सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १७ मंसिर। देशमा संघीयता सवालसंगै अहिले युवा पुस्ताहरु पनि आफ्नो संस्कृति जोगाउन आकर्षित हुन थालेका छन्। पछिल्लो समयमा धरानका मगर युवाहरुले आफ्नो संस्कृति जोगाउन कम्मर कसेर लागेका छन्।
उनीहरु अहिले आफ्नो जातिय नृत्य हुर्रा नाचको लोप हुदै गएको भन्दै यसलाई बचाइराख्न लागि परेका छन्। विशेष गरि तिहारको समापन उनीहरु सामुहिक रुपमा हुर्रा नाचेर गर्ने गरेका छन्। तिहारसंगै माघे संक्रान्ति तथा आफ्नो शुभ कार्यहरुमा हुर्रा नाच प्रस्तुत गर्ने गर्दछन्।
हुर्रा नाचको जगेर्ना गर्ने उद्देश्यले नेपाल मगर संघ धरान नगरसमितिले आसपासका जिल्ला वा गाविसमा बसोबास गर्ने मगरजातिहरुलाई एकै स्थानमा जमघट पारेर हुर्रा नाच धरानको सदन स्कुलको प्रांगरणमा गर्र्दै आइरहेका छन्।
विशेष गरी मगर जातिको चाडवाड, विहे, पूजाआजामा प्रयोग गरिने यो हुर्रा नाचको संरक्षणमा पूर्वाञ्चलका सम्पूर्ण मगर जातिहरु लागि परेका छन्।
प्रत्येक बर्ष गरिने यो हुर्रा पर्व युवा पुस्ताले विर्सदै गएको बताउदै अध्यक्ष मगरले पूर्वकै पर्यटकीय स्थलको रुपमा परिचित धरानमा अझ सबैले यसलाई विर्सदै गएको बताए।
मगरले पूर्व र पश्चिमको हुर्रा नाच बेग्लाबेग्लै हुने गरेको बताउदै यस प्रकारको हुर्रा नाचले भने पूर्वाञ्चललाई समेट्ने हुनाले पूर्वको धनकुटा, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा लगायतका जिल्लामा बसोबास गर्ने मगर जातिहरु बर्षमा एकपटक धरानको सदनसभा हलमा बसेर अप्रतियोगितात्मक हुर्रा नाच सञ्चालन गर्दै आएको समेत जानकारी दिए।
युवा पुस्ताले आफ्नो संस्कृतिलाई भुल्न नहुने सन्देश दिनका लागि हुर्रा नाचमा प्रत्येक बर्ष आफू सहभागी हुदै आएको युवा राम मगरले बताए।
उनले मगर जातिको परम्परागत सांस्कृतिक नाच भावी पुस्तालाई हस्तान्तरण गर्न तथा यसको संरक्षण गर्न प्रत्येक बर्ष यसरी गर्दै आएको समेत जानकारी दिए।
यस्तै हुर्रा संरक्षणमा विगतदेखि नै लाग्दै आएकी धरान १५ की एलिना मगरको भनाई पनि उस्तै रहेको छ। उनले पनि युवायुवतीमा आधुनिक गीत, रक गीत, पप गीतमा बढी आकर्षित हुदै जादा मगर जातिको हुर्रा नाच लोप हुन हुन नदिन युवा पुस्ताले यसलाई संरक्षण गर्नुपर्ने बताइन्। मगर जातिको हुर्रा नाच सबैभन्दा पुरानो र सांस्कृतिक नाच हो। हरेक चाडपर्वलगायतका मनोरञ्जनात्मक कार्यक्रमहरुमा यस नाचको प्रचलन आएमा पनि युवा पुस्ताले विर्सदै गएकोमा भने उनीहरु चिन्तित बनेका छन्। यसरी आफ्नो संस्कृतिलाई जोगाउन युवा पुस्ता नै लागेपछि यसको संरक्षण हुनेमा स्वयम् मगर जातिहरु समेत विश्वस्त देखिन्छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b