एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १५ मंसिर । नेपालका लागि चिनियाँ राजदूत याङ होउलानले नेपालको पछिल्लो अवस्थाको विषयमा चीन र भारतको समान धारणा रहेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले नेपालको पछिल्लो अवस्थाको विषयमा नयाँ दिल्ली र बेईजिङवीच परामर्श जारी रहेको जानकारी दिदै आफ्नो र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादसँग पनि बारम्बार कुरा भइरहेको स्पष्ट पारे।
साक्षात्कारमा होउलानले नेपालमा राजनीतिक र सामाजिक स्थायीत्व चीन र भारत दुबैको लागि हितकर हुने भन्दै नेपालको विकास चीन र भारतको चाहना भएको बताए।
भारत र चीनवीचको सम्बन्ध पनि राम्रो रहेको उल्लेख गर्दै उनले दुबै मुलुक एक अर्काको सहयोगमा विश्वास गर्ने भएकोले कुन मुलुकले कुन मुलुकलाई नियन्त्रण गर्ने भन्ने विषयमा चीनले विश्वास नगर्ने स्पष्ट पारे।
नेपालको वर्तमान अवस्थाले छिटो निकास पाउनेमा चीन आशावादी भएको भन्दै उनले नेपालको पछिल्लो राजनीतिक अवस्था जटिल भए पनि त्यसलाई नेपाली जनताले समाधान गर्ने विश्वास ब्यक्त गरे।
नेपालको राष्ट्रपति र प्रधानमन्त्रीवीच द्धन्द्ध भनिए पनि जटिल रुपमा भएको आफूले नलिएको भन्दै सम्बादको प्रक्रियाबाट द्वन्द्धको हल हुने बताए।
चीन १९७० को दशकमा नेपालको अहिलेको जस्तै अवस्थाबाट गुज्रिसकेकोले नेपालको पछिल्लो अवस्थाको विषयमा चिनको सहानुभूति रहेको स्पष्ट पार्दै राजदूत होउलेनले नेपालको राजनीतिक स्थायीत्वको लागि चीनले सहयोग गरे पनि कसरी गर्ने र कस्ले गर्ने भन्ने कुराको निधो नेपाली जनताले नै गर्नु पर्ने धारणा राखे।
चीनले राजनीतिक अस्थिरतालाई साँस्कृतिक क्रान्तिपछि सामाजिक र आर्थिक विकासमा आफूलाई केन्द्रीत गरेकोले अहिलेको उपलब्धि हासिल गरेको उल्लेख गर्दै नेपाल पनि आर्थिक र सामाजिक विकासमा केन्द्रीत हुनु पर्ने सुझाव दिए।
नेपाल र चिनवीचको ऐतिहासिक सम्बन्ध नयाँ सम्बन्धको धरातल भएको बताउँदै उनले चीन नेपाल र चीन दुबै थरी सुरक्षा विकास र र स्थीरता होस भन्ने चाहनामा रहेको बताए।
केही शक्तिहरुले चिनको स्थीरतामा असर पार्न तिब्बती मुद्दा उठाईरहेको दावी गर्दै यसले नेपाललाई समेत दवावमा पारेको बताए। यद्यपि उनले नेपालले लिएको एक चीन नीति सन्तुष्टि ब्यक्त गर्दै दुबै मुलुक मिलेर समस्या को समाधान गर्नु पर्ने धारणा राखे।
चीनमा आएको नयाँ नेतृत्वले विश्वको आर्थिक विकास सँगसँगै पर्यावरणीय र शान्ति स्थापनामा केन्द्रीत हुने विश्वास ब्यक्त गर्दै यो दशकको अन्त्य सम्ममा समृद्ध सवल, प्रजातान्त्रिक र सभ्य आधुनिक सामाजिक मुलुकको हिसावमा चीनलाई अघि बढाउने बताए।
चीनको नयाँ नेतृत्वले पनि अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिलाई नै निरन्तरता दिने भन्दै होउलानले नेपालप्रतिको नीतिलाई निरन्तरता दिने जानकारी दिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b