गंगा आले /एचकेनेपाल डट कम-
लण्डन । बेलायतको मौषम चिसिंदै गएपनि गोर्खा आन्दोलनलाई नयां उर्जा थप्न ववी वासन ह्युमन राइट्स गोर्खा प्रोजेक्ट साउथइष्ट लण्डनले एक कार्यक्रमको आयोजना गर्यो।
शनिबार विलविचस्थित लण्डन कलेज अफ इञ्जिनियरीङ एण्ड म्यानेजमेण्टमा सम्पन्न कार्यक्रममा ग्रिनवीच क्षेत्रका बृद्ध गोर्खा तथा तिनका परिवारहरुको बाक्लो सहभागीता थियो। कार्यक्रममा मन्तव्य दिंदै ववी वासनले गोर्खाहरुले जसरी पनि अधिकार प्राप्त गर्ने जनाइन्। गोर्खाहरुकै बहादुरीका कारण बेलायतको शाख बढेको बताउंदै उनले गोर्खाहरुलाई नागरिकताको अधिकार दिलाउन आफू लागिपर्ने बताइन्। गोरा सरह समान अधिकार, पेन्सन र १८ बर्ष उमेर पुगेका छोराछोरीहरुलाई बेलायत झिकाउन प्राजेक्टले आन्दोलन छेडेको उनको भनाइ थियो। क्रिशमस लगत्तै थप शसक्त रुपमा अगाडी बढ्ने मानसकितामा रहन उनले गोर्खालीहरुलाई आग्रह समेत गरिन्।
समाजका अध्यक्षदिल बहादुर थापा (एम एम)को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख सल्लाहकार कृष्ण आलेले गोर्खालीहरु एकजुट भएर अघि बढे गोर्खा आन्दोलनले सफलता हासिल गर्ने बताए। नन पेन्सनरले उठाएको मुद्धा भएपनि पेन्सनरहरुको बाक्लो उपस्थितिले मानवअधिकारको यस आन्दोलनलाई थप उत्साह दिएको उनले उल्लेख गरे। यो आन्दोलन पेन्सनको लागिमात्र होइन, आलेले भने ‘नेपालमा भएका हाम्रा बालबच्चालाई बेलायत झिकाउन र गोरा सरह अधिकार प्राप्तिको लागि पनि हो।’
सो अवसरमा समाजका सचिव केश आलेले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए। उनले संगठनको सुदृढीकरण र गोर्खा आन्दोलनलाई थप शसक्त बनाउन कार्यसमितिका सबै सदस्यहरुको महत्वपूर्ण योगदान रहेको समेत बताए।
करीब २ महिना अघिमात्रै गठन भएको सो समाजको आर्थिक प्रतिवेदन कोषाध्यक्ष डम्मर गुरुङले प्रस्तुत गरेका थिए। आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गुरुङले जन्मदै गरेको समाजलाई सहयोग गर्नेप्रति आभार प्रकट गरे।
समाजकी अगुवा कार्यकर्ता गंगा आलेको सञ्चालनमा भएको सो कार्यक्रममा गोर्खा आन्दोलनलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनेहरुलाई सम्मान गरीएको थियो। त्यस्तै ग्रिनवीच क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै आएका स्थानीय श्याम शेरचनलाई पनि सम्मान गरिएको थियो।
यसैबीच समाजले गोर्खा बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने विभिन्न सहयोग समेत गर्ने बताएको छ। जिपी, काउन्सील, अस्पताल लगायतका स्थानमा जांदा बृद्धबृद्धाहरुलाई भाषाको समस्या हुने भएकोले उनीहलाई सहयोग गर्ने समाजले जनाएको हो। यसका लागि समाजका युवायुवतीहरुले भोलिन्टियरको रुपमा सहयोग गर्नेछन्। बृद्धबृद्धाहरुलाई भाषाको ठूलो समस्या भएकोले उनीहरुलाई सहयोग गर्न हामीले विशेष कार्यतालीका बनाएका छौं, समाजका सचिव केश आलेले भने, ‘आवश्यक सल्लाह र दोभासेको भूमिका निर्वाह गर्न हामीसंग धेरै युवायुवतीहरुले अभिरुचि देखाएका छन्।’ भाषाकै कारण अस्पताल तथा जिपीमा आफ्नो समस्या राख्न र औषधी सेवन गर्नपनि बृद्धबृद्धाहरुलाई समस्या पर्ने गरेको उनले उल्लेख गरे।
सल्लाहकार कृष्ण आलेले बालबच्चा नेपाल भएका बृद्धबृद्धाहरुको समस्या ज्यादै विकराल भएको उल्लेख गर्दै आवश्यक सल्लाहका लागि समितिमा सम्पर्क गर्न आग्रह गरे। कार्यक्रममा समाजका अध्यक्ष थापाले सहभागीहरुप्रति आभार प्रकट गर्दै उनीहरुलाई धन्यबाद दिएका थिए।
गोर्खालीहरुको समस्या समाधानका लागि गठन भएको यो पछिल्लो गोर्खा संगठनले गोर्खालीहरुलाई केहि हौसला दिएको कार्यक्रमका सहभागीहरुले बताएका थिए। विसौं बर्ष अघिदेखि स्थापना भएका गोर्खा संगठनहरु केही अधिकार प्राप्त गर्न सक्षम भएपनि छोटो अवधिमा ववी वासन मानवअधिकार गोर्खा प्रोजेक्टले ठोस योजना अघि सारेको उनीहरुको भनाई थियो। अदालती प्रकृया र वीरगति प्राप्त पूर्व गोर्खालीहरुको काजकिरीयामा नै केही गोर्खाली संगठन कठ्याङ्ग्रिएको उनीहरुले दावी गरे। ग्रिनवीच क्षेत्रबाट भेला भएका गोर्खाहरुले कार्यक्रमको अन्त्यमा खुशीको नाच प्रस्तुत गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b