एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २१ मंसिर । शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले उम्मेदवार घोषणा गर्दैमा नेपाली काग्रेसले सहमतिको सरकारको नेतृत्व नपाउने स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनमा आयोगमा दर्ता भएका सबै १ सय ११ राजनीतिक दलहरुलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अधिकार भएको भन्दै घोषणा गर्दैमा कसैले पनि पाई नहाल्ने बताए।
साक्षात्कारमा मन्त्री रायमाझीले भने–बाबुराम भट्टराईलाई किन नमान्ने र सुशिल कोइरालालाई किन मान्नु पर्ने कारण चाहियो त्यसै नेतृत्व हस्तान्तरण हुँदैन। उनले राजनीतिक गतिरोध अन्त्य गर्ने गरी सबै विषयहरुमा प्याकेजमै सहमति नभए कोइराला आफूहरुलाई स्वीकार्य हुने स्पष्ट पार्दै अन्यथा विना सहमति प्रधानमन्त्रीले कुनै पनि हालतमा सरकार नछाड्ने दावी गरे।
सहमतिको लागि पहिला निर्वाचनको प्रक्रिया, मिति, क्षेत्र, संख्या, संबैधानिक अवरोधसहित सबै विषयमा प्याकेजमै सहमति हुनु पर्ने र त्यसपछि काग्रेस सभापति प्रधानमन्त्री बन्ने कारण र बाबुराम भट्टराईको नेतृत्वमा सहमति नबन्ने कारण स्पष्ट हुने पर्ने उनको तर्क थियो।
मन्त्री रायमाझीले जसले निर्वाचनको घोषणा गर्छ उसकैको नेतृत्वमा निर्वाचन हुने अन्तर्राष्ट्रिय प्रचलन रहेको उल्लेख गर्दै अहिले प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा सहमति बन्नु सबै भन्दा उपयुक्त हुने तर्क गरे।
साक्षात्कारमा नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्र बडुले संविधानसभामा मिल्न नसकेका विवादित विषय अगाडि सारेर एमाओवादी र मधेसबादीहरुले निर्वाचन नगराई सत्ता लम्ब्याउने षडयन्त्र थालेको आरोप लगाए।
उनले विवादित विषय अहिले नै टुङ्ग्याउने हो भने संविधानसभाको निर्वाचनमा जानुको अर्थ नभएको भन्दै सत्तारुढ दलले नयाँ षडयन्त्र सुरु गरेको दावी गरे।
सहमतिको सरकार निर्माण गरेर निर्वाचनमा जाने सहमति भईसकेको अवस्थामा अब निर्वाचन विधी, क्षेत्र, संख्यामा सहमति गरेर सहमतिको सरकारले विशेष प्रस्ताव पारित गरेर धारा १५८ को प्रयोग गरि राष्ट्रपतिबाट बाधाअडकाउन फुकाएर निर्वाचनमा जानु नै अहिलेको निकासको एकमात्र विकल्प भएको प्रवक्ता बडुको तर्क थियो।
काग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा सहमति भईसकेको अवस्थामा नयाँ उम्मेदवार प्रस्तुत गर्नु सत्ता लम्ब्याउने षडयन्त्रमात्र भएको उनको ठोकुवा थियो।
नेकपा एमालेका प्रचार विभाग प्रमुख दलहरु सहमतिको नजिक पुगेको अवस्थामा एमाओवादीबाट नयाँ सर्त आउनु सत्ता लम्ब्याउने खेलमात्र भएको दावी गरे। उनले मंसिर भित्र निर्वाचनको लागि सबै प्रवन्ध मिलाउन नसके यो वर्ष निर्वाचन हुन नसक्ने दावी गर्दै एकपछि अर्को सर्त थप्नु सत्ता लम्ब्याउने र निर्वाचन नगर्ने षडयन्त्र भएको आरोप लगाए।
बैशाखमा निर्वाचन गर्न संबैधानिक बाधा अडकाउन फुकाउनु पर्ने, निर्वाचनको लागि आवश्यक क्षेत्र, संख्या र विधी मिलाउनु पर्ने र संविधानसभाले गरेको कुराहरुलाई संरक्षण गर्न सहमति गर्नु पर्ने बेलामा अनेक किसिमका बखेडा झिकेको भन्दै ज्ञावलीले सहमतिबाट निकास नहुने भए आन्दोलनको विकल्प आफूहरुसँग नहुने स्पष्ट पारे।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादवले ठूला दलहरुले नसके मुलुकलाई निकास दिन मधेसी मोर्चा तयार रहेको भन्दै मोर्चालाई नेतृत्व दिन आब्हान गरे। उनले मोर्चाको तर्फबाट सबैभन्दा ठूलो पार्टीको हैसियतले आफ्ना पार्टीका अध्यक्ष विजयकुमार गच्छदार तयार रहेको भन्दै मोर्चामा नेतृत्वको अभाव नरहेको स्पष्ट पारे।
उनले भने–एमाओवादीले काग्रेसलाई र काग्रेसले एमाओवादीलाई नस्विकारेको अवस्थामा निकासको लागि मोर्चालाई नेतृत्व छाडि दिनु पर्छ । मोर्चाले निकास दिन्छ । यद्यपि उनले निकासको लागि प्याकेजमै सहमति भए नेतृत्वको कुरा ठूलो नभएको भन्दै अहिले सरकार भन्दा पनि मुलुक र जनताको हित हेर्नु पर्ने बेला भएको बताए।
यादवले निर्वाचन क्षेत्र निर्धारण, ऐन नियमको संसोधन सहित राज्य पुनःसंरचनामा आयोगले दिएको प्रतिवेदनलाई समेत स्वीकार्नु पर्ने दावी गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b