Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाली भाषासाहित्यका प्रखर व्यक्तित्व जगन्नाथ त्रिपाठी

नरेन्द्रराज प्रसाई-
जगन्नाथ शर्मा त्रिपाठी नेपाली भाषासाहित्यका प्रखर व्यक्तित्व थिए। उनी संस्कृत वाड्मयका पनि प्रकाण्ड विद्वान् थिए । साथै उनी व्याकरणविद्, समालोचक र निबन्धकार थिए। उनी पूर्वीय साहित्यका एउटा गहिरो चिन्तक, अन्वेषक र अध्येता मानिन्थे।

त्रिपाठीको वाल्यकाल पूर्वी पहाडको आफ्नै गाउँमा बित्यो। गाईवस्तु हेर्नु, घरहरुमा गई यजमानी गर्नु र संस्कृतका श्लोक कण्ठ गर्नु त्यसबेलाको उनको दिनचर्या थियो। बाल्यकालमै उनी पंखफुका जस्तै थिए र रनबन चहारेर रमाइलो गर्थे। त्यतिबेला उनका लागि विश्वको सर्वप्रिय ठाउँ दोलखाको सुनखानी थियो भने सबैभन्दा राम्रो काम गाईबस्तु चराउने थियो। साथै बाल्यकालमा उनी कुस्ती पनि खेल्थे र मै हुँ भन्ने बहादुरलाई पनि पछार्थे।

त्रिपाठी १९८७ साल बैशाख ८ गते दोलखामा जन्मे। उनका बुवा प्रभाकर शर्मा त्रिपाठी त्यस भेकमा भागवत वाचनका प्रख्यात पण्डित थिए भने उनकी आमा पद्मकुमारी त्रिपाठी गृहणी थिइन्।

त्रिपाठीले आफ्नै बुवासँग कखरा पढे। त्यतिबेला उनका बुबाले पढाएको कुरा उनले कण्ठै पार्नु पथ्र्यो। त्यसबेलाको रितिथिति अनुसार गुरुले पढाएको कुरा लेखेर बुभ्mन पाइँदैनथ्यो र कण्ठाग्रै गरेन भने बेस्सरी कुट्ने चलन थियो। यिनको पढाइ पनि गुरुकुल परम्पराको यही शिक्षण पद्धतिमा आधारित थियो। त्यसबेला आफ्ना बुवाको प्रशिक्षणमा यिनले संस्कृतका धेरै श्लोक कण्ठ गरेका थिए र कर्मकाण्डका केही विधिहरु पनि रटेका थिए। तर त्यसबेलासम्म यिनले अक्षर चाहिं चिनेका थिएनन्।

त्रिपाठी बाल्यकालमा नै कर्मकाण्डी बाहुन भएर नै गाँउमा हिंडन् थाले। बाल्यकालमा नै एकैदिनमा चार ठाँउमा पुगेर पनि उनले श्राद्ध गराएका थिए। उनले आठ वर्षदेखि २० वर्षको उमेरसम्म कर्मकाण्डी भएर गाँउमा नै आफ्नो जीवन विताएका थिए।

त्रिपाठीको किशोरावस्थामा नै रामेछापकी कुमारी कँडेलसँग बिहे भएको थियो। विहे भएको केही समयमा उनकी पत्नी दिवङ्गत भइन् । त्यसताका यीचाहिं गाउँमै जजमानी गर्थे । त्यतिबेला उनीमा एकातिर पत्नी वियोगले छोपेको थियो भने अर्कातिर त्यस प्रकारको जजमानीले उनलाई आत्मसन्तुष्टि भएको थिएन। त्यसैले उनले वैकल्पिक सोच राखे। अनि उनी मध्यरातमा आफ्ना बुबाआमालाई थाहै नदिई आफ्नो जन्मदिनको साइतमा आफ्ना गाउँका साथीसँगै घरबाट भागेर भारतको दार्जिलिग पुगे। त्यतिबेला उनी २१ वर्षमा प्रवेश गरेका थिए । एउटा राडी, एउटा गिलास, अलिकति चामल, सातु, चिउरा, गुन्दु्रक, नुनको पोको डँडेल्नोमा बोकेर उनी लुईंलुईं हिंडेका थिए । उनीसँगै त्यतिखेर १६ जनाको एउटा टोली भागेर भारत पुगेको थियो। उनीहरू दोलखाबाट सातदिनमा सिलिगुडी पुगेका थिए।

सिलिगुडीमा काम नपाएपछि त्रिपाठीचाहिं दार्जीलिड शहर छिरे। त्यहाँ उनी त्रिरत्न अर्थात् सूधपाका छेउ पुगे। अनि धरणीधर शर्माले होनहार देखेर उनलाई काखी चेपे। त्यसैबेला शर्माले उनलाई पढ्नुपर्छ भनेर डो¥याउन पनि थाले । परिणामस्वरुप उनी बिहान बेलुका जजमानी गर्दै त्यहीं पढ्न थाले । त्यतिबेलै यिनले सूधपाको नेपाली साहित्यप्रतिको जागरण प्रत्यक्ष देखे। त्यसैले यिनले त्यसै घडीदेखि लेख्ने पनि चेष्टा गरे।
त्रिपाठीले दार्जीलिडको संस्कृतटोल स्कुलमा पढे । त्यहाँ उनको इन्द्रबहादुर राईसँग पनि सम्पर्क भयो । अनि राई लगागतका विद्वान्बाट उनले अड्ग्रेजी सिकेका थिए।

त्रिपाठीले कोलकाताबाट संस्कृतमा स्नातक गरे। अनि बनारसबाट उनले संस्कृतमा आचार्य र अलाहावादबाट हिन्दी साहित्यमा विशारद गरेका थिए। उनी ज्योतिषशास्त्रका पनि ज्ञाता थिए।

२४ वर्षको उमेर त्रिपाठी फेरि नेपाल आए । त्यतिबेला उनका बुबाआमाले उनलाई च्याप्पै समाएर उनको जोडी बाँधिदिए। काभ्रेका नागेश्वर पन्त र जसोदा पन्तकी छोरी भवानीसँग उनको लगनगाँठो बाँधिएको थियो। अनि बिहेपछि उनले आफ्नी पत्नीलाई पनि दार्जीलिड नै पु¥याए। त्यहीं उनकी जेठी पुत्री सुधाको जन्म भयो। उनीचाहिं नेपाली भाषासाहित्यकी नारीचुली डा.सुधा त्रिपाठी भइन्।

त्रिपाठीले दार्जीलिडको टर्नबुल हाईस्कूलमा पढाएका थिए। संस्कृतका सिपालु भएकाले उनले त्यहाँ सजिलै जागीर पाएका थिए। उनले मिरिक स्कूलमा पनि पढाए। भारत बसिन्जेल उनले जजमानी काम पनि गरिरहे।

त्रिपाठीले त्रिभुवन विश्वविद्यालयबाट ३५ वर्षको उमेरमा नेपालीमा एम्म्ए पनि पास गरे। एम्ए पास गरेपछि उनी आफ्नैै गाउँ गए। दोलखामा उनी कहिले प्रधानपञ्च र कहिले प्रधानाध्यापक भएर बसे । पछि उनी काठमाडौं आए र २०२९ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र कलेजमा नेपाली पढाउने प्राध्यापकमा भर्ना भए। दार्जीलिडदेखि कै हिसाब गर्ने हो भने उनले ५८ वर्ष शिक्षणसेवा गरे।

नेपाली भाषासाहित्यका क्षेत्रमा त्रिपाठीको विशिष्ट योगदान रह्यो। नेपाली समालोचना, व्याकरण, अनुवाद र सृजना गरेर उनका आधा दर्जन कृति प्रकाशित भए। यसबाहेक उनले कविता, कथा, नाटक, निबन्ध र प्रबन्धका थुप्रै फुटकर लेखरचनाको आविष्कार गरे। उनी लेखनभन्दा वाचनमा झनै प्रखर थिए । नेपाली परिवेशमा यी एउटा दार्शनिक व्यक्तित्व थिए।

त्रिपाठी हँसिला, फस्र्याइला, रसिला र सहयोगी थिए । कसैले केही सोध्यो भने उनी कुनै मान, सम्मान र मर्यादा नखोजी जानेको जवाफ दिन्थे । ठूलो र अग्लो जीउडाल झैं उनको विचार र मान्छेसँगको शिष्टाचार राख्ने क्षमता पनि त्यस्तै उचाइको थियो । उनको पठन कौशल पनि त्यत्तिकै सशक्त थियो । यी सबै कारणले उनी धेरैका प्रिय गुरू भएरै बाँचेका थिए।

त्रिपाठी स्वाभिमानका प्रतीक पनि थिए। उनले पैतृक सम्पत्ति पनि लिएनन् र कसैको लोभमा पनि परेनन् । आर्थिक रुपमा पनि उनी आफैले जे जति कमाउँथे त्यसैमा सन्तोक मान्थे । उनी बरु भोकै सुत्थे तर हात पसारेर खाँदैन थिए । उनको सबैभन्दा ठुलो विशेषता उनी नरमका एउटा सग्लो नमुना थिए । साथै उनी सादा जीवन र उच्च विचारका हिमायती थिए । उनले दुई छोरी र पाँच छोरा जन्माए र सबैलाई स्वाभिमान र स्वाबलम्बनको यस्तै पाठ पढाएका थिए।

त्रिपाठी शिक्षा, साहित्य र समाजसेवाका प्रेरक, उदाहरणीय र सरल व्यक्तित्व थिए। अनि उनको डेरा पनि त्यस्तै सामान्य थियो। उनी लालाबालासहित ज्ञानेश्वरको एउटा घरमा निरन्तर ३५ वर्ष डेरा जमाएर बसे । काठमाडौंमा बसे तापनि उनको रहनसहन पुरै पहाडे शैलीको थियो । उनको जीवनको उत्तरार्धमा उनले सिनामड्गलमा घर बनाए। तर त्यस घरमा उनले दस वर्ष मात्र भोग गरे।

मधुमेह र उच्च रक्तचापद्वारा एउटा पौरखी पुरूष अथवा भनौं त्रिपाठी लामो समयसम्म पिडीत भैरहे। सोही कारणसमेत जोडिनाले उनलाई मृगौलासम्बन्धी रोगले दुक्ख दियो। अन्ततः यसै रोगका कारण २०६७ साल चैत ११ गते असी वर्षको उमेरमा आफ्नै घरमा उनको निधन भयो।
nai.com.np@gmail.com

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by