Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

फोरम गणतान्त्रिकमा विवाद

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २० कार्तिक । मधेसी जनअधिकार फोरम गणतान्त्रिकको संस्थापन पक्षले पार्टीबाट निस्कासित सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव सत्ताको दुरुपयोग गरी पैसा र पदको बलमा केन्द्रीय सदस्य खरिद गर्ने षडयन्त्रमा लागेको दावी गरेको छ।
संस्थापन पक्षले रिपोर्टर्स क्लव नेपालमा सोमबार पत्रकार सम्मेलन आयोजना गरेर यादव समूहलाई भोलीबाट विरगंजमा गर्न लागेको महाधिवेशनमा बहुमत केन्द्रीय सदस्य उपस्थित गरेर देखाउन समेत चुनौति दिए।

पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका कार्यवाहक अध्यक्ष नन्दन कुमार दत्तले पार्टीको २२ सदस्य केन्द्रीय सदस्य मध्ये १२ जना एकै ठाँउमा रहेको दावी गर्दै सञ्चारमन्त्री यादवले केन्द्रीय कामिटीमा निर्णय समेत नगराई महाविधेशनको नाटक गरेकोले त्यसलाई बहिष्कार गर्न आग्रह गरे।

उनले गाँउ, क्षेत्र र जिल्लाको अधिवेशन समेत नभएको अवस्था कुन किसिमको महाधिवेशन गर्न लागेको भनेर आश्चर्य समेत प्रकट गरे।

आफूहरुले दुई महिना अघिनै निर्वाचन आयोगमा बहुमत सदस्य सशरिर उपस्थित भएर आधिकारिकताको लागि आवेदन दिएको भए पनि आयोगको लापरवाही कारण सञ्चारमन्त्री यादवले पार्टीको नामको दुरुपयोग गर्ने अवसर पाएको दावी गर्दै निर्वाचन आयोगको कमजोर र सत्तामुखी ब्यवहारको आलोचना गरे।

उनले मधेसी मोर्चाका केही नेताको स्वार्थको कारण यादवले आफ्नो गतिविधी गर्न छुट पाएको दावी गर्दै निर्वाचन आयोगको ब्यवहार र मोर्चाका नेताहरुको स्वार्थ विरुद्ध कार्तिक ३० गतेपछि भण्डाफोर अभियानसहित जनतामा जाने चेतावनी दिए।

महासचिव आत्मरामप्रसाद साहले निर्वाचन आयोगको आधिकारिकता विना महाधिवेशन गर्नु नै गैरकानूनी भएको भन्दै त्यस्तो महाविधेशनको भ्रममा नपर्न आब्हान गरे।

उनले जेठ १४ गते पछि चार बुँदे सम्झौताको औचित्य सकिएको र आफ्नो पार्टी सरकारमा सहभागी नभएको भन्दै यादवले पार्टी माओवादीलाई बेचेर मधेसको मुद्दाको तिलाञ्जली दिएको आरोप लगाए।
उनले अहिले सञ्चारमन्त्री यादवले आफ्नो पक्षमा बहुमत पुर्याउने केन्द्रीय सदस्यहरुलाई पद र पैसाको लालच दिईरहेको दावी गर्दै उनको योजना असफल पारेरै छाड्ने स्पष्ट पारे।

दत्त समूहले यसअघि पटक पटक पत्रकार सम्मेलमा बहुमत केन्द्रीय सदस्यलाई सशरिर उपस्थित गराउँदै आफ्नो आधिकारिकताको पुष्टि गराउँदै आएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by