Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नागरिक समाजले ७ गते बृहत दवाव सभा गर्ने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ५ मंसिर । शान्ति, संविधान र निर्वाचनकोलागी दवाव दिन राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागी नागरिक आन्दोलनले आगामी मंसिर ७ गते बृहत नागरिक सभा गर्ने भएको छ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा अभियानले आगामी मंसिर ७ गते दिउसो २ बजे रत्नपार्कको शान्ति बाटीकामा बृहत नागरिक दवाव सभा गर्ने निर्णय गरेको जानकारी दिईयो।

कार्यक्रममा लोकतन्त्र जोखिममा रहेको र जनताका अधिकारहरु खोस्दै अधिनायकबाद हावी हुन खोजेको भन्दै नागरिक अगुवाहरुले शान्ति, संविधान र निर्वाचनकोलागी सरकारलाई दवाव दिन नागरिक दवाव अनिवार्य भएकोले दवाव सभा गर्न लागेको जानकारी दिए।

कार्यक्रममा बोल्दै नागरिक अगुवा एवम नेपाल बार एसोसीएसनका पूर्व अध्यक्ष शम्भु थापाले संविधानसभाको अवसानपछि बर्तमान सरकारको संबैधनिक आधार समाप्त भएको र सरकार जनताप्रति उत्तरदायी नहुँदा मुलुकमा लोकतन्त्र संकटमा परेको भन्दै नागरिक दवावको विकल्प नभएको दावी गरे।

उनले माओवादी सरकार बाहिर जाँदा समेत अरु दलले सहमतिमा फर्काएको स्मरण गर्दै सिंगो विपक्षी सडकमा जाँदा समेत सरकार एकलौटी ढंगले चल्न खोजेको आरोप लगाउँदै बर्तमान सरकारको बर्हिगमन र सहमतिको सरकार गठन गरेर संविधानसभाको निर्वाचन अहिलको आवश्यकता भएको बताए।

उनले जनताप्रति उत्तरदायी नभएको सरकारलाई बजेट ल्याउने अधिकार नभएको भन्दै सरकारले बजेट भ्रष्टाचार गर्नकोलागी ल्याएको दावी गरे। उनले भने–त्यसै त नेपाल भ्रष्टाचारको सूचिमा माथि छ । अब यस्तै रहे एक नम्बरमा पुग्छ।

मुलुक लोकतन्त्रबादी र अलोकतन्त्रबादी विचको द्धन्द्धको संघारमा रहेको भन्दै त्यस्तो अवस्था आए मुलुक ठूलो दुर्घटनामा जाने चेतावनी थापाले दिए। उनले लोकतन्त्र बचाउन र जनताका अधिकार सुनिश्चित गर्न सम्पूर्ण नेपालीलाई नागरिक दवाव अभियानमा गोलबन्द हुन आब्हान गरे।

नागरिक अगुवा एवम पत्रकार कनकमणी दिक्षितले बाबुराम भट्राई नेतृत्वको सरकारबाट निर्वाचन हुन नसक्ने दावी गर्दै सहमतिको सरकार निर्माण गरेर तत्काल निर्वाचन गर्नु पर्ने धारणा राखे। उनले विपक्षी दलहरु नेपाली काग्रेस र नेकपा एमालेले प्रभावशाली भूमिका निर्वाह गर्न नसकेकोले आफूहरु आन्दोलनमा जान बाध्य भएको भन्दै आन्दोलनबाट संविधान, शान्ति र निर्वाचनलाई सुनिश्चित गराई छाड्ने दृढता ब्यक्त गरे।

नागरिक अगुवा एवम नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष केदार नरसिह केसीले राष्ट्रियता, लोकतन्त्र र समाजवाद खतरामा परेको अवस्थामा तानाशाहले टाउको उठाउन खोजेकोले नागरिकहरु सडकमा आउन बाध्य भएको भएको भन्दै खोई लोकतन्त्र, खोई संविधान, खोई जनताको सर्वोच्चता स्थापित गर्ने निर्वाचन, खोई सुशासन, सुरक्षा भनेर सरकारसँग प्रश्न गरे।

विश्लेषक मुमाराम खनालले संविधानसभाको अप्राकृतिक अवसान गराएर मुलुकलाई खतरनाक धु्रविकरण तर्फ धकेल्ने षडयन्त्र भईरहेको अवस्थामा जनताको अधिकार, लोकतन्त्रको रक्षाकोलागी आफूहरु सडकमा आउन बाध्य भएको भन्दै दवाव सभामा उपस्थित भएर अभियानलाई अघि बढाउन आब्हान गरे।

राजनीति शास्त्री लालबाबु यादवले नागरिकले धेरै पहिला देखि नै शान्ति, संविधान र निर्वाचनकोलागी दवाव दिनु पर्नेमा ढिलै भए पनि राम्रो प्रयासको थालनी भएको भन्दै शान्ति संविधान, लोकतन्त्र, संघीयता, शुसासन, केही पनि अहिलेको सरकारले दिन नसकेकोले आफूहरु सडकमा उत्रन बाध्य भएको बताए। उनले भने–शान्ति, संविधान, संघीयता र जनताको सर्वोच्चता केही दिन नसक्ने सरकारको अब काम छैन।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by