शिव भण्डारी /एचकेनेपाल डट कम –
लन्डन । विश्व अपाङ्ग दिवसको अवसर पारेर गुल्मी जिल्ला समाज युकेले विगत वर्ष जस्तै यसपटक पनि आगामी २ डिसेम्बर, २०१२ आइतबार एक च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ।
नेपालमा निरस जीवन बांचिरहेका अपाङ्गहरुको आत्मबल वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले सो कार्यक्रम तय गरिएको हो। कार्यक्रम हलबर्न कम्युनिटी हल, लन्डनमा दिउसो एक बजेदेखि शुरु हुनेछ। कार्यक्रमबाट संकलित रकम आशा अपाङ्ग केन्द्र तम्घासलाई हस्तान्तरण गरिने समाजले जनाएको छ।
स्मरण रहोस्, गत वर्ष यही अवसरमा समाजले च्यारिटी डिनर गरि करीब १६ लाख रुपैंया संकलन गरेको थियो। सो रकमबाट गुल्मी तम्घासस्थित आशा अपाङ्ग केन्द्रलाई एउटा एम्बुलेन्स् तथा त्यहांका अपाङ्गहरुको आत्मनिर्भरताका लागि सिलाई, कम्प्युटर र मोवाइल रिपेयर तालिम, च्याउ खेती, निशुल्क शिक्षा तथा आशा अपाङ्ग भवन निर्माण सम्पन्न गर्न खर्च गरिएको छ। यसअघि समाजले अपाङ्गहरुकै सहयोगका लागि ५ लाख रुपैंया समेत प्रदान गरेको थियो।
‘सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ सम्पन्न हुने उक्त कार्यक्रमको उद्घाटन अध्यक्ष ओमप्रसाद थापाले गर्नेछन्। कार्यक्रम सफल बनाउन व्यवस्थापन समितिमा उपाध्यक्षव्दय मोती भण्डारी र दुर्गा पाण्डे, महासचिव अर्जुन गौतम, सचिव विनोद ज्ञवाली, कोषाध्यक्ष विन भुजेल र एडमिन सेक्रेटरी ओम बुढाथोकी छन् भने च्यारिटी डिनरको संयोजकमा समाजका सल्लाहकारव्दय फत्त थापा, दासु पाण्डे तथा मिडिया सेक्रेटरी शिव भण्डारी छन्।
समितिले समाजका सम्पूर्ण कार्यसमिति सदस्यहरु, तिनका परिवार, आजीवन सदस्यहरु, सल्लाहकार तथा बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई सहभागी भई अपाङ्गहरुको आत्मबल जगाउने काममा सरिक भइदिन आग्रह गरेको छ। साथै अघिल्लो वर्ष स्वतस्फूर्तः प्रायोजन गरि सहयोग गरिदिने समस्त व्यवसायी, संघसंस्था, कलाकार, मिडियाप्रति आभार व्यक्त गर्दै यसपटक पनि सहयोग प्राप्त हुने अपेक्षा गरेको छ। सो कार्यक्रममा बेलायतको प्रथम नौमती बाजाको धुनमा लोक दोहोरी तथा डिजे प्रस्तुती हुनेछ। साथमा नेपाली स्वादिष्ट खानाको समेत व्यवस्था गरिएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b