एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिको बाधक प्रधानमन्त्री डा बाबुराम भट्टराई भएकोले उनले पद नछाडेसम्म कुनै सहमति बन्न नसक्ने स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लबले बुधवारबाट सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’ अभियान अन्र्तगतको विशेष साक्षात्कारमा उनले भने–अहिले सहमतिको बाधक सरकार नै हो। बाबुराम भट्टराई प्रधानमन्त्रीबाट नहटेसम्म सहमति सम्भव छैन। मुलुक मुडभेडमा जान्छ त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्छ।
कुराकानीमा अध्यक्ष खनालले बाहिर हल्ला गरिए जस्तो प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गर्दै सरकार परिवर्तन नभएसम्म केही पनि नहुने स्पष्ट पारे। उनले भने–म फेरि पनि भन्छु बाबुराम भट्टराईको नेतृत्वमा सहमति हुनै सक्दैन, फेरि पनि हुँदैन, फेरि पनि हुन सक्दैन।
उनले यो सरकारले नछाडेसम्म आफूहरुले भावी सरकारको नेतृत्वको नाम नदिने भन्दै सरकारले छाडेपछि साझा नाम तत्कालै दिईने बताए।
राष्ट्रपतिले दिएको समयभित्रै सहमति जुटाउन आफूले सक्दो प्रयास गरेको र माओवादीसहित सबै दलका नेताहरुलाई टेलिफोन गरिरहेको जानकारी दिदै त्यति गर्दा समेत माओवादीले वार्ताको लागि कुनै प्रयत्न नगरेर सहमति हुन नदिने मनस्थिति बनाएको आरोप लगाए।
पछिल्लो समयमा राष्ट्रपतिले समेत प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बने सुनमा सुगन्ध हुन्छ भनेर भनेको र भारतीय नेताको नेपाल भ्रमणको अन्र्तसम्बधको विषयमा राखिएको जिज्ञासामा अध्यक्ष खनालले भने–कुनै देशका नेता आउँदैमा यहाँका नेताहरुले बोली फेर्छन् भने ती नेताहरुबाट अब केही हुन सक्दैन।
राष्ट्रपतिको आब्हान नमानेर असम्बैधानिक भन्दै हिड्ने सरकार आफै असम्बैधानिक भएको भन्दै उनले माओवादी र मधेसी मोर्चा सहमतिको बाधक भएको बताए।
मुलुकको अहिलेको प्रमुख बाधक भनेकै एमाओवादीको सर्वसत्ताबाद भएको भन्दै यो रहेसम्म मुलुकमा निकास र प्रगति असम्भव रहेको उनको विश्लेषण थियो।
अहिलेको प्रमुख लक्ष्य संविधान निर्माण भएको भन्दै एमाओवादीले नै संविधान जारी गर्न नमानेकोले मुलुक दिशाहिन बनेको आरोप लगाए। उनले भने–एमालेको कुन गल्तीको कारण संविधान बन्न नसकेकोले हो। कसैले भन्न सक्छ। संविधान बन्न नसक्नुको कारण एमाओवादी र मधेसी मोर्चा नै हो भन्ने प्रष्ट नै छ नि।
संविधान बनाउने भन्ने कुरा अहिले सहमतिको सरकार बनाउने कि नबनाउने भन्ने विषयसँग गासिएको उल्लेख गर्दै खनालले सहमतिको सरकार नबनाउने हो भने मोर्चा र माओवादी नै संविधान निर्माणको विरोधी भएको प्रष्ट हुने दावी गरे।
सहमतिको विकल्प अझै पनि नभएको स्पष्ट पार्दै उनले सहमति कायम गराउनै एमालेले नेतृत्वको दावी नगरेको स्पष्ट समेत सो अवसरमा पारेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b