एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २१ मंसिर । त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले १४ अञ्चल सम्मेलन समारोह समितिको गठन गरेको छ।
अञ्चल सम्मेलनका अध्यक्षमध्ये मेचीमा भवानी क्षेत्री, कोसीमा राधिका गुरागाईं, सगरमाथामा आस्था कोपिला राई, जनकपुरमा पुनम झा, बाग्मतीमा अनिता तुलाधर, नारायणीमा गायत्री श्रेष्ठ, गण्डकीमा सरस्वती प्रतीक्षा, लुम्बिनीमा कृष्णादेवी शर्मा श्रेष्ठ, धवलागिरीमा रेखा कौशल रेग्मी, राप्तीमा गायत्री घर्ती मगर, भेरीमा किरण आचार्य, सेतीमा श्रेष्ठ प्रिया पत्थर र महाकालीमा नारा जोशी मनोनीत भएका छन्।
केन्द्रीय समितिको सहमतिमा अञ्चल सम्मेलनका अध्यक्षबाट आआफ्ना अञ्चलमा कार्यसमितिको गठन हुने भएको छ। साथै अञ्चल सम्मेलनबाट जिल्ला सम्मेलनहरूको पनि क्रमशः गठन हुनेछ। न्युनतम एउटा कृति प्रकाशित भएका स्रष्टाहरु मात्र अञ्चल तथा जिल्ला सम्मेलनका पदाधिकारी हुन सक्ने छन्।
विश्व नारी नेपाली साहित्य सम्मेलन २०७० सम्पन्न भएपछि केन्द्रीय, अञ्चल र जिल्ला समितिहरु क्रियाशील भइरहने पनि बैठकले निर्णय गरेको छ।
कर्णाली अञ्चलमा हाल स्मृति अधिकारीलाई अञ्चल प्रतिनिधिका रूपमा मनोनयन गरिएको छ।
बैठकले विश्व नारी नेपाली साहित्य सम्मेलनका उपाध्यक्षद्वय प्रा.डा. उषा ठाकुरलाई परामर्श समिति र उषा शेरचनलाई सङ्गठन परिचालन समितिको संयोजकको जिम्मा दिएको छ।
त्यस अवसरमा विश्व नारी नेपाली साहित्य सम्मेलनको तर्फबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गीता खत्री, नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक सुरेशजङ्ग शाह, ओमानबाट नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका प्रवासी आवाजका सम्पादक तथा प्रवासी महिला सङ्घका अध्यक्ष मुना नेपाल श्रेष्ठ र कलाकार, साहित्यकार तथा खेलाडी भगवती खड्का ुयुनिकाुलाई सम्मान गरिएको छ। त्रिमूर्ति निकेतनको अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक सत्यमोहन जोशीले उनीहरुलाई सम्मान गरेका हुन्।
त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समितिका अध्यक्ष प्रा.डा.गार्गी शर्माको अध्यक्षतामा सम्मेलनको बैठक बसेको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b