Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

रंगेहात पक्राउ परेका राज्यमन्त्रीका सचिव थुनामा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १८ फागुन । विशेष अदालतले घुस लिएको आरोप लागेका वन राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव नागेन्द्र यादवलाई अनुसन्धानका लागि १५ दिन हिरासतमा राख्न आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वकीय सचिव यादवलाई अनुसन्धानका लागि ३० दिन हिरासतमा राख्न माग गरे पनि उक्त अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १५ दिन मात्र हिरासतमा राख्न आदेश दिएको हो।

आयोगमा कार्यरत प्रहरी नायब उपरीक्षक लालमणि आचार्यको टोलीले हिजो दिउँसो अनामनगरस्थित एक रेष्टुरेन्टबाट घुस लिँदै गर्दा स्वकीय सचिव यादवलाई रङ्गेहात पक्राउ गरेको थियो।

छत्तीस वर्षअघि मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुन्ज घोषणा हुँदा स्थानीय सर्दी गाविस वडा नं. १ र २ का ७७ जना बासिन्दाकोे जमिन अधिग्रहणमा परेपछि उनीहरूलाई त्यस बखत दिनुपर्ने जम्मा रू ३२ लाख ४९ हजार मुआब्जा अहिलेसम्म अडकेर बसेको थियो।

वनराज्यन्त्रीकहाँ पुगेको सो मुआब्जाको फाइल स्वीकृति गराउन केही रकमको आवश्यकता पर्ने भन्दै स्वकीय सचिव यादवले करिब तीन लाख कमिसन मागेको र कमिसन बिना काम अघि नबढ्ने भएपछि पीडित बासिन्दाले अख्तियारमा उजुरी गरेका थिए। (रासस)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by