Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पाँच करोड रुपैया ठगी गरी सञ्चालकहरु फरार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १९ कार्तिक । कालिमाटी १३ मा रहेको परिदृश्य बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताहरुको पाँच करोड रुपैया ठगी गरी फरार भएका सञ्चालकहरुलाई तत्काल पक्राउ गरी आफूहरुको बचत रकम फिर्ता र दोषिलाई कारवाही गर्न पीडितले माग गरेका छन्।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले ठगी गर्ने, जमानी बस्ने र सञ्चालक समितिका पदाधिकारीहरुलाई तत्काल पक्राउ गरी बचतकर्ताहरुको डुबेको रकम दिलाई दिन माग गरेका हुन्।

करिब १ हजार बचतकर्ताहरुले संस्थामा जम्मा गरेको पाँच करोड रुपैयाँ ठगी गरी फरार रहेका संस्थाका अध्यक्ष रामबहादुर बस्नेत, उपाध्यक्ष बासुराज दाहाल, सचिव सुरेन्द्रमान प्रधान, कोषाध्यक्ष मनोहर बस्नेत, सदस्य प्रेमराज केसीलगायत सञ्चालकहरुलाई तत्काल पक्राउ गरी रकम दिलाई दोषीलाई गर्न पत्रकार सम्मेलनमा पीडित बचतकर्ताहरुले प्रशासन र सम्बन्धित निकायसँग माग गरे।
पीडित पशुपति श्रेष्ठले पक्राउ परेका अभियुक्तहरु कालिमाटी चौकीमा राखेर अनुसन्धान भैरहेको बेला चौकीमा कार्यरत तत्कालीन डिएसपी टेकबहादुर तामाङले घुस खाएर विना कारवाही उनीहरुलाई भगाएको आरोप लगाए।

अर्का पीडित रामसुन्दर घिमिरेले गत बैशाख २७ गते कालिमाटी चौकीमा डिएसपी तामाङकै रोहवरमा १ लाख भन्दा तल बचत गर्नेको ३५ दिन भित्र र १ लाखभन्दामाथि बचत गर्ने बचतकर्ताहरुको रकम ४५ दिनभित्र दिने सहमतिमा संस्थाका अध्यक्ष रामबहादुर बस्नेतका छोरी ज्वाईँ खेमराज न्यौपाने, भाई मिनबहादुर बस्नेत र बहिनी तुलसा बस्नेत कागज गरी छोडेदेखि साक्षी बस्ने सबै फरार रहेको बताए।

संस्थाकी बजार प्रतिनिधि अञ्जु महर्जनले राजधानी एफएमकी व्यवस्थापकसमेत रहेकी संस्थाका अध्यक्ष रामबहादुरकी बहिनी तुलसा बस्नेतले म पत्रकार हुँ यो विषयमा तैले बोले ज्यानसमेत लिने धम्की दिने गरेको भन्दै जिउ धनको सुरक्षासमेत माग गरिन्।

पीडित शान्ति राईले आफूहरुले दुःख गरी जम्मा गरेको पैसाले अध्यक्षको भाई मीनबहादुर बस्नेत, बहिनी तुलसा बस्नेतले महादेवस्थान गाविस ७ र ३ थानकोटमा घर किनेको दावी गरिन्।

फरार अध्यक्ष रामबहादुर बस्नेतकी आमा लिला बस्नेतले छोरा छोरीले कहाँ के गर्छन् आफूलाई केही थाहा भएको भन्दै आफू बुढीलाई यसै कारण रात दिन सुत्न बस्न नपाएको गुनासो गरिन्। पीडित पक्षले छोरो अध्यक्ष र छोरी तुलसा बस्नेतसँग सम्पर्क हुने गरेको आशंकामा प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेका छन्। पत्रकार सम्मेलनमा पीडितहरुले बुढी आमा मार्फत छोरा छोरी फेला पर्ने अनुमानमा पक्राउ गरेको समेत स्पष्ट पारे।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by