एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २० कार्तिक। नेपाली काग्रेसका नेता एवम पूर्व अर्थमन्त्री डा रामशरण महतले राष्ट्रपतिले ढिला नगरी अब दलहरुलाई एक साताको समय दिएर गतिरोध अन्त्यको लागि अघि आफै अग्रसर हुनु पर्ने आवश्यकता औल्याएका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले माओवादीले त्यसै कुनै पनि हालतमा सत्ता नछाड्ने ठोकुवा गर्दै सहमतिको सरकार गठन गर्न सात दिनको समय दिने र सो अवधिमा पनि गर्न नसके आफै संविधानको धारा ३८ को १ बमोजिम सहमतिको सरकार गठन गर्न अघि बढ्नु पर्ने बताए।
उनले भने–सहमति नभए राष्ट्रपतिले गतिरोध फुकाउन आफै ईनिशिएसन लिएर निर्वाचन र सहमतिको सरकार घोषणा गर्नु पर्छ। अब राष्ट्रपतिको भूमिका मुलुकका लागि अति आवश्यक भईसकेको छ। मैले बुझ्न सकिरहेको छैन राष्ट्रपतिले किन ढिलाई गर्नु भएको?
साक्षात्कारमा डा महतले अब राष्ट्रपतिले दलका शीर्ष नेताहरुलाई बोलाएर सहमति गर्नुस् भनेर मात्रै नहुने भन्दै निश्चित समयभित्र नगरे म आफै सक्रिय भएर निकास दिन्छु भनेर स्पष्ट भन्नु पर्ने बताए। यद्यपि उनले राष्ट्रपतिले कदम चाल्नु अघि म सत्ता लिन्न भन्ने प्रतिबद्धता ब्यक्त गर्नु पर्ने धारणा राखे।
उनले निर्वाचनको मिति घोषणा, निर्वाचित हुनेको संख्या, निर्वाचनको विधी र राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा राष्ट्रपतिले दलहरुलाई समयसीमा तोक्नु पर्ने बताए।
संसद नभएको अवस्थामा अनियन्त्रित भएको सरकारलाई अंकुश लगाउने एक मात्र निकाय राष्ट्रपति भएको भन्दै माओवादीले अहिले राष्ट्रपतिलाई विवादमा ल्याएर आफ्नो सत्ता कब्जाको अभिष्ट पुरा गर्ने रणनीति बनाएको आरोप लगाए।
राष्ट्रपतिले सेना प्रकरण र अध्यादेशबाट शासन गर्ने माओवादीको अभिष्ट पुरा हुन नदिएकोले पनि अहिले राष्ट्रपतिलाई विवादमा अल्मल्याएर आफ्नो अभिष्ट पुरा गर्न खोजेको उनको तर्क थियो। बजेटको कुरा अघि सारेर माओवादीले ब्ल्याकमेलिङ गर्न खोजेको दावी गर्दै डा महतले बजेट नआउँदैमा मुलुक आर्थिक संकट फस्ने अवस्था नभएको ठोकुवा गरे।
उनले भने–खर्च चलाउने धेरै विधीहरु छन्। बजेट नआउँदैमा संकट आउने कुरा हल्ला मात्रै हो। विनियोजन विद्येयक ल्याएर पनि खर्च चलाउन सकिन्छ। उनले बजेटले आसन्न निर्वाचनलाई प्रभाव पार्न नहुने भएकोले सहमति आवश्यक रहेको भन्दै चालु विकासका खर्च, निर्वाचन र चालु खर्च सन्चालन गर्ने गरी मात्रै बजेट ल्याउनु पर्ने नयाँ कुनै पनि कार्यक्रम राख्न नहुने स्पष्ट पारे।
महत्वपूर्ण आयोजनाको लागि तीन वर्षको अनुमान पहिलाको बजेटले नै गरिसकेको हुनाले कुनै प्रभाव नपर्ने भन्दै त्यसलाई पेश्की खर्चको माध्यमबाट पनि सञ्चालन गर्ने सक्ने बताए। उनले भने–सहमति विना बजेट कुनै पनि हालतमा आउन सक्दैन।
नीजि क्षेत्रले पूर्ण बजेटको लागि दवाव दिईरहेको विषयमा असन्तुष्टि प्रकट गर्दै डा महतले बजेट नीजि क्षेत्रलाई मात्रै नभई पुरै मुलुकलाई चाहिएकोले राजनीतिक मुद्दा समाधान नभई बजेट आउनै नसक्ने बताए।
माओवादीले काग्रेससँग उम्मेदवार नमागी काग्रेस, एमाले र मधेसवादी दलका उम्मेदवार को को छन् भन्नुस भनेर राजाले दरखास्त मागे जस्तो गरेर मागेको स्पष्ट पार्दै काग्रेसको नेतृत्व नस्विकारेसम्म काग्रेसले नेतृत्व घोषणा नगर्ने बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b