Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

भूमिराज राईको ‘मोसन’ सार्वजनिक

सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
काठमाडौं, १० मंसिर। गायक भूमिराज राईले तेस्रो गीति संग्रह ‘मोसन’ स्रोतामा माझ ल्याएका छन् । एल्बमको शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानले सार्वजनिक गरेका हुन्।

समारोहमा विशिष्ट अतिथिका रुपमा नेपाल रोयल्टी संकलनका समाजका कार्यबाहक अध्यक्ष सुरेश अधिकारी, अतिथिहरुमा गीतकार समाजका अध्यक्ष योगेन्द्रमणी दाहाल, पर्फाेमेन्स समाजका अध्यक्ष हेमन्त शर्मा, वरिष्ठ गजलकार ललिजन रावल, शसस्त्र प्रहरीका पुर्व महानीरिक्षक सनतकुमार बस्नेत, कवि मञ्जुल, डा. भोला रिजाल, संगीतकार महेश खड्का र ब्रिटिस सेनाका मेजर हितमान गुरुङ थिए। उपस्थित अतिथि तथा दर्शकलाई टिम ‘मोसन’का तर्फबाट गायिका श्रुति राज्यलक्ष्मी सिंहले स्वागत मन्तब्यबाट स्वागत गरेकी थिइन्।

समारोहमा अघिल्लो एल्बम् भेट भो मायाबाट संकलित रकम रु ५० हजारको चेक हेल्प नेपाल नेटवर्कको १० करोडको परोपरकारी कोषलाई प्रदान गरिएको थियो।

‘मोसन’मा राईले ११ वटा गीत समेटेका छन्, जसमा ९ वटा नयाँ र दुईटा गीत रिमेक गरिएका छन्। उनलाई मिलन अमात्य, श्रुति राज्य लक्ष्मी सिंह, धर्मेन्द्र सेवाङले गायनमा सघाएका छन्। संगीत न्हु बज्राचार्य, कल्याण सिंह, सचिन सिंह, बिबि अनुरागी, शीव संगम राई र बिजु बज्रले दिएका छन्।

सातवटा गीत निलम आङबुहाङ राईले लेखेकी छिन् भने एकएक वटा गीत शीवसंगम राई र भुपेन्द्र खड्काले लेखेका छन्। एल्बम्लाई अजम्बरी अडियो भिडियोले बजारमा ल्याएको हो। कार्यक्रममा एउटा गीत ‘मनभरी’को भिडियो पनि सार्वजनिक गरिएको थियो। भिडियोमा सुमन गैरे र सरित गीरीले अभिनय गरेका छन् भने निर्देशन सुरज श्रेष्ठले गरेका हुन्।

नेपाली सांगीतिक भूमिमा भूमिराज राईले ‘सृष्टि’ एल्बम् मार्फत २०५९ सालमै पाइला टेकिसकेका हुन्। त्यसैगरी २०६३ सालमा ‘दसी’ एल्बम् स्रोतामाझ ल्याएर सांगीतिक क्षेत्रमा थप शशक्त गायक भएर आए भने २०६७ सालमा ‘भेट भो माया’ एल्बम् ल्याएर संगीतप्रेमी स्रोतासँग भेट गरेका थिए।

नेपाली संगीतलाई निकै माया गर्ने उनी पनि आम नेपालीजस्तै जीवन चलाउनका लागि सहज बाटो खोज्दै २०५५ सालमा ब्रिटिस आर्मीमा भर्ति हुन पुगेका थिए। तर, उनी संगीतप्रेमबाट मुक्त हुन सकेनन्। अहिले पनि ब्रिटिस सेनामै कार्यरत उनी बिदाको समय संगीतको सामिप्य खोज्दै हिड्छन्। त्यसैका उपज हुन् यी कृति।

भूमिराजलाई हामीले शब्दको थुप्रोले राम्रा गायक भन्नुपर्ने आवश्यक्ता छैन। उनले आफ्नो क्षमता बिबिसीको ७५ औं वर्षगाँठको अवसरमा आयोजित संगीतलाई पेशाका रुपमा लिइनसकेका गायक गायिकाहरु मध्येबाट भविष्यका प्रतिभाशाली उत्कृष्ठ पाँचमा परेर देखाइसकेका छन्। यति मात्रै होइन उनको तेस्रो एल्बम् भेट भो मायाको गीतले १४ औं इमेज अवार्डमा उत्कृष्ठ लोक गीतका साथै पब्लिक च्वाइस अवार्ड प्राप्त गरिसकेको छ।

बहुप्रतिभाका धनी उनी जति मीठो गीत गाउँछन् त्यत्तिकै कुशलताका साथ कार्यक्रम पनि चलाउन सक्छन्। बिएफबिएस रेडियोमा कार्यक्रम सञ्चालन गरी सदाबहार कार्यक्रम प्रस्तोताको उपाधि नै पाइसकेका छन्। बिएएफबिएसकै लागि बटालियनको गतिबिधि सम्बन्धि समाचार वाचक तथा सम्पादकका रुपमा अफगानस्थानको युद्धभूमिबाट पनि काम गरिसकेका छन्। त्यसैगरी, युकेमा सञ्चालित नेपाली टिभीमा १२औं भागसम्म हेल्लो लन्डन कार्यक्रम प्रस्तुत गरिसकेका छन्।

उनी स्वरका धनी त हुँदै हुन्, मनका पनि त्यत्तिकै धनी छन्। बिकट जिल्ला खोटाङका दिप्सुग र सुग्देल गाबिसमा गएको बाढीपहिरोले उनको कमलो मन पनि भासियो। त्यसैले उनले त्यसका लागि आफ्नै अग्रसरतामा काठमाडौंमा कलाकारको घरदैलो कार्यक्रम गरेर सहयोग उठाए। खोटाङकै बिमानस्थल निर्माणका लागि सावन लाइभ कन्सर्टको आयोजन गरे। आफूले प्राथमिक शिक्षा आर्जन गरेको बिद्यालयलाई मावि बनाउन उनले महत्वपूर्ण भूमिका मात्रै खेलेका छैनन्, आफू हुर्केको घरको जग्गासमेत स्कुललाई निशुल्क हस्तान्तरण गरेको छन्।

जागीरे जीवनबाट जोगिएको समय संगीत र समाजसेवामा समर्पित गरिरहेका उनी विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर सक्रिय हुँदै आएका छन्। नेपाली साहित्य, संगीत र कलाको संरक्षणार्थ बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठान वेलायतका संस्थापक सदस्य तथा कोषाध्यक्ष पनि हुन्। उक्त संस्थाले यी तीन बिधामा एक जनालाई एक लाख रुपैयाँ पुरस्कार र एक जनालाई २० हजार रुपैयाँसम्मको थैलिसहितको सम्मान गर्दै आएको छ। त्यसैगरी खोटाङ प्रतिभा पुरस्कारको संस्थापक सदस्य पनि हुन् उनी। नेपाली संगीत बजारलाई विस्तार गर्नका लागि खोलिएको अजम्बरी अडियोभिडियो क्रियशनका प्रबन्धक निर्देशक र एक्स जी इन्टरटेन्मेन्टका संस्थापक प्रबन्धक पनि हुन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by