सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
धरान, २६ कार्तिक। एक समय धरानका साँगीतिक समूहहरुको निकै चर्चा हुन्थ्यो। दशक अघिसम्म धरानको जेलर्स, मिक्स मेलोडी, दोभान, अदृश्य, रुद्राक्ष लगायतका थुप्रै साँगीतिक समूहले देशव्यापी चर्चा कमाएका थिए। तर त्यो चर्चालाई व्यावसायिक रुप दिन नसकेर होला, समूहका सदस्यहरु कोही विदेशिए कोही आफ्नो व्यवसाय या पढाइतिर लागे।
त्यसपछिका दिनमा पनि धरानमा साँगीतिक समूहहरु सक्रिय नभएका होइनन् तर पहिलेजस्तो राष्ट्रव्यापी चर्चामा आउने गरी कोही आएका छैनन्। अहिले पनि धरानमा धेरै राम्रा साँगीतिक समूह छन् तर धेरैजसो गुपचुप रुपमै आफ्नो साँगीतिक गतिविधिमा संलग्न छन्।
अगाडि आउने भन्दा पनि भित्र–भित्रै सक्रिय राम्रा समूहहरु धेरै छन्। यस्तै समूहभित्रको द आउट साइडर्स नामक साँगीतिक समूह गठन भएको ६ वर्षपछि खुल्लारुपमा अगाडि आएर काम गर्न थालेको छ।
डेढ दशक अघिदेखि गायनमा सक्रिय रहेर राम्रै छाप छाड्न सफल धराने गायक डिल्ली फोम्बो समूहमा प्रवेश गरेपछि द आउटसाइडर्सले सार्वजनिकरुपमा अघि बढेर आफ्नो साँगीतिक गतिविधिलाई तीब्र पारेको छ।
गत महिना धरानमा सम्पन्न एनसेल रक्स नामक कन्सर्टमा डिल्लीसहितको द आउटसाइडर्सको प्रस्तुतीलाई धराने श्रोता मात्र काठमाडौंबाट आएका चर्चित गायकहरु एड्रिन प्रधान, निमा रुम्बाले पनि खुलेर प्रशंसा गरेका थिए। समूह गठन भएयता स–साना २ सयभन्दा बढी साँगीतिक कार्यक्रममा प्रस्तुती दिइसकेको द आउटसाइडर्स अब भने राष्ट्रव्यापी सफलता पाउन कम्मर कसेर लागेको छ। समूहमा अहिले मनु राई (बेस गिटार/भोकल) सुमन प्रधान (लिड गिटार/भोकल) प्रशान्त शर्मा (रिदम/भोकल) डिल्ली फोम्बो (बाँसुरी/भोकल र सञ्जय प्रधान (ड्रम) लगायतका ५ जना सदस्य छन्।
आधुनिक, लोक, पप, रक, सबैखाले गीत/संगीतलाई समेट्ने द आउटसाइडर्सले लागूऔषध तथा मद्यपानबाट टाढा रहेका समूहका सबै सदस्य भविष्यमा विभिन्न जनचतेनामूलक कार्यक्रमहरुमा सहभागी हुने तथा आयोजना गर्ने तयारीमा छन्। साथै चाँडै समूहले पहिलो एल्बमसमेत निकाल्ने योजना बनाएको छ। एक समय धरानमा साँगीतिक समूहहरुको निकै चर्चा हुन्थ्यो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b