाई औलाको ज्वरोले समात्योे । मृत्युको ७ दिन अघि उनले स्थानीय गरीबदास थारुलाई भनेका थिए ‘मलाई आँपको बोट मुनी लगेर सुताउनु र दाह संस्कारका लागि भानिजका छोरा पहलध्वज बमलाई बोलाउनु ।’ अनि उनी १९९१ साल जेठ ७ गते ५६ बर्षमा स्वर्गीय भए।
nai.com.np@gmail.com

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by