एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ मंसिर । प्रमुख दलका शीर्ष नेताहरुलाई मंसिर ७ गतेसम्म सहमति नगरे आफूले सरकार गठनमा पहल गर्ने भनि दिएको अल्टिमेटम ढिलै भए पनि सही कदम भएको विपक्षी दलका प्रभावशाली नेताहरुले विष्लेशण गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा काग्रेस, एमाले र फोरम नेपालका प्रभावशाली नेताहरुले मुलुक संकटमा परेको बेला राष्ट्रपतिले टेलिभिजन र पत्रिका हेरेर मात्र बस्न नहुने तर्क गरे।
साक्षात्कारमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रपति मार्फत वा आन्दोलनबाट घोक्रेठ्याक लगाएर निकाल्नुको विकल्प नभएको भन्दै मुलुक संकटमा परेको बेला राष्ट्रपति टुलुटुलु टेलिभिजन र पत्रिका हेरेर बस्न नहुने बताए।
उनले भने–राष्ट्रपति टुलुटुलु हेरेर बस्ने होईन। मुलुकलाई निकास दिनु पर्छ। राष्ट्रपतिले सहमतिको सरकार आब्हान गरेर दलिय सहमतिमा सहमतिको सरकार निर्माण गर्न भूमिका निर्वाह गर्नु पर्छ। अबैधानिक भईसकेको सरकारले बजेट ल्याउनै नसक्ने ठोकुवा गर्दै यादवले सरकारले जवरजस्ती बजेट ल्याए राष्ट्रपतिले स्विकार्नु पर्छ भन्ने कुनै बाध्यता नरहेको दावी गरे।
आन्दोलनबाटै बाबुराम भट्टराई नेतृत्वको सरकारलाई घोक्र्याएर निकाल्नु पर्ने धारणा राख्दै उनले सरकार केन्द्रीत भएर विपक्षी काग्रेस र एमाले गठबन्धनले आन्दोलनको घोषणा गरेकोले आन्दोलन सफल हुनेमा आशंका ब्यक्त गरे।
उनले भने–प्रधानमन्त्री फेर्दैमा समस्याको समाधान हुँदैन। प्रधानमन्त्री केन्द्रीत आन्दोलनमा जनताको समर्थन हुँदैन । त्यसैले काग्रेस र एमालेले केको लागी आन्दोलन भन्ने कुरा स्पष्ट ऐजेण्डा सहित ल्याए नेपाली जनताले आन्दोलनलाई साथ दिने विश्वास ब्यक्त गरे। संघीयता, समावेशिता र प्रादेशिक स्वायत्ताको कारण संविधानसभालाई तुहाएको दावी गर्दै अब त्यसकोलागी सुनिश्चितताको लागि पनि नयाँ आन्दोलनको आवश्यकतामा समेत जोड दिए।
साक्षात्कारमा नेकपा एमालेका सचिव शंकर पोख्रेलले जेठ १४ पछि नै चाल्नु पर्ने कदम राष्ट्रपतिले अहिले चाल्न लागेको भन्दै ढिलै भए पनि राष्ट्रपतिको कदम सहित भएको दावी गरे।
उनले राष्ट्रपतिले अब सहमतिको सरकारकोलागी आब्हान गर्नु पर्नेमा जोड दिदै सहमति हुन नसके संविधानसभामा प्रतिनिधित्व गर्ने बहुमत दलको सहमतिमा नयाँ सरकार गठन गर्नु पर्ने धारणा राखे। अहिलेको सरकारले बजेट ल्याउने हैसियत नराख्ने स्पष्ट पार्दै प्रधानमन्त्री डा बाबुराम भट्टराई पदबाट नहटेसम्म कुनै पनि विषयमा सहमति हुनै नसक्ने ठोकुवा गरे।
नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मुलुक अराजकता र संकटमा परेको बेला राष्ट्रपति मुकदर्शक बनेर बस्न नहुने भन्दै राष्ट्रपतिलाई निकासकोलागी ईमरजेन्सी लाईटको भूमिका निर्वाह गर्न आब्हान गरे। भारतमा राष्ट्रपतिलाई ईमरजेन्सी लाईटको रुपमा ब्याख्या गरेको नजिर रहेको भन्दै राष्ट्रपतिले संविधानको संरक्षकको नाताले संविधानको मर्यादा भित्र रहेर कदम चाल्नु पर्ने बताए।
उनले जारी संकटबाट मुलुकलाई निकास दिन निर्वाचनको सुनिश्चितता, नैतिक र बैद्यानिक हैसियत नभएको सरकारको बहिर्गमन र सहमतिको सरकार गठन गर्नु पर्ने धारणा राखे।
नेता केसीले काग्रेस निश्पक्ष निर्वाचनको पक्षमा रहेको भन्दै त्यसको सुनिश्चिता भए काग्रेस सरकारको नेतृत्वको विषयमा समेत खुल्ला छलफल गर्न तयार रहेको बताए। उनले भने–आन्दोलन, संविधान र निर्वाचनको सफल नेतृत्व गरेकोले नेतृत्वमा काग्रेसको दावी रहन्छ। तर हाम्रो चासो निष्पक्ष निर्वाचन भएकोले विकल्पमा छलफल गर्न काग्रेस तयार छ।
काग्रेस अझै पनि आन्दोलन भन्दा सहमतिबाटै निकास निकाल्नु पर्ने पक्षमा रहेको स्पष्ट पार्दै अझै पनि प्रधानमन्त्री पदमा टासिएर बसिरहने हो भने दलहरुवीच सहमति हुनै नसक्ने र आन्दोलनको विकल्प नहुने ठोकुवा गरे।
काग्रेसले एकल जातीय र जातजातीवीच द्धन्द्ध ल्याउने संघीयता कुनै पनि हालतमा नस्विकार्ने स्पष्ट पार्दै अब हुने संविधानसभाको निर्वाचन सँगै एकल जातीय वा साझा पहिचान सहितको संघीयताको विषयमा पनि मतदान गराउनु पर्ने बताए।
एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचनले राष्ट्रपतिले सरकार हटाउने र नयाँ गठनको लागि आब्हान गर्ने संबैधानिक हैसियत नराख्ने दावी गर्दै त्यसको गरे मुलुक झनै संकटमा फस्ने चेतावनी दिए।
उनले भने–राष्ट्रपति कसैको उक्साहटमा लाग्नु हुन्छ। लागे मुलुक झनै अस्थिरता तर्फ धकेलिन्छ। राष्ट्रपतिले सहजकर्ताको भूमिका निर्वाह गर्नुृ पर्छ। सरकार निर्माण जनप्रतिनिधिले मात्र गर्न सक्छ। राष्ट्रपतिले सक्दैनन्।
सरकार विरोधी आन्दोलनबाट निकास ननिस्कने भन्दै आन्दोलन गरिरहे प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारको आयू झनै बढ्ने ठोकुवा गरे। उनले भने–सहमति बाहेक राष्ट्रपति सक्रिय नभई यो सरकार हट्दैन। राष्ट्रपति सक्रिय भए झनै अनिष्ट निम्तिन्छ।
उनले निकासको उपाय १५ दिनको लागि संविधानसभा पुनःस्थापना गरी सहमति भएका विषय समेटेर संविधान जारी गरेर निर्वाचनमा जानु भएको भन्दै दलहरुले सबै विषयमा प्याकेजमै सहमति गरेर प्रधानमन्त्रीले राजिनामा दिए पछि मुलुकले निकास पाउने विश्वास ब्यक्त गरे। उनले सहमति गर्न नसके र राष्ट्रपतिले कदम चाले त्यसको फाईदा प्रतिगामिले लिने तर्फ सचेत समेत गराए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b